७ वैशाख २०८१ शुक्रबार
समाज

भागरथीको बलात्कारपछि हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ। घटनामा संलग्न हुनेको अहिलेसम्म पहिचान हुन सकेको छैन। बुधबार विद्यालयको पढाइ सकेर घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ। शनिबार जिल्ला अस्पताल बैतडीमा उनको शव पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पतालको विशेष स्रोतले जनाएको छ। ‘बलात्कारपछि हत्या गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘एकजनाले बलात्कार गरेर हत्या गरेको हो या सामूहिक बलात्कार भएको हो भन्नेचाहिँ खुल्न सकेको छैन।’

बुधबार २ बजे विद्यालयको पढाइ सकेर घर फर्कने बेला बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनको जंगलमा पुर्‍याई भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘प्रारम्भिक अनुसन्धानअनुसार बलात्कार गरी हत्या भएको देखिएको छ,’ नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, विस्तृत कुरा पछि खुल्नेछ।’

कक्षा १२ मा अध्ययनरत भागरथी सधैंझैं बुधबार बिहान आफू पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालय गइन्। पुरै पाँच विषय पढी विद्यालयबाट घर फर्किन्। विद्यालयनजिकैको खोचलेक बजारमा उनलाई २ बजे स्थानीयले देखेका थिए। बुधबार साँझसम्म उनी घर फर्किनन्। आफन्तले उनलाई खोज्न थाले। ‘उनका साथीहरूलाई सोधेर सबैतिर खोजी गर्‍यौं,’ उनका काका शंकर भट्टले भने, ‘कतै पनि पत्ता नलागेपछि दोस्रो दिन बिहीबार स्थानीय खोचलेक प्रहरी चौकीमा खोजी गरिदिन भन्दै निवेदन दर्ता गरायौं।’ त्यतबेलासम्म आफूहरूलाई कुनै साथीको घर गएको वा केटासँग भागेको होला भन्ने अनुमान गरेको उनले बताए।

बिहीबार साँझ विद्यालयबाट घर फर्कने बेला चडेपानीका तीन विद्यार्थीले बाटोभन्दा तल मृत अवस्थामा भागरथीलाई देखेका थिए। तल्लो शरीर निर्वस्त्र रहेको, यौनांगमा रगत बगेको, हात काटिएको, शरीरभरि नीलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको काका भट्टले बताए। बिहीबार साँझ नै स्थानीय प्रहरी र आफन्त घटनास्थल पुगे पनि शुक्रबार शव घटनास्थलबाट उठाइएको थियो। अढाइ वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको झझल्को दिने घटना भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर घटनास्थलको अध्ययन गरेको पाइएको छ।

निर्मलाको बलात्कार गरी हत्या भएको घटनामा प्रमाणहरू बचाउन नसकेकाले पत्ता लगाउन जटिल भएको छ।  

शुक्रबार प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखसहितको टोलीका साथै जिल्ला अस्पतालका डा. वसन्त जोशी र सरकारी अधिवक्तासमेत घटनास्थल पुगे। शनिबार डा. जोशीले नै उनको शवको पोस्टमार्टम गरेका हुन्। धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल पुर्‍याइएको थियो। तालिम प्राप्त कुकुरले नै उनको मोबाइल पत्ता लगाएको थियो। मोबाइलको ब्याट्री निकालेर फालिएको अवस्थामा थियो। कापीकिताब शव छेउमा भेटिएका थिए। चप्पल बाटो र शवका बीचमा भेटिएको थियो।  

बाख्रापालन गरेर भागरथीको पढाइ र घरखर्च बेहोरिरहेका बुबाको एक महिनाअघि मात्रै मृत्यु भएको थियो। दुई दिदीको बिहे भइसकेको र दाजु मजदुरीका लागि भारतको दिल्लीमा बस्दै आएकाले घरमा भागरथी र उनकी ५० वर्षीया आमा द्रौपती भट्ट मात्रै थिए। विद्यालय जाने बेला अरू साथी हुने भए पनि व्यवस्थापन विषयकी उनको पढाइ अरूभन्दा चाँडै सकिने भएकाले एक्लै घर फर्कन्थिन्। घरमा आफूसँग भएकी एक मात्र छोरीको अकल्पनीय घटनाले आमाद्रौपती शोकले विक्षिप्त छिन्। पुरै चडेपानी गाउँ शोकमा डुबेको छ। हत्यारालाई कारबाही भए मात्र आत्माले शान्ति पाउने गाउँवासीको भनाइ छ।

मृतक भागरथीकी आमाले हत्यारालाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरेकी छन्। ‘मेरी छोरी अब फर्केर आउने कुरो हुँदैन,’ उनले भनिन्, ‘हत्यारालाई कारबाही नभएसम्म मलाई पनि शान्ति हुँदैन, मेरो छोरीको आत्मालाई पनि शान्ति हुँदैन।’ बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले घटनास्थलमा भेटिएका शंकास्पद सबै वस्तु, प्रमाण संकलन र अध्ययन गरिरहेको बताए। शनिबार साँझसम्म कसैलाई पनि पक्राउ नगरिएको उनले बताए।

भेजाइनल स्वाब संकलन

मृतक किशोरीको भेजाइनल स्वाब संकलन गरिएको छ। पोस्टमार्टमअघि नै शुक्रबार साँझ भेजाइनल स्वाब संकलन गरिएको चिकित्सकले बताएका छन्। यसैगरी अन्य प्रमाणहरू पनि संकलन गरिएको प्रहरीको भनाइ छ।

एसएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन

घटनाको अध्ययनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा सिआइबीका डिएसपीसहितको तीन सदस्यीय प्रहरी टोली पनि खटाइएको नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए। विद्यालय गएकी किशोरीको हत्यारालाई कारबाहीको माग गर्दै बैतडीका स्थानीय तथा विद्यार्थीले प्रदर्शन गरेका छन्। उनीहरूले स्थानीय खोचलेक बजारमा प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरूले महाकाली राजमार्गसमेत बन्द गराएका थिए। प्रदर्शनमा मृतक किशोरी पढ्ने सनातन धर्म सिरकोट माध्यमिक विद्यालयका विद्यार्थीसमेत सहभागी थिए। यसैगरी अस्थायी राजधानी धनगढीमा पनि हत्याको विरोधमा प्रदर्शन भएको थियो।

विद्यालय गएकी किशोरीको बीभत्स हत्या भएको भन्दै घटनाको सुदूरपश्चिमभरिका बासिन्दाले व्यापक विरोध गर्दै कारबाहीको माग गरेका छन्। फेसबुकलगायत सामाजिक सञ्जालमार्फत दोषीलाई कारबाहीको माग गरिएको छ।

न्यायका लागि संघर्ष समिति, आन्दोलन घोषणा

विद्यालयबाट फर्कने क्रममा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको न्यायका लागि आफन्त तथा स्थानीयले संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। शंकरदत्त भट्टको संयोजकत्वमा नौ सदस्यीय संघर्ष समिति गठन गरिएको भट्टले बताए। माघ २५ देखि २७ गतेसम्म दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गर्ने, माघ २८ गते गाउँपालिका कार्यालय बन्द र माघ २९ गते गाउँपालिकाभरि आम हडताल गर्ने कार्यक्रम घोषणा गरिएको उनले बताए। प्रहरी अनुसन्धानलाई असर नपर्नेगरी न्यायका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको उनले बताए।

प्रकाशित: २५ माघ २०७७ ००:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App