११ कार्तिक २०७८ बिहीबार
समाज

चिटिक्क भक्तपुर

२०७२ वैशाख १२ को भूकम्पले सांस्कृतिक नगरी भक्तपुर बिथोलिएको थियो। भूकम्पको पाँच वर्षपछि आइतबार भक्तपुर दरबार क्षेत्र पुग्दा आकाश पूरै खुलेको थियो। भत्किएका अधिकांश सम्पदा ठडिएका थिए। बजारमा धिमे र बाँसुरीको धुन बज्दै थियो। सांस्कृतिक नगरीका सम्पदाले आफ्नै लय लिएको देखिन्थ्यो।  

सम्पदाप्रतिको माया, कामप्रतिको इमानदारिता र नगरवासीको साथ भयो भने जस्तोसुकै कठिन परिस्थितिबाट पनि माथि उठ्न सकिन्छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले देखाएको छ। भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुनर्निर्माणमा नगरपालिकाले हासिल गरेको सफलता अन्यका लागि उदारणीय बन्न पुगेको छ।

भूकम्पले बिथोलिएको भक्तपुरको सम्पदा पुनर्निर्माणको तीव्रतासँगै नगर आफ्नै लयमा फर्किंदै छ। भूकम्पको धुलो टकटकाएजस्तै सफा सुन्दर सांस्कृतिक नगरी यतिबेला चिटिक्क देखिएको छ। दरबार क्षेत्रको आकर्षण रहेको १७आँै शताब्दीमा ढुंगाबाट बनेको आकर्षक वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै नगर थप उज्यालो भएको छ। राजा जितामित्र मल्लको पालामा निर्माण गरिएको यो मन्दिर भूकम्पले पूर्णक्षति बनाएको थियो। मन्दिरको मौलिकतालाई कायमै राखी थप बलियो र सुन्दर बनाइएको छ।  

त्यस्तै, दरबार क्षेत्रका पश्चिमतिर रहेको इँटैइँटाले बनाइएको शिखर शैलीको केदारनाथ मन्दिर झनै चम्किलो देखिएको छ। भूकम्पले ढालेको विश्वप्रसिद्ध ५५ भ्याल दरबारअगाडि रहेको शिखर शैलीमै निर्माण भएको सिद्धिलक्ष्मीको मन्दिर उसैगरी ठडिएको छ। ढुंगैढुंगाले बनेको यो मन्दिरभित्र सिद्धिलक्ष्मीको मूर्ति रहेको छ भने बाहिरतिर विभिन्न देवीका साथ जनावरका अति आकर्षक मूर्ति देख्न सकिन्छ।  

यी त उदाहरण मात्र हुन्। भूकम्पले क्षति पु¥याएकामध्ये २३ मन्दिर, ४० पाटी, ६ द्योछे ‐देवघर), तीन प्रवेशद्वार पुनर्निर्माण सम्पन्न भइसकेको छ। त्यस्तै, आठवटा पोखरी, सातवटा इनार, आठवटा सत्तल सातवटा ढुंगेधाराको जीर्णोद्धार तथा पुनर्निर्माण कार्य सम्पन्न भएसँगै नगर थप सुन्दर देखिएको छ।  

पुनर्निर्माण कार्यमा नगरपालिका निकै सजग रहेको देखियो। ‘हामीले मौलिकता जोगाउने मात्र होइन, विगतमा त्रुटि भएका कार्यलाई सच्याउने अवसर पनि पायौँ,’ भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भने, ‘यसले हामीलाई थप खुसी बनाएको छ।’ शिखर शैलीको हरिहर मन्दिरलाई १९९० सालको भूकम्पपछि चुना पोतेर सेतो बनाइएकामा अहिले पुरानै स्वरूपमा ल्याइएको उनले बताए। इतिहासका जानकार र संस्कृतिविद्को सल्लाहमा मौलिकता नगुम्ने गरी नगरलाई थप सुन्दर र आकर्षक बनाउन पाएकामा नगरवासी दंग रहेको उनले बताए।  

नगरवासीको सद्भाव र मायाले सम्पदा पुनर्निर्माणमा झनै उत्साह मिलेको मेयर प्रजापति सुनाउँछन्। सकेसम्म विदेशीलाई संलग्न नगराउने नीति अनुसार निर्माण कार्य अगाडि बढेको उनले सुनाए। ‘पुर्खाले उतिबेलै यत्रो सम्पदा बनाउन सक्छन् भने हामीले अहिले त्यसको मर्मतसम्भार र संरक्षणका लागि विदेशीलाई किन गुहार्ने ?’ उनले भने, ‘त्यसैले हामी आफैँ जुटेर काम गर्‍यौँ।’ विदेशीलाई खासमा यहाँको मौलिक शैलीबारे जानकारी नहुने अनि उनीहरूका सर्त मान्दा हामीले आफ्ना सम्पदाको मूल्यमा समेत सम्झौता गर्नुपर्ने भएकाले आफैँ काम गर्ने प्रयास गरेको उनले बताए।  

त्यसैले होला, नेपाल र जर्मन सरकारबीच भएको सम्झौता अनुसार भक्तपुरका १० वटा सम्पदा पुनर्निर्माणका लागि नगरपालिकाले एक करोड युरो (करिब १ अर्ब २० करोड रूपैयाँ) वैदेशिक अनुदान पाए पनि त्यो रकम अस्वीकार गरिदियो। अनुदानको सर्त मान्दा यहाँका सम्पदा परम्परागत शैली र स्वरूपमा नबन्ने भएपछि नगरपालिकाले यति ठूलो रकम फिर्ता गरिदिएको थियो।  

भक्तपुरनगरपालिकको आम्दानीको स्रोत नगर घुम्न आउने पर्यटनको शुल्क पनि हो। यसैबाट नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदाको संरक्षणमा टेवा पुर्‍याउँदै आएको हो। लकडाउनका कारण पछिल्लो समय पर्यटक नआउन आम्दानीमा कमी आएको छ। तर, नगरवासीले सम्पदा संरक्षणमा उत्साह देखाएको कारण पुनर्निर्माण कार्य रोकिएको छैन।  

लकडाउनका बेला न्यातपोल मन्दिरको जीर्णोद्धारमा देखिएको श्रमदानले सम्पदा जोगाउन सर्वसाधारण कति जोखिम उठाउन सक्छन् भन्ने देखाएको छ। ‘श्रमदानमा देखिएको जनसहभागिताले धेरै हौसला बढेको छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘यसले यहाँको सम्पदा कति सुुरक्षित छ भन्ने देखाउँछ।’ टौमढी क्षेत्रमा रहेको पाँचतले मन्दिर र भैरवनाथको मन्दिरको जीर्णोद्धारसँगै यस क्षेत्रका रौनकता झनै बढेको उनी बताउँछन्।  

मौलिकता कायम राख्दै काम सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार कार्यअगाडि बढ्दै जाँदा दरबार क्षेत्र मात्र होइन, सिंगो नगर सफा र सुन्दर अनि चिटिक्क देखिन थालेको छ। २०७२ सालको भूकम्पबाट क्षति पुगेका हालसम्म एक सयभन्दा बढीको संख्यामा सम्पदा पुनर्निर्माण भएको नगरपालिकाले जनाएको छ। बाँकी सम्पदाको निर्माण कार्य पनि अगाडि बढिरहेको मेयर प्रजापति बताउँछन्।  

कामको पारदर्शिता देखाउन र आवश्यक जानकारी दिन नगरपालिकाले भूकम्पबाट क्षति भएका सम्पदाको पुनर्निर्माण र निर्माणाधीन अवस्थाबारे विवरण समेटिएको ‘सम्पदा पुनर्निर्माण तथा जीर्णोद्वार’ नामक पुस्तक प्रकाशन गरेको छ। पुस्तकमा उल्लेख भएअनुसार हालसम्म १०३ वटा सम्पदा पुनर्निर्माण सम्पन्न गर्न २४ करोड २३ लाख नौ हजार रूपैयाँ खर्च भएको छ। यस्तै, ३४ वटा निर्माणाधीन सम्पदाका लागि सात करोड ५४ लाख ९९ हजार रूपैयाँ खर्च भएको जानकारी दिइएको छ।

‘पुस्तकमा सम्पदाको भूकम्पले क्षति पुर्‍याउनुअघिको फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो राखिएका छन्,’ नगरपालिकाका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले भने, ‘प्रत्येक सम्पदाको संक्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ।’  

भक्तपुरको प्रयासको सकारात्मक असर छिमेकी नगरमा समेत देखिन थालेको छ। २०७५ साउनमा मेयर प्रजापतिले उपत्यकाका पाँचवटा नगरपालिकाका मेयरको भेलाको आयोजना समेत गरे। भेलाले उपत्यकाभित्रका ऐतिहासिक–पुरातात्विक महत्वका सम्पदा जनसहभागितामार्फत जीर्णोद्धार–पुनर्निर्माण गर्ने प्रजापतिको प्रस्ताव पारित समेत ग¥यो । त्यसको प्रतिविम्ब र अन्य नगरका पुनर्निर्माण कार्यमा देखिन थालेको हो।  

यसबाहेक भक्तपुर नगरले परम्परागत स्वरूप जोगाउन निजी घरको पुनर्निर्माण र नयाँ घर निर्माणमा नगरको मापदण्ड कडाइसाथ लागू गरिएको छ । नगर क्षेत्रका भित्री सडकमा पिच गर्न पहिलेदेखि नै रोक लगाइएको थियो । इँटा बिछ्याएका सडक फोहोर हुन थालेपछि अहिले ढुंगा बिछ्याउन थालेको छ। ‘नगरको सौन्दर्य सम्पदासँग मात्र होइन, सर्वसाधारणको घर आँगनसँग पनि जोडिएको हुन्छ,’ मेयर प्रजापतिले भने, ‘नगरलाई चिटिक्क बनाइराख्न सर्वसाधारणसँग हातेमालो गर्न नगरपालिका कटिबद्ध छ।’  

नगरको आम्दानी सम्पदामा खर्च गर्दा कतिपयले कुरा काटे पनि धेरै नगरवासी सन्तुष्ट रहेको मेयर प्रजापतिले बताए। पर्यटकबाट भएको आम्दानीले भक्तपुरलाई आत्मनिर्भर बनाएको उनी बताउँछन्। ‘भक्तपुरमा पर्यटक आउने भनेकै हाम्रा परम्परागत सम्पदा र मौलिक जीवनशैली हेर्नका लागि हो,’ प्रजापति भन्छन्, ‘समृद्धिको बाटोमा जाने हो भने यसलाई जोगाउनु अत्यन्त जरुरी छ।’

प्रकाशित: १ फाल्गुन २०७७ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App