१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

‘३५ दिने सूचना खारेज गर’ भन्दै महानगर घेराउ

पोखराको सुकुम्बासी आन्दोलनमा घण्टीमा हालेको भोट फिर्ता गर्न माग<br>

 

पोखरा, वैशाख २१

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी आन्दोलनमा उत्रिएका छन्। पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रूपमा बनेका घर–टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि उनीहरूले सोमबार प्रदर्शन गरेका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउन निस्किएका सुकुम्बासीहरूले महानगर कार्यालय घेराउ गर्नुका साथै सरकारविरुद्ध नाराबाजी गरेका छन्।

पोखरा–८ सहिदचोकमा भेला भएका उनीहरूले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीका घर–टहरा नभत्काउन आग्रह गर्दै सुरुमा जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाए। त्यसपछि वाइचोक, रत्नचोक, पृथ्वीचोक हुँदै नयाँबजारस्थित महानगर कार्यालय पुगेर घेराउ गरेका हुन्। प्रमुख आचार्य कार्यालयमा नभेटिएपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई ज्ञापनपत्र बुझाउँदै करिब एक घण्टा धर्ना दिए।

प्रदर्शनका क्रममा उनीहरूले ‘बालेन सरकार चाहिँदैन, गरिब मार्न पाइँदैन’, ‘हाम्रो भोट फिर्ता गर’, ‘३५ दिने सूचना खारेज गर’, ‘सुकुम्बासीमाथिको ज्यादती बन्द गर’, ‘डोजर आतंक बन्द गर’ लगायतका नारा लगाए।

उनीहरूले आफूहरूले आशा राखेर ‘घण्टी’ चिन्हमा भोट हालेको भए पनि अहिले सोही नेतृत्वमा बनेको सरकारबाट सुकुम्बासीमाथि अन्याय भएको आरोप लगाए। सुकुम्बासी नेता अर्जुन मल्लले देशभरका करिब ४० लाख सुकुम्बासीले विकासको अपेक्षासहित मतदान गरेको उल्लेख गर्दै अहिले उनीहरूकै घरमा डोजर चलाइएको बताए। ‘हामीलाई यस्तो सरकार चाहिँदैन, हाम्रो भोट फिर्ता दिइयोस्,’ उनले भने।

भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले सुकुम्बासीको समर्थनबाट जितेको नेतृत्वले अहिले उनीहरूकै विरुद्ध कदम चालिरहेको आरोप लगाए। ‘विकास र परिवर्तनको आशामा भोट दिएका हौं, तर अहिले हामीमाथि नै आक्रमण भएको छ,’ उनले भने। वैकल्पिक व्यवस्था गरिए बसपार्क क्षेत्र छोड्न तयार रहेको उनले बताए, तर जबरजस्ती हटाउने प्रयास भए प्रतिरोध गर्ने चेतावनी दिए।

पोखरा बसपार्क क्षेत्रमा करिब साढे चार सय सुकुम्बासी बसोबास गर्दै आएका छन्, जसमा केहीले निस्सा समेत पाइसकेका छन्। पृथ्वीचोक नजिक बसपार्क निर्माणका लागि २०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। हाल भने करिब २६ रोपनीमा मात्रै बसपार्क सञ्चालनमा छ, बाँकी जग्गा सुकुम्बासी तथा अन्य व्यक्तिले उपयोग गर्दै आएका छन्।

स्थानीय सुकुम्बासीहरूले बसपार्क क्षेत्रको एक चौथाइ जमिन व्यक्तिका नाममा दर्ता गरी लालपूर्जा लिइएको र त्यसमाथि भवन निर्माण गरिएको दाबी गरेका छन्। त्यसैले सुकुम्बासी बस्ती हटाउनुअघि त्यस्ता संरचना भत्काउनुपर्ने उनीहरूको अडान छ। उक्त क्षेत्रमा पञ्चरत्न आयल स्टोर्स, बास्तोला कम्प्लेक्सलगायत संरचना पनि २०५ रोपनी क्षेत्रभित्रै रहेको बताइएको छ।

संघर्ष समितिका सल्लाहकार ओमबहादुर पौडेलले ‘ठूला संरचना जोगाएर सुकुम्बासीका घर मात्र भत्काउने कुरा स्वीकार्य हुँदैन,’ भन्दै आवश्यक परे आफूहरू नै ती संरचना हटाउन तयार रहेको चेतावनी दिए।

 

प्रकाशित: २१ वैशाख २०८३ १६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App