६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पहिचान नखुलेका शवको कम्तीमा २० वर्ष अभिलेख राख्न निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे वा पहिचान नखुलेका शवको कम्तीमा २० वर्षसम्म अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले जघन्य अपराध तथा फौजदारी कसूरजन्य घटनाका बेवारिसे वा पहिचान नखुलेका शवको अभिलेख कम्तीमा २० वर्षसम्म राख्न निर्देशन दिएको हो।

समितिका सभापति शशि श्रेष्ठले पहिचान नखुलेका शवको कम्तीमा २० वर्षसम्म अभिलेख राख्न र नेपाल प्रहरीले अस्पतालमा रहेका बेवारिसे शवको सबैले देख्न सकिने गरी छुट्टै पेज बनाएर राख्न निर्देशन दिए।  

बैठकले शवको प्रष्ट मुखाकृति देखिने तस्विर र विवरण छुट्टै वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी हरेक शवको औँठाछाप र डिएनएन नमूना सङ्कलन भएको यकीन भएपछि मात्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। साथै त्यस्ता बेवारिसे शवको तथ्याङ्क यकीन गर्न, पहिचान नखुलेका शव निर्देशिका पारित गरेर कार्यान्वयनमा ल्याई पहिचान नखुलेका शवलाई शून्यमा झार्न सरकारलाई निर्देशन दिएको हो।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले बेवारिसे शवको व्यवस्थापन उचित तरिकाले व्यवस्थापन गर्न कानून निर्माण गर्ने काम भइरहेको बताए। गृहसचिव महेश्वर न्यौपानेले बेवारिसे शव व्यवस्थापन निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार भइसकेको र कानूनको ढाँचामा तयार गर्न कानून शाखामा पठाइसकिएको जानकारी गराए। रासस

प्रकाशित: २ वैशाख २०७८ १४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App