३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा र सम्भावित उद्धारको पूर्वतयारी गर्न सरकारलाई रविको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे तत्काल उद्धार गर्न सकिने गरी पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सभापति लामिछानेले मध्यपूर्वको वर्तमान परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले अत्यन्तै संवेदनशील भएको बताएका छन्।

उनले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउँदै संवाद र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न अपिल समेत गरेका छन्।

विशेषगरी यूएई, कतार, बहराइनलगायतका खाडी मुलुकहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको लामिछानेको भनाइ छ।

‘सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दछौं,’ उनले भनेका छन्।

नागरिकको सुरक्षा सरकारको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै उनले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहनुपर्नेमा जोड दिएका छन्।

यसका साथै, मध्यपूर्वको तनावले इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोध र त्यसले नेपालको जनजीवन तथा अर्थतन्त्रमा पार्न सक्ने सम्भावित प्रभावबारे पनि बेलैमा सचेत रहन सभापति लामिछानेले सरकारलाई सुझाव दिएका छन्।

प्रकाशित: १६ फाल्गुन २०८२ २०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App