११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

शिवरात्रिमा भक्तपुरको डोलेश्वर खुल्ने

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ।

मन्दिरमा दर्शन गर्न भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको महाशिवरात्रि पर्व मूलसमितिका संयोजक तथा समितिका वरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइतुले जानकारी दिए। उनका अनुसार बिहीबार परेको शिवरात्रिका लागि तयारी पूरा भएको छ।  

महाशिवरात्रिका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ। नेपाली सेनाका चिकित्सक र नर्सहरुको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने छ। यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिनेछ। समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नको लागि दाउराको व्यवस्था गरेको छ।  

महाशिवरात्रि दर्शनका लागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन्। नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ। परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ।

वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राती १२ बजेसम्म खुल्ला हुने खाइटुले बताए। उक्त मन्दिर वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरुको लागि मात्र मन्दिरको ढोका खुल्ला रहने समितिले जनाएको छ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App