१५ चैत्र २०८० बिहीबार
समाज

सरकारी राहत : असहाय भोकै,खाद्यान्न नष्ट

लकडाउनका बेला स्थानीयहरुलाई छाक टार्नै मुश्किल भयो । साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडा कार्यालय समक्ष राहत माग्न पुग्थे । तर स्टोर कक्षमा खाद्यान्न चाङ लगाएतको वडाले दिँदैनथ्यो ।  वडाले राहतकै लागि भनेर खरिद गरेको खाद्यान्न स्टोर गरेर राखेको थियो , तर उसले असहायहरुकै लागि वितरण गर्ने भनेर ल्याएको खाद्यान्न उनै असहायहरुलाई दिएन । वडाको स्टोरमा राखिएको खाद्यान्न  त्यहिँ कुहिन थाल्यो । फलतः असहायहरु भोकै भए, तर केहि परिमाणको खाद्यान्न नष्ट गरियो । लकडाउनमा बितरण गर्ने भनेर खरिद गरिएको बोराका बोरा चामल अहिले पनि स्टोरमै चाङ लगाएर राखिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ५ ले गरिब असहायहरुका लागि भनेर लकडाउन सुरु भएलगत्तै एक चरणमा राहत बितरण गर्यो । दोस्रो चरणमा यो वडाले पुनः राहत बितरण गर्नका लागि चामल, दाल, नुन, तेल  खरिद गर्यो । जापानको चामल सहित खाद्यान्न खरिद गरेको वडाले दोस्रो चरणमा उक्त राहत बाँडेन । वडामा राहतका लागि माग गर्न जानेहरुको भिड नै चल्यो । वडा अध्यक्ष प्रकाश भण्डारीका अनुसार पहिलो चरणमा स्थानीयबाट धेरै माग भएबमोजिम दोस्रो चरणमा राहत वितरण गर्न सकिएन । ‘पहिलो चरणमा राहत बाँड्दा धेरै समस्या भयो, एकै परिवारबाट चार पाँच जना आउन थाले,’ उनले भने ‘अनि हामीहरुलाई अरु चरणमा राहत बाँड्न समस्या भयो ।’ तथापी मजदुरी बन्द भएर साँझ बिहान हातमुख जोड्नै समस्या भएका परिवारहरु वडाको शरणमा पर्न गईरहे । ‘वडाले राहत बाँड्ने भनेर चामल, दाल लगाएत खाद्यान्न खरिद गरेर त ल्यायो,तर हामीहरुलाई दिएन,’एक स्थानीयले भने ‘हामीहरुकै लागि भनेर ल्याएको खाद्यान्न हामीहरुलाई नदिँदा हामीहरु भोकै बस्नु पर्ने अवस्था आयो ।’

तर वडा अध्यक्ष भण्डारीका अनुसार खाद्यान्नका लागि धेरै बढिको माग आउने भएका कारण गाउँपालिकाले नै खाद्यान्न बितरण रोक्न भनेको थियो । ‘राहत वितरणमा समस्या छ भने नबाँड्नुस् भनेर गाउँपालिकालेनै भनेको थियो,’भण्डारी भन्छन् ‘अनि हामीहरुलाई पनि वितरणमा समस्या भैरहेकाले त्यो काम रोकेका हौँ ।’

गत बैशाखमा खरिद गरेर ल्याईएको उक्त खाद्यान्न वडाकै स्टोर कक्षमा राखियो । झण्डैै बर्ष दिन पुग्नै लाग्दा किरा पर्न थाले । अनि दाल सहित म्याद गुज्रिएका तेल नष्ट गरियो । ‘बीस किलो जति दालमा किरा पर्न थाले,अनि खान लायकनै नहुने भएपछि दाल नष्ट गर्यौँ,’ वडा कार्यालयका प्राविधिक केशव आचार्यले भने ‘तेल पनि केहि नष्ट भयो ।’ उनका अनुसार तेल स्टोर कक्षमै पोखिएर नष्ट समेत  भैसकेको थियो ।  

बर्ष दिन अघि राहतका लागि भनेर खरिद भएको झण्डै ५० बोरा (प्रतिबोरा २५ किलो) चामल भने अहिले पनि वडा कार्यालयमै स्टोर गरेर राखिएको छ । एक बर्ष अगाडी खरिद गरेर स्टोरमा राखिएको चामल अब बिपद्मा परेकाहरुलाई दिने भनेर राखिएको वडाले बताउँछ । एक बर्ष अगाडी खरिद गरेर राखेको चामल खान योग्य हुन्छ त ? वडा कार्यालयका प्राविधिक आचार्यले भने ‘खोई खान लायक भएरै त होला, केहि दिन अघि एकजनाले दुईबोरा चामल लिएर जानु भयो ।’ उनका अनुसार एक गरिब परिवारका सदस्य सहयोग माग्न वडा कार्यालय पुगेका थिए । वडाले त्यहि एक बर्ष अघि खरिद गरेको चामल दिएर पठायो । ‘खान लायक छ कि छैन हेर्नुस्, लैजाने भए लैजानुस् भनेका थियौँ,’ आचार्यले भने ‘उहाँले चामल हेर्नुभयो र खान लायक छ भनेर लैजानु भएको हो ।’

तर वडा अध्यक्ष भण्डारीले भने उक्त चामल जापानको भएकाले नबिग्रने दाबी गर्छन् । उनका अनुसार यो चामल जहिल्यै पनि खान योग्य नै हुन्छ । फलतः वडामा कुनै बिपद् आएको खण्डमा पीडितहरुलाई अब त्यहि चामल वितरण गर्ने योजनामा वडा कार्यालय छ । ‘चामल बिग्रँदैन,यो चामल जापनीज चामल हो,’ उनले भने ‘त्यसैले हामीहरुले वडामा कुनै बिपद् आईपरेको खण्डमा पीडितहरुलाई वितरण गर्न सजिलो होओस् भनेर यो चामल राखिरहेका छौँ ।’

 

प्रकाशित: २ चैत्र २०७७ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App