'यहाँ पैसा सटही गरिन्छ' लेखिएका पसल, पैसा साट्ने अघोषित एजेन्ट र सामान्य पसलहरुमा नेपाली रुपैयाँलाई साटेर भारतीय बनाउँदा एक हजार बराबर ४० रुपैयाँ कमिसन तिर्नुपर्ने बाध्यता अझै कायमै छ। द्वन्द्वकालमा विस्थापित भएको वाणिज्य बैंक पुनःस्थापित भएपनि भारतीय रुपियाँ साट्ने व्यवस्था प्रभावकारी नहुँदा दार्जिलिक्षेत्रका घर फर्किन चाहने नेपालीभाषी र घुमफिर तथा आफन्तजन भेटघाटका लागि त्यता जान चाहनेहरु बढी समस्यामा छन्।
धरानबाट दार्जिलिङ घुम्न जाने नेपाली विद्यार्थीको एउटा टोली भरखरै पशुपतिगरको एउटा पसलमा पैसा साट्न प्रवेश गरेको थियो। फाटक नजिकैको पसलका साहुजीले एकहजार नेपाली रुपैंयाँ बराबर छसय भारतीय रुपैयाँमात्र दिए। एकहजार नेपालीको छसय २५ भारती रुपियाँ हुनुपर्नेमा छ सयमात्र पाएपछि टोलीका अगुवाले साहुजीलाई 'पैसा पुगेन' भने। तर साहुजीको उत्तर आयो, 'नेपाली साटेबापत २५ रुपैंयाँ कटाउने चलन छ, त्यसैले हिसाव मिल्यो।'
भ्रमणकै सिलसिलामा इलाम हुँदै दार्जिलिङ जान चितवनबाट यसैसाता एउटा टोली पशुपतिनगर पुगेको थियो। शिक्षक शिक्षिकासहित ४२ जनाको उक्त टोली फाटकबाट दार्जिलिङ छिर्नुअघि नेपाली रुपैंयाँलाई साटेर भारतीय बनाउन उसैगरी एउटा पसलभित्र छिर्यो। त्यहाँ पनि प्रतिहजार ४० रुपैयाँ कमिसन राखेर मात्रै भारतीय रुपियाँ दिइयो। 'यस्तो ठगिने कुरा थाहा भएको भए पहिल्यै व्यवस्था गरेर आउँथ्यौ' टोलीका अगुवा शिक्षक रुपक चौलागाईं भन्दैथिए।
पशुपतिनगरमा पैसा साट्ने अधिकांश नेपाली यसैगरी ठगिने गरेका छन्। यसको एउटै कारण हो त्यहाँ सटही काउण्टर नहुनु। 'नेपाली पैसा नचल्ने भएकाले दार्जिलिङ जानुअघि भारतीय बनाउनैपर्छ,' पशुपतिनगरका एकजना सरकारी कर्मचारीले भने 'तर, पैसा साटिदिए बापत एक हजार बराबर नेपाली ४० रुपैंयाँ कमिसन दिनैपर्ने बाध्यता छ।' बैंकको सटही काउण्टर प्रभावकारी नभइञ्जेलसम्म यसरी पैसा साट्दा सधैं कमिसन तिर्नुपर्ने बाध्यता रहिरहने उनले बताए।
पशुपतिगरबाट दैनिक सयौंको संख्यामा दार्जिलिङतिर जाने नेपालीले पैसा साट्नेक्रममा कमिसन खुवाउनुपर्ने बाध्यता भएपनि बैंकको सेवा प्रभावकारी नभएकोमा स्थानीय आक्रोशित छन्। पशुपतिनगर गाविसका निवर्तमान अध्यक्षसमेत रहेका व्यापारी चन्द्र सुव्वा भन्छन्, 'तीन सयभन्दा धेरै व्यापारी, तीन गाविसका हजारौं वासिन्दा र दार्जिलिङ जाने हूलका हूल नेपालीका लागि यहाँ सटही काउण्टरको खाँचो छ।'
अधिकांश चाइनिज सामान उपलव्ध भएकाले दैनिक ३० लाख रुपैंयाँसम्मको आर्थिक कारोवार हुने पशुपतिनगरमा सटही काउण्टर प्रभावकारी पार्न स्थानीयवासीले बर्षौंदेखि माग गर्दै आएका हुन्। बैंक पुनःर्स्थापना भए पनि काउण्टरमा भारतीय रुपियाँ सधैं अभाव भइरहन्छ। चाहेका बेला सजिलै भारतीय रुपियाँ उपलव्ध हुनुपर्ने उल्लेख गर्दै कांग्रेस क्षेत्र नम्बर १ का सचिवसमेत रहेका स्थानीय मिलन क्षेत्री भन्छन् 'सरकारले यसमा तुरुन्त चासो दिनुपर्छ।'
प्रकाशित: १८ आश्विन २०७० ०१:१८ शुक्रबार





