रौतहटको गौरस्थित एक होटलमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
गौर नगरपालिका–२ मा रहेको होटलमा भएको उक्त घटनामा संलग्न उनीहरूलाई पीडितको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले असार २१ गते बिहान करिब १:०० बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना स्थानीय र चार जना भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका–२ बस्ने २५ वर्षीय सन्तोष राउत रहेका छन्। यस्तै, भारतको मुजफ्फरपुर (मजफरपुर) जिल्ला कल्याणी पञ्चायत–२४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, सोही जिल्लाको मैरोवन पञ्चायत–२ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत–१ बस्ने ३८ वर्षीय हसनैन आलम र क्रममा पञ्चायत–४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन्।
पक्राउ परेका पाँचै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २३ असार २०८३ १५:५२ मंगलबार





