अर्थमन्त्री रामेश्वर खनालले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । निर्वाचनका लागि सबै वातावरण बनिसकेकाले तोकिएकै समयमा सम्पन्न हुनेमा कुनै शंका नगर्न पनि उनले आग्रह गरे।
‘तोकिएको मितिमा कसैले चुनाव हुँदैन भन्छ भने त्यो हल्ला मात्र हो’, रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानलाई जग्गा हस्तान्तरण गर्न बिहीबार आयोजित कार्यक्रममा मन्त्री खनालले भने, ‘फागुन २१ गते तोकिएको निर्वाचनका लागि बाह्य र आन्तरिक वातावरण बनिसकेको छ। अब प्रतीक्षा फागुन २१ गते भोट खसाल्ने मात्र छ।’
उनले निर्वाचनको वातावरण बिगार्ने छुट कसैलाई नभएको पनि बताए। ‘निर्वाचनको माहोल सबै पक्ष मिलेर बनाउने हो। निर्वाचनमा आआफ्नो पक्षमा मत माग्न पाइन्छ तर माहोल बिगार्ने गरी कुनै गतिविधि गर्न पाइँदैन।’
मन्त्री खनालले जेनजी आन्दोलनको बलमा बनेको यो सरकारको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताए।
‘यो सरकारको म्यान्डेट निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु, सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु हो। हामीलाई संविधान, कानुन, नियम र निर्देशिकाभन्दा बाहेक गर्न छुट छैन, गर्दैनौं’, उनले भने, ‘अहिलेकै कानुन सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पर्याप्त छ।’
उनले नयाँ जनादेशपछि अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने विश्वास व्यक्त गरे।
कार्यक्रममा मन्त्री खनालले ४७ वर्षदेखिको जग्गासम्बन्धी अल्झन वर्तमान सरकारले डेढ महिनामै सुल्झाएको बताए। ‘४७ वर्षदेखि किन अस्पतालको जग्गा अड्काएर राखियो? यसको कारण खोजिनुपर्छ,’ मन्त्री खनालले भने, ‘आउँदो चुनावमा यो पनि अजेन्डा बन्नुपर्छ।’
उनले अगाडि थपे, ‘जेनजी आन्दोलनपछि मन्त्री बनेका बब्लु गुप्ताले पहल गर्दा ४७ दिनमै जग्गा अस्पतालको नाममा हस्तान्तरण गर्ने वातावरण बन्न सक्यो। हेर्दा सामान्य लाग्छ तर यसको अर्थ गहिरो छ। यतिका वर्षसम्म किन जग्गा अस्पताललाई हस्तान्तरण भएन र अहिले किन सम्भव भयो? कारण जनताले खोज्नुपर्छ।’
४७ वर्षदेखि अल्झन वर्तमान सरकारले डेढ महिनाको प्रयासमै फुकाउनुले थिति र बेथिति के हो भन्ने प्रष्ट हुने उनले बताए। ‘अस्पतालका नाममा जग्गा रजिस्ट्रेसन गर्दा लाग्ने लाभकर वर्तमान सरकारले मिनाहा गरेका कारण ४७ वर्षदेखि अड्किएको गाँठो फुकेको हो’, उनले भने, ‘सरकारको एउटा निर्णयले दाता परिवारको चाहना पूरा भएको छ, जनतामा खुशीको सञ्चार भएको छ।’
कार्यक्रममा जग्गादाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको सार्थक एवं इमानदार प्रयासका कारण जग्गा अस्पताललाई हस्तान्तरण हुन सकेको भन्दै खुशी प्रकट गरे । ४७ वर्षसम्म हुन नसकेको काम मन्त्री गुप्ताको पहलमा भएको भन्दै उनीहरूले खुलेर प्रशंसा गरे।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीलगायत उपस्थित थिए।
यसरी फुक्यो ४७ वर्षदेखिको गाँठो
रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको भौतिक विकासका लागि दाताले दिएको जग्गा अस्पतालका नाममा रजिस्ट्रेसन गर्दा लाग्ने लाभकरमा वर्तमान सरकारले छुट दिने निर्णय गरेसँगै ४७ वर्षदेखिको अल्झन फुकेको हो।
युवा तथा खेलकुद्मन्त्री गुप्ताको पहलमा मन्त्रिपरिषद्ले अस्पतालको नाममा जग्गा रजिस्ट्रेसन गर्दा लाग्ने लाभकरबापतको एक करोड ३४ लाख ९५ हजार ९५९ रुपैयाँ छुट दिने निर्णय गरेको हो।
सरकारले जग्गा रजिस्ट्रेसन गर्दा लाग्ने लाभकर छुट दिएसँगै जग्गा अस्पतालका नाममा आएको र अब भौतिक पूर्वाधार निर्माण र गुणस्तरीय सेवा विस्तारको बाटो खुलेको अस्पतालका अध्यक्ष रामनारायण महतोले बताए।
उनले भने, ‘स्थानीय जनताको अपेक्षा र आवश्यकताअनुसार सरकारले गरेको निर्णय ठुलो गुन हो।’
पवनकुमार शारडा र मुरारीलाल मुरारकाका नाममा दर्ता कायम रहेको लहान नगरपालिका–७ (क) स्थित कित्ता नं. २४८, २४९, ३२७ र ३३० को समेत गरी एक बिघा १५ कठ्ठा १० धुर जग्गा तथा त्यसमा बनेको भवनसमेत (प्रचलित मूल्य १७ करोड ९९ लाख ४६ हजार एक सय आठ रुपैयाँ १० पैसा) जग्गाधनीहरूले मधेस प्रदेश सरकारका नाममा हस्तान्तरण गर्दा आयकर ऐन, २०५८ को दफा ९५ (क) को उपदफा (५) को खण्ड (ख) बमोजिम लाग्ने लाभकर आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम छुट दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। मन्त्रिपरिषद्ले मंसिर २९ गते यो निर्णय गरेको हो। गुप्ता कात्तिक ९ गते मन्त्री बनेका थिए।
लाभकरका कारण जग्गा रजिस्ट्रेसन हुन नसक्दा ४७ वर्षदेखि यो अस्पतालको सेवा विस्तार रोकिएको थियो। १५ शय्याबाट सुरु भएको यो अस्पताल प्रदेश सरकार मातहत गएपछि हाल ६५ शय्यासहित सञ्चालन भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए। अस्पतालको स्वामित्वमा जग्गा आएपछि अब सेवा विस्तारको बाटो खुलेको उनले बताए।
हाडजोर्नी, बालरोग, जनरल सर्जरी, जनरल मेडिसिनको सेवा दिँदै आएको अस्पतालले अब एक सय शय्या क्षमताको भवन निर्माणसहित सिटिस्क्यान, एमआरआई र विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष महतोले बताए। जग्गा अस्पतालको स्वामित्वमा ल्याउन संघीय सरकार, लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरी र जेनजी अगुवाहरूले पनि पहल गरेका थिए।
२०३७ सालमा लहानका रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा १० धुर जग्गा दान दिएका थिए। दाता परिवार अस्पतालको नाममा जग्गा रजिस्ट्रेसन गर्न तयार भए पनि लाभकर कसले तिर्ने भन्ने विषयमा देखिएको अल्झन वर्तमान संघीय सरकारले मिनाह गरी फुकाइदिएको हो।
दाताले मौखिक रुपमा २०३५ सालमा र लिखित रुपमा २०३७ सालमा अस्पताललाई जग्गा दिएका हुन्। त्यसपछि उक्त जग्गा अस्पतालले हकभोग गर्दै आए पनि रजिस्ट्रेसन पास नहुँदा स्थायी संरचना बनाउन समस्या भएको थियो। कानुनी रुपमा जग्गा अस्पतालको नाममा आएपछि यो समस्या हटेको छ।
प्रकाशित: ११ पुस २०८२ १०:१८ शुक्रबार





