coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हिमालआरोही पूर्णिमालाई सम्मान

दुई वर्षको तयारी र मेहनतपछि पत्रकार पूर्णिमा श्रेष्ठले उत्तरी म्याग्दीमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेकी छन्। अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला पारेर कीर्तिमान बनाएकी श्रेष्ठलाई सोमबार म्याग्दीमा सम्मान गरिएको छ।  

उनलाई अन्नपूर्ण हिमाल अवस्थित नारच्याङ गाउँपालिका, वडा कार्यालय, अन्नपूर्ण युवा क्लब, आमा समूह तथा बेनीमा नेपाल पत्रकार महासंघले सम्मान गरेका हुन्। काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीमार्फत २०७७ चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर गएका पूर्णिमा लगायत ६ जना नेपाली महिलाको टोलीले २०७८ वैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेको थियो। जोखिमयुक्त र कठिन मानिने अन्नपूर्णमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड थिएन।

काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीमार्फत २०७७ चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर गएका पूर्णिमा लगायत ६ जना नेपाली महिलाको टोलीले २०७८ वैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेको थियो।

 टोलीमा पूर्णिमासहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ छन्। शेर्पा (पथप्रदर्शक) पेम्बा शेर्पाको सहयोगमा उनीहरूले अन्नपूर्ण आरोहण गरेका हुन्। श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गरेकी थिइन्। ‘मैले अन्नपूर्णबाट हिमाल आरोहणको मिठो अनुभव लिएर फर्किएकी छु, विश्वमै आरोहीको सबैभन्दा आकर्षक गन्तव्य नै यो हिमाल पर्ने पक्का छ,’ उनले भनिन्। हिमाल आरोहणको क्रममा निकै सकस भए पनि चुचुरोमा पुगेपछि जीवनकै खुसीको क्षण मिलेको बताइन्। ‘८ हजारमाथिका १४ वटै हिमाल आरोहण गर्ने धोको छ, ‘अन्नपूर्ण जोखिम मध्येको एक हो,’ उनले भनिन्।  

गोरखा जिल्ला आरुघाटकी श्रेष्ठले मनास्लु र सगरमाथा आरोहणमा कुनै जोखिम महसुस नगरे पनि अन्नपूर्ण जोखिमसँगै हिमाल आरोहीका लागि मिठो सम्झना हुने हिमालको रूपमा लिएको बताइन्। आरोही पूर्णिमाले हिमाल आरोहणको अनुभव सुनाउँदै मौरिज हर्गोज पदमार्गको प्रवद्र्धनमा जुट्ने प्रतिबद्धता जनाइन्। उनले हालसम्म ८ हजार मिटरमाथिका ३ हिमाल आरोहण गरिसकेकी छन्।

 १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा रहेकाले थप योजनासहित आरोहण गर्ने श्रेष्ठले बताइन्। फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए। अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो। अन्नपूर्णको आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो। अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको कीर्तिमान बनाएकाले उनीहरूलाई सम्मान गरिएको हो।

 बेनीमा आयोजित सम्मान कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको प्रयोग गरेर आरोहणमा गएको पहिलो टोलीको सफलताले उत्साहित बनाएको बताए। गत शुक्रबार ६७ जनाले एकै दिन अन्नपूर्ण हिमाल चढेर अर्को कीर्तिमान पनि बनेको छ। यो टोलीलाई अन्नपूर्ण आरोहणका लागि गण्डकी प्रदेश सरकारले आठ लाख रूपैयाँ, अन्नपूर्ण गाउँपालिकाले चार लाख रूपैयाँ, अध्यक्ष पुनले व्यक्तिगत रूपमा एक लाख रूपैयाँ सहयोग गरेका थिए।

प्रकाशित: ७ वैशाख २०७८ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App