७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोनाकालमा जो जनावरका 'सहारा' बने

चीनको वुहानबाट फैलिएको कोरोना  महामारीका कारण गत चैत दोस्रो साता देश पूर्ण ‘लकडाउन’ मा गयो। वातावरण उकुसमुकुस बन्यो। कोरोना भाइरसको डरले सबैको मन ‘अशान्त’। सबैलाई कोरोनाको डर र त्रासले ग्रसित बनायो। हरपल हरेकको मनमा ‘कोरोना’ नै खेलिरहन्थ्यो। धेरैको  गाँस खोसियो मानिस बेरोजगार बने। मानव जातीले नसोचेको विपद आइपर्याे। यो विपदमा मानिस मात्रै होइन, पशुपंक्षी पनि ‘अछुतो’ रहेनन्। मानिसलाई आएको यो विपदले जनावरलाई पनि दु:ख नदिने कुरै भएन। मानिसको गाँस काटिँदा जनावरको पनि काटियो। 

सडकका कुकुर, गाईवस्तु, परेवा, बाँदरलगायतका पशुपंक्षीलाई समेत बाँच्न ‘सकस’ भयो। कोरोना नियन्त्रणका लागि देश लकडाउन भएपछि होटल र व्यवसायहरू ठप्प भए। होटलबाट निस्किएका खानेकुरा खानबाट पशुपंक्षी वञ्चित भए।  

हुन त आफू कसरी बाँच्ने भन्ने ध्याउन्न मात्रै थियो सबैलाई। बाहिर निस्कएपछि कोरोना सर्छ भन्ने ‘त्रास’। घरको बन्द कोठामा उकुसमुकुस भएर बस्न र्ने बाध्यता आइलाग्यो।  

यस्तो बेला पशुपंक्षीहरुले के खाए होलान्? उनीहरुलाई कसले खाना दियो होला? सकडमा भएका कुकुर, बाँदर गाइवस्तुहरुले कसरी गुजारा टारे होलान्? के खाएर बाँचे होलान? यस्तै प्रश्नहरु उनको मन खेल्यो। हरपल उनको मनमा यस्तै ‘तर्कना’ आईरह्यो ।  

तर, समय सधैं एकनास रहँदैन। एक दिन आशाको घाम पक्कै उदाउनेछ भनिएझैं लकडाउनकै समयमा सडकका पशुपंक्षीको ‘प्राण’ भर्न निस्किए, उनी अर्थात सौरभ रिमाल ।  

पेशाले उनी व्यवसायी हुन्।  सौरभ डिस्कोभर सिटी प्राइभेट लिमिटेड नामक कम्पनीको सञ्चालक हुन्। लकडाउनमा उनले काठमाडौं उपत्यकाको कुकुर, बाँदर, पेरवालाई खाना दिए। जुन काम उनी अहिले निरन्तर गरिहेका छन्। अहिले उनको दैनिकी फेरिएको छ। विहान आफ्नो गाडीमा जनावरको लागि खाना बोकेर दिनहुुँ घरबाट बाहिर निस्किन्छन्। जहाँ कुकुर, बाँदर र गाइवस्तुहरुलाई खानाको हभाव छ, त्यहाँ पुगेर खाना दिन्छन्, सौरभ।

उनी जनावर भोको भएको हेर्न सक्दैनन्।

‘बाहिर निस्कन कोरोनाको विगविगी थियो । सर्वप्रथम भिडभाड धेरै हुने भएकाले सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण कुरा थियो’, उनी भन्छन् ‘त्यो बेला काम गर्नु आफैंमा चुनौति थियो। तर, अहिले कोरोनाको त्रास कम भएको छ।’  

कोरोनाको त्रास बढेपछि सरकारले लकडाउनको घोषणा गर्यो । यसले सौरभलाई बढी निराश बनायो। उनलाई आफ्नो र परिवारको भन्द पनि जनावरका लागि चिन्ता लाग्न थाल्यो।

‘वातावरण निकै अस्तव्यस्त बन्यो। यस्तो विपद्मा सबैले आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने सोच आयो। यो अवस्था काम गर्ने आँट गरौं भन्ने लाग्यो। सडकमा निस्कन थालेँ त्यसपछि मेरो दैनिकी सुरु भयो,’ उनले भने।  

सुरूका दिनमा सौरभले २५–३० वटा कुकुुरलाई खाना दिन्थे। उनी आफ्नै घरबाट पकाएर लैजान्थे। त्यतिबेला उनलाई सहयोग गर्ने कोही थिएनन्। समय बित्दै जाँदा सय–डेढ सय भन्दा धेरै कुकुर उनीसँग झुम्मिन थाले। कुकुरमात्रै होइन सडकका गाईवस्तु, बाँदर र परेवाको भोक देख्न सकेनन्।  

उनले आफूले बाँदर र कुकुरहरूलाई आहार दिँदै गरेको तस्बिर पनि राखे । सबैलाई सामाजिक सञ्जालमार्फत हारगुहार गरे। विस्तारै सहयोगी हातहरु सौरभवलाई साथ दिन थाले।

दैनिक १५ हजार रुपैयाँ लागतको खानाको ‘प्याकेज’ हुन्थ्यो। उनी पशुपंक्षीलाई सबैभन्दा बढी खाना अभाव भएको क्षेत्रमा गाडी लिएर कुद्न थाले। उनले लकडाउको कठिन समयमा काठमाडौंका विभिन्न क्षेत्रका भोका पशुपंक्षीलाई खाना दिए।  

अहिले कुकुरको भोक मेटाईदिने ‘सहारा’ बनेका छन्, सौरभ। उनको गाडी देख्ने वित्तिकै कुकुरको ‘लाइन’ लाग्छ। ‘सुरूवाती दिनमा खाना दिन कुकुर खोज्नुुपथ्र्याे। अहिले सजिलो भएको छ। मलाई देख्नेवित्तिकै आफैं आउँछन्,’ उनी भन्छन्, ‘मानिसले जनावरलाईजस्तो व्यवहार गर्याे, जनावरले पनि त्यस्तै व्यवहार गर्दाेरहेछ। हामीले माया गर्‍यौं भने उनीहरूले पनि उत्तिकै गर्ने रहेछन्। उनीहरूमा पनि विवेक हुँदोरहेछ।’

सौरभको यो कामले उनलाई जनावारसँग अझ निकट बनायो। उनलाई जनावार पनि सर्वश्रेष्ठ हुँदो रहेछ भन्ने ६ महिनाको संगतले अझ सिकायो।  

यस्तो काम गर्न पाउँदा आफ्नो जीवनले ‘सार्थकता’ पाएको उनको बुझाई छ।

‘ठूलै काम गरिरहेको छु भन्दिन। विपद् सानो सहयोग मात्रै गरेको हुँ’, उनी भन्छन्, ‘कोरोना महामारीले निम्त्याएको बन्दाबन्दीले मेरो जीवनलाई नयाँ पाठ सिकायो।’  

जीवन र जगतलाई अझ गहिरिएर बुझ्ने अवसर मिलेको उनको अनुभव छ। सौरभवले जनावर मात्रै होइन असक्त, बेसाहारा मानिसलाई कपडा र खाना दिईरहेका छन्।  

जीवनको सपना  

जीवनमा धेरै सम्पत्ति आर्जन गर्नुछैन, सौरभलाई। ‘दिन दुःखीको सेवा गर्न पाए पुग्छ’ भन्ने लाग्छ, उनलाई। सौरभ भोको पेटलाई खाना दिन हरदम लागि परेका छन्।  

यो कामलाई अझ व्यवस्थित बनाएर अघि बढाउने उनको सोच छ।  

‘मैले गरेको कामको धेरैको आर्शिवाद, माया, र सहयोग पाएको छु। यो कुनै शब्दमा पनि बयान गर्न सक्दिँन। यो नै मेरो लागि महत्पूर्ण हुनेछ। अझ अरु काम गर्न उर्जा मिलेको’, उनले भने।  

कमलपोखरीका स्थायी वासिन्दा सौरभले जीवनमा बाँचुञ्जेल समाजसेवा गर्ने सपना बोकेका छन्। विपद्को बेला सानो काम गरेबापत आफूले धेरै माया र प्रेरणा पाएको उनी बताउँछन्। उनी सहयोगी हातहरुप्रति पनि उत्तिकै कृतज्ञ छन्।

‘यो बीचमा थुप्रै चुनौतीहरु थिए। सबैले सहयोग नगरेको भए आज यो अवस्थासम्म आउन मलाई कठिन हुन्थ्यो,’ उनले भने। सरकारीस्तरबाट कुनै सहयोग नपाएपनि देशविदेशमा बसोबास गर्ने नेपालीहरुले भने उनलाई खुलेर सहयोग गरे। त्यसले उनलाई थप हौसला मिल्यो।

‘समय बदलिएको छ। सय रुपैयाँ कसैलाई पत्याउँदैनन्। तर, मलाई हजारदेखि लाखसम्मको सहयोग गरेर मेरो कामको मूल्यांकन गर्नुभएको छ। यसले झन् काम गर्ने उर्जा थपेको छ,’ उनले भने।  

विदेशबाट आएको सहयोगले काठमाडौंभित्र मात्र होइन सौरभले काठमाडौं बाहिर गएरपनि अभावमा बाँचेका मानिसहरूलाई सहयोग गरेका छन्। उनको धारणा छ – ‘एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्नु नै जीवनको सार्थकता हो, मानवता हो।’

उनी अगाडि भन्छन्,‘जहिलेसम्म शरीरमा सास् रहन्छ, भोका मानिस र जनावरलाई खाना खुवाउने काम छोड्दिन।’

दयालु मनका धनी सौरभले धेरैको भोक पेट भरिदिएका छन्। पछिल्लो समय धमाधम सामाजिक कार्यमा सक्रिय छन्, उनी। कोरोना महामारीले सिंगो विश्वलाई रूवाइरहेको बेला व्यक्तिगत पहलमा सडकका पशुपंक्षीलाई खाना खुवाएका सौरभ अझै सामाजिक सेवा क्रियाशील बन्ने सोचमा छन्।

प्रकाशित: २ फाल्गुन २०७७ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App