६ वैशाख २०७८ सोमबार
समाज

लायन्स इन्द्रायणीले बाँड्यो चेपाङ विद्यार्थीलाई जुत्ता

काठमाडौं–तराई जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलाबाट १५ मिनेट उकालो लागेपछि पुगिन्छ, श्री देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय। इच्छाकामना गाउँपालिका–६ स्थित सो विद्यालयका अधिकांश विद्यार्थीका खुट्टामा जुत्ता हुँदैनन्। उनीहरू आधादेखि डेढ घन्टासम्म खाली खुट्टै विद्यालय पुग्छन्। चप्पल लाएर विद्यालय आउन पाउने भाग्यमानी छन्।

विद्यार्थीहरूको नाजुक अवस्था देखेको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणीले सहयोगको पहलकमदी लियो। जसअनुसार सो क्लबका सदस्यहरूले बुधबार विद्यालयमै पुगेर विद्यार्थीलाई जुत्ता, मोजा वितरण गरे। उनीहरूले भिजुअल माध्यमबाट गुणस्तरीय पठनपाठन होस् भनेर ४० इन्चको स्मार्ट टेलिभिजन पनि विद्यालयलाई हस्तान्तरण गरे।

‘गत वर्ष यहीँ आएर झोला बाँडेका थियौं, त्यतिबेला अधिकांश विद्यार्थी खाली खुट्टा विद्यालय आएको देखेका थियौं। गिट्टी ओछ्याइएको बाटोमा खाली खुट्टा हिँड्दा उनीहरूका खुट्टामा घाउ हुन्थ्यो। त्यस्तो अवस्था देखेर हामीले त्यहीबेला जुत्ता वितरण गर्ने निर्णय गरेको थियौं,’ क्लबका सदस्य अमर सुवालले भने, ‘कोरोना महामारीले बेलैमा पुग्न सकिएन। ढिलै भए पनि केही राहत दिन सकेकोमा खुसी छौं।’

विद्यार्थीलाई जुत्ता दिन लागेको थाहा पाएपछि आधा घन्टा हिँडेर विद्यालय पुगेकी भागीमाया चेपाङ छोराले जुत्ता र मोजा पाएको देख्दा साह्रै खुसी भइन्। ‘अब मेरो बाबुको खुट्टा दुख्दैन,’ उनले भनिन्, ‘आज धेरै खुसी लागेको छ।’ आफ्नो खेतीबाट महिना दिन पनि खान पुग्नेगरी अन्न उत्पादन नहुने उनले बताइन्। ‘भैंसी पालेकी छु, दूध बेचेर अलिकति आम्दानी गर्छु। जसोतसो छाक टार्न पुग्छ।

छोरालाई जुत्ता, मोजा, किताब, कापी, झोला किन्न कहाँबाट पैसा पाउनु रु’ उनले भनिन्। स्टेसनरी सामान, जुत्ता, मोजा लिएर उक्त विद्यालयमा पुगेका लायन्स क्लब अफ काठमाडौं इन्द्रायणीका अध्यक्ष सागर डंगोलले विद्यार्थीको खुट्टाअनुसारै जुत्ता तयार पारिएको बताए। ‘हामीले सबै विद्यार्थीको जुत्ताको नाप नै मगाएका थियौं। सोही अनुसार दुईचार वर्ष केही नहुने खालका जुत्ता वितरण गरेका छौं,’ उनले भने।

२०५० सालमा स्थापना भएको विद्यालयमा पढ्ने १ सय ३४ जनामा एकजनाबाहेक सबै विद्यार्थी चेपाङ हुन्। एक जना विद्यार्थी भने गुरुङ हुन्। ‘चारघरे, चुराथुम्काबाट डेढ घन्टा हिँडेर विद्यार्थी आउँछन्। त्यस्तै तात्ले र काली खोला वरिपरिका विद्यार्थीहरू पनि छन्। त्यहाँका चेपाङहरूको आर्थिक अवस्था कमजोर छ। आफ्नो उत्पादनले एक महिना पनि खान पुग्दैन अनि कसरी लाऊन् त जुत्ता १’ प्रधानाध्यापका ज्ञानुदेवी पाण्डेले भनिन्।

 उनका अनुसार अभिभावकहरूमा चेतनाको कमीले समस्या रहेको छ। ‘धेरै जसो अभिभावक मुग्लिन पुगेर मजदुरी गर्छन् तर अलिअलि कमाइ भयो भने रक्सी खाएरै सिध्याइदिन्छन्,’ उनले भनिन्। विद्यालयका लागि गाउँपालिकाबाट पनि सहयोग नभएको बताउँदै प्रधानाध्यापका पाण्डेले पाँच शिक्षकशिक्षिकाले मात्र विद्यालय सञ्चालन गर्नुपरेकोमा कठिनाइ भएको बताइन्।

‘केही समयअघि गाउँपालिकाले केही शिक्षकको दरबन्दी पाएको थियो, हाम्रो स्कुलमा पनि एउटा दरबन्दी थप गर्नुपर्‍यो भनेका थियौं तर पाइएन,’ उनले भनिन्, ‘अहिले लायन्स क्लब अफ नारायणगढको सहयोगले दुई शिक्षिका निजी स्रोतबाट राखेका छौं।’सहयोगस्वरूप पाइएको टेलिभिजनले विद्यार्थीलाई नियमित स्कुलसम्म आकर्षित गर्न सहयोगी हुने विश्वास प्रधानाध्यापक पाण्डेले लिएकी छन्।

 ‘टेलिभिजन हेर्न पाउने भएपछि विद्यार्थी नियमित स्कुल आउँछन्,’ उनले भनिन्, ‘नियमित स्कुल आए भने विद्यार्थीको शैक्षिकस्तर त राम्रो हुने नै भयो।’ भिजुअल माध्यमबाट पढाउँदा गुणस्तरीय शिक्षा पनि हुने उनले बताइन्। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ‘बी १’ का एलसिआइएफ लायन बालकृष्ण बुर्लाकोटीले क्लबअन्तर्गको एउटा क्लबले विकट गाउँका विपन्न विद्यार्थी पढ्ने एउटा विद्यालयलाई सहयोग गर्नु उदाहरणीय भएको बताए। क्लबका सचिव निर्मल महर्जनले लायन्स क्लब इन्द्रायणीले थप सहयोग गर्दै जाने बताए।

प्रकाशित: २१ फाल्गुन २०७७ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?