महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको हो।
प्रारम्भिक जानकारीअनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो। विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार पवार मुम्बईबाट चार्टर्ड विमानमार्फत बारामती गएका थिए। त्यहाँ अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएको बताइएको छ। नागरिक उड्डयन महानिर्देशनालयले दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समयअघि ६ जनाको मृत्यु भएको खबर आएको थियो।
अजित पवार महाराष्ट्र पंचायत चुनावका लागि बारामतीमा ४ वटा सभालाई सम्बोधन गर्न जाँदै थिए। शरद पवार र सुप्रिया सुले त्यसबेला दिल्लीमा थिए।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै उनीहरू सम्पूर्ण परिवारसहित बारामतीतर्फ प्रस्थान गर्दै छन्। परिवारका अन्य सदस्यहरू उनको मुम्बईस्थित निवासतर्फ गइसकेका छन्। एजेन्सी
प्रकाशित: १४ माघ २०८२ १०:४७ बुधबार





