७ वैशाख २०८१ शुक्रबार
समाज

लम्बियो उपत्यकाको निषेधाज्ञा, घरबाहिर निस्कन कडाइ

काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्बिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यसअघि एक साताका लागि गरिएको निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।उनले थपिएको निषेधाज्ञा अझ कडा हुने बताए।

अधिकारीहरुको बैठकले पसल खोल्ने समय पनि घटाएको छ। 'यसअघि बिहान ६ बजेदेखि १० बजेसम्म पसल खोल्न पाइनेमा अब थपिएको निषेधाज्ञामा बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ,' प्रजिअ भट्टराईले भने।

उनले अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णयलाई यथावत कायम राखी यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय गरिएको अनावश्यक रुपमा हिँड्न समेत नपाइने बताए।

‘यो अघिको निषेधाज्ञामा अनावश्यक रुपमा हिँड्नेहरु पनि देखिए, त्यसले गर्दा पनि निषेधाज्ञा, निषेधाज्ञा जस्तो भएन, यो पटक भने कडा हुन्छ, हामीले प्रहरी प्रशासनलाई त्यही अनुसार गर्नका लागि निर्देशन दिन्छौं,' प्रजिअ भट्टराईले भने।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने, सरकारी कार्यालयहरुमा एक चौथाइ कर्मचारीलाई हाजिरी गराई सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०७८ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App