७ वैशाख २०८१ शुक्रबार
समाज

यो वर्ष आउला माथिल्लो तामाकोसी ?

उज्यालो

सुरुङभित्रको चार तले ठूलो घर बराबरको क्षेत्रफलमा ट्रान्सफर्मर, जेनेरेटर, स्विच गिएर, भल्बजस्ता ठूल्ठूला उपकरण र मेसिन जडान भइसकेका छन् । विद्युत् गृह सञ्चालनमा आएपछि तिनको सबैखाले जानकारी लिएर नियमन गर्न माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ समेत तयार भइसकेका छन् ।

अब मेसिन तथा उपकरण जडान गर्न केही पनि बाँकी छैन । तामाकोसी नदी नै थुनेर ल्याइने पानी बग्ने ठूल्ठूला पाइप विद्युत् गृहभित्र जोडेर तयार पारिएको छ । त्यही पाइप हुँदै विद्युत् गृह प्रवेश गर्ने पानीले घुमाएर ऊर्जा उत्पादन गर्ने ६ वटै टर्बाइन घुम्न तयारी हालतमा छन् ।

बाँधस्थलबाट सुरुङ र पेनस्टक पाइपमार्फत खसालिएको तामाकोसी नदीको पानीको फोहोराले यी ‘टर्बाइन’ घुमाएपछि त्यसबाट निकालिएको ऊर्जाले नै मुलुकलाई बिजुली दिन्छ ।

पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर सुरु गरिएको यो राष्ट्रिय गौरवको परियोजना १० वर्षमा पनि पूरा नभएको अवस्था छ । समय थपिँदै जाँदा लागत ३५ अर्बबाट बढेर ८० अर्ब रुपैयाँ पुगिसकेको छ ।

तर यी टर्बाइन कहिले घुम्छन् ? अनिश्चित छ । बाँधस्थलबाट सुरुङमार्ग हुँदै ठूल्ठूला पेनस्टक पाइपमार्फत पानी खसाल्ने पेनस्टक पाइप जडान गर्ने जिम्मा पाएको भारतीय ठेकेदारको लापरबाही तगारो बनिदिँदा पाँच वर्षमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको योजना काम सुरु भएको ११औं वर्षमा टेक्न लाग्दा समेत सकिएको छैन । स्वदेशी लगानीको सबैभन्दा ठूलो र राष्ट्रिय गौरवको आयोजना भएका कारण आयोजनाका अधिकारीहरूलाई दबाब उस्तै छ । तर ठेकेदारले काम नगरिदिँदा आयोजना अझै अनिश्चित हुने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।

ढलान गरेर बनाइएको चिल्लो बाटो हुँदै राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको गोंगरस्थित सुरुङ मार्गबाट भूमिगत विद्युत् गृहभित्र प्रवेश गर्दा आयोजनाको सिंगै विद्युत् गृह तयारी हालतमा देखिन्छ । ‘विद्युत् गृहभित्रका सानातिनाबाहेक सबै काम सिध्याइसक्यौं,’ केही साताअघि आयोजनास्थलमा भेटिएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने, ‘बाँधस्थलबाट ल्याइएको पानी यहाँ खसालेपछि ६ वटै टर्बाइन घुमाएर बिजुली बालेर यी ट्रान्सफर्मरबाट बाहिर निकाली ट्रान्समिसन लाइनमार्फत खिम्ती पुर्‍याउन सबै पूर्वाधार प्रायः तयार पारिसकेका छौं ।’

दोलखाको लामाबगरमा निर्माण हुँदै गरेको स्वदेशी लगानीको सबैभन्दा ठूलो यो आयोजनाको भूमिगत ‘पावरहाउस’ पानी आएर टर्बाइन घुमाउने अनि बिजुली उत्पादन गर्ने व्यग्र प्रतीक्षामा छ । यसमा पानी ल्याउने बाँधस्थलमा समेत प्रायः कामहरू सकिएका छन् । ट्रान्मिसन लाइनका झिनामसिनाबाहेक काम बाँकी छैनन् ।

बाँधस्थल, ‘पावर हाउस’ र ट्रान्समिसन लाइनका सबै काम सकिएर आयोजना नै अन्तिम चरणमा पुगिरहँदा बाँधस्थलबाट विद्युत् गृहसम्म पानी लैजान खनिएको आठ किलोमिटर सुरुङमार्गको ७ सय ८३ मिटर खण्डमा पाइप राख्ने काम आयोजनाका लागि ठूलै तगारो बनिदिएको छ । पाइप जडानका कामले गति लिन नसक्दा सिंगै आयोजनालाई पछि धकेल्यो । ठेकेदार कम्पनीमार्फत काम नहुने देखेपछि आयोजनाले यो खण्डमा पाइपको डिजाइन नै परिवर्तन गरिदिएको छ । भारतबाट ठेकेदारले ल्याउन नसकेका कारण ‘एक्सपान्सन जोइन्ट पाइप’ राखिने ठाउँमा वैकल्पिक पाइप राखेर बाँधस्थलको पानी विद्युत् गृहमा खसाल्नेगरी डिजाइन नै परिवर्तन गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सुनाए । ‘परामर्शदाता र विज्ञहरूको रायपछि एक्सपान्सन जोइन्टलाई परिवर्तन गरेर वैकल्पिक पाइपको डिजाइन बनाएका छौं,’ उनले भने, ‘अब तामाकोसीमा ऊर्जा उत्पादन छिट्टै हुनेछ ।’

२०५४ सालमा अस्ट्रियन नागरिक त्रिस्चियन उल्हरले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सस्तोमा निर्माण हुन सक्ने भनेर पत्ता लगाएपछि विद्युत् प्राधिकरणले यो आयोजनामा हात हालेको थियो । पानी नचुहिने खालको बलियो प्राकृतिक बाँध रहेका कारण सस्तोमा निर्माण हुन सक्ने यो परियोजना स्वदेशी लगानीमा बनाउने प्रस्ताव आयो । आफ्नै लगानीबाट यति ठूलो परियोजना सम्पन्न गर्न नसकिने भन्दै तत्कालीन सरकारका मन्त्रीहरू यो परियोजनाबाट हच्किएका थिए ।

तर पनि स्वदेशी पुँजीबाटै पहिलोपटक नेपाल आफैंले यति ठूलो आयोजना बनाई छाड्ने अठोट तत्कालीन अधिकारीहरूले राखेर यो आयोजनालाई अघि बढाए । २०६३ सालमा कम्पनी बनाएर अघि बढाइएको हालसम्मकै नेपाली लगानीबाट निर्माणाधीन सबैभन्दा ठूलो आयोजनामा पछि राष्ट्रिय स्तरका ठूला लगानीकर्ताहरूबाट धमाधम लगानी जुट्न थाल्यो । ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर संरचनामा निर्माण हुँदै गरेको माथिल्लो तामाकोसीमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २/२ अर्ब, नेपाल सरकारको ११ अर्ब ऋण लगानी छ । ऋण लगानीकर्ता, तिनमा कार्यरत कर्मचारी, सञ्चय कोषका सञ्चयकर्ता, देशभरका सर्वसाधरण र दोलखावासीको गरेर आयोजनामा करिब ५ अर्ब रुपैयाँ सेयर छ ।  

२०६७ भदौमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेर सुरु गरेको यो आयोजना २०७३ असारमा सम्पन्न हुने सुरुवाती लक्ष्य राखिएको थियो । तर भूकम्प र नाकाबन्दीले आयोजनालाई दुई वर्षपछि धकेलिदियो । भूकम्प र नाकाबन्दी सहेको आयोजना अर्को एउटा तगारोमा फस्न पुग्यो, ‘पाइप जडान’ । लामाबगर गाउँमा निर्माण भएको आयोजनाको बाँधस्थलबाट आठ किलोमिटर लामो सुरुङैसुरुङ विद्युत् गृहसम्म तामाकोसी नदीको पानी खसालिँदैछ । आयोजनाको मुख्य भनिएको यो सुरुङमार्ग तीन वर्षअघि नै खनिसकिएको थियो ।

पानी खसालिने यो सुरुङको दुईवटा स्थानमा ९० डिग्रीको ठाडो सुरुङ पर्छ । ३ सय १० र ३ सय ७३ मिटरका यी दुई ठाडो सुरुङमा पानी सजिलो गरी खसेर विद्युत् गृहतर्फ जाओस् र सिंगै नदी ठाडो सुरुङभित्र खस्दा सुरुङको बनोटलाई नोक्सानी नपुर्‍याओस् भनेर यी दुई स्थानमा स्टिलका ठूल्ठूला पाइप जडान गरिनेछ, जसलाई ‘पेनस्टक’ भनिन्छ ।

सिंगै आयोजनाका ठूल्ठूला काम सकिँदा दुवैतर्फको ठाडो यी दुई सुरुङमा पाइप जडानमा ठेकेदार कम्पनीले ढिलाइ गर्दा तामाकोसी आयोजना नराम्ररी प्रभावित बन्न पुग्यो । २०६७ भदौबाट सुरु भएको आयोजना सुरुमा २०७३ असारमा सकिने भनिएको थियो । तर भूकम्प र नाकाबन्दीका कारण आयोजना दुई वर्षपछि धकेलिदियो । भूकम्पले बाटोको नामोनिसान मेटाइदिएका कारण आयोजनालाई बाँधस्थल लामाबगरसम्म नयाँ सुरुङमार्ग र सडक बनाएर छिचोल्न दुई वर्ष लागेको थियो ।

त्यसपछि आयोजनाका अधिकारीहरूले २०७५ असोजमा बिजुली उत्पादन गर्ने घोषणा गरे । त्यही पाइप जडानसहित हाइड्रोमेकानिकलतर्फको ठेक्का पाएको भारतीय कम्पनी टेक्स म्याकोले पाइप ढुवानी र जडानमा ढिलाइ गरेका कारण आयोजना फेरि पछाडि धकेलिएको हो । अप्ठेरो भूगोल र देशकै सबैभन्दा लामो ठाडो सुरुङमा पाइप जडानको काम भएकाले टेक्स म्याकोले कामको गति सुस्त पारेपछि आयोजनालाई नै अप्ठेरो पर्ने स्थिति आएको भन्दै सरकारले पाइप जडानको काम आयोजनामै इलेक्ट्रोमेकानिकलतर्फ कार्यरत अर्को विदेशी ठेकेदार एन्ड्रिज हाइड्रो र भारतीय टेक्स म्याकोलाई बाँडेर सहमतिमा दिने निर्णय गराएको थियो । अस्ट्रियन ठेकेदारले काम त ग¥यो तर भारतीय टेक्स म्याकोले फेरि काममा ढिलाइ गरिदियो । भारतमा बनाउनुपर्ने ठूल्ठूला पाइप आयोजनाको डिजाइनअनुसार बनाउन नसकेपछि आयोजनाका अधिकारी र परामर्शदाता कम्पनीले भारतीय ठेकेदारको भर नपर्ने निर्णय लियो र डिजाइन नै परिवर्तन गरिदियो ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार पुरानो डिजाइन संशोधन गरिएको ठाउँमा जडान गर्न भारतीय कम्पनीले अब दुईवटा पाइप लिएर आउनेछ । ‘टेक्स म्याकोले अबको एक साताभित्र ती पाइप ल्याइसक्ने वचन दिएको छ,’ उनले भने, ‘प्रतिबद्धताअनुसार आइपुगेछ भने त्यसपछि जडान गर्छौं, जडानलाई समय लाग्छ ।’

न्यौपानेले ठेकेदारको काम र समयसीमामा कुनै बाधाअवरोध आइनपरे नयाँ वर्षअगाडि ६ वटा युनिट (टर्बाइन) मध्ये एउटा मात्रै भए पनि चलाउने तयारीमा आयोजना रहेको सुनाए । ‘६ वटामध्ये एउटा मात्रै टर्बाइन घुमाएर भए पनि २०७८ वैशाख १ गतेअगावै तामाकोसीबाट बिजुली दिन सुरु गर्ने तयारीका साथ लागेका छौं,’ उनले भने । संशोधित डिजाइनअनुसारको काम सके त त्यसपछि सानातिना काम मात्र बाँकी रहनेछन् । सिंगटीमा ट्रान्समिसन लाइनको एउटा टावरको काम चलिरहेको छ । ‘पाइपको काम सिध्याउन पाए अन्य त झिनामसिना र रहेलपहेल काम मात्र बाँकी हुन्थे,’ उनले भने ।

३५ अर्बको आयोजना बढेर ८० अर्ब

३५ अर्ब अनुमान गरिएको आयोजनाको लागत बढेर ८० अर्ब पुग्ने भएको छ । भूकम्प र नाकाबन्दीको असरले आयोजनाको लागत ३५ बाट ४९ अर्ब पुगेको थियो । हालसम्म ५२ अर्ब खर्च भइसकेको छ । आयोजनाका अधिकारीहरूका अनुसार बाँकी रकम लगानीकर्ताहरूबाटै जुटाइएको छ । ५२ अर्बको ब्याज मात्रै २७ अर्ब ५० करोड लागेको छ । ब्याजसहित आयोजनाको लागत ८० अर्ब पुगेको अधिकारीहरूले बताएका छन् । ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयरबाट बनेको आयोजनाको ठूलो स्वदेशी पुँजी जुटाएर बनाइएको नेपाली लगानीको देशकै पहिलो र ठूलो माथिल्लो तामाकोसी आयोजनाको पाइप जडानकै कामको ढिलाइले ऋणको ब्याज र आम्दानीसमेत गरेर दैनिक ४ करोड घाटा बेहोरिरहेको छ ।

‘बाँध पूरा भयो’

तिब्बती सिमाबाट बगेर आउने तामाकोसी नदीलाई लामाबगरमा बाँध बाँधेर १२ लाख घनमिटर पानी अटाउने जलाशयका लागि सबै पूर्वाधार तयार भइसकेको छ । प्राकृतिक बाँधलाई लामाबगरमा ६० मिटर लम्बाइको बाँधेर चारवटा रेडियल गेटहरू राखिसकिएको छ । अब यी गेटहरू हाइड्रोलिक प्रविधिले बन्द गरेलगत्तै दुई किलोमिटर क्षेत्रसम्म फैलिने आयोजनाको जलाशयमा १२ लाख घनमिटर पानी भरिनेछ । पानी जाने इन्टेक ब्लक निर्माण भइसकेका छन् । २२ मिटर अग्लो यो बाँधबाट सञ्चित हुने पानी सबैभन्दा सुक्खायाममा पनि चार घन्टाभन्दा बढी पूर्ण क्षमतामा चलाउन सकिने कारण यो आयोजनालाई देशकै आकर्षक भनिने गरिएको छ । बालुवा थिग्राउने पोखरी र कन्ट्रोल रुमसमेत तयार भइसकेको छ ।  

‘पावर हाउस पनि सकियो’

आयोजनाको भूमिगत विद्युत् गृहभित्रका काम पनि सानातिनाबाहेक सबै सकिएका छन् । लामाबगरको गोंगरखोलाभित्र सुरुङमार्गबाट पुगिने आयोजनाको भूमिगत विद्युत् गृहभित्र जाने मार्ग ढलान गरेर चिल्लो पारिएको छ । दायाँबायाँ बत्ती जडानदेखि विद्युत् गृह स्थललाई सुविधायुक्त बनाउन सानाभन्दा साना कामहरूसमेत सकिएको छ । आयोजनाका प्रवक्ता न्यौपानेका अनुसार विद्युत् गृहभित्र आवश्यक सबै मेसिन तथा ठूला उपकरणहरू जडान भइसकेका छन् । आयोजनाका अधिकारीहरूका अनुसार पावर हाउसभित्रको काम सकिएका कारण यो आयोजनामा कार्यरत ठेकेदार कम्पनीहरूले विद्युत् गृहभित्रका कर्मचारी कटौती गरेका छन् । आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र ट्रन्समिसन लाइन गरेर चारवटै जिम्मेवारी पाएका ठेकेदार कम्पनीहरूले विद्युत् गृहभित्र सामन्य रेखदेख गर्ने कर्मचारी मात्र राखेका छन् ।

प्रसारण लाइन करिबकरिब पूरा

लामाबगरको गोंगरखोलामा रहेको विद्युत्गृहबाट उत्पादित बिजुली लैजान बनाइएको आयोजनाको प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा छ । भारतीय कम्पनी केइसी इन्टरनेसनलले गरिरहेको गोंगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो प्रसारण लाइनमा रहने १ सय २७ वटा टावरहरूमध्ये प्रायः सकिएको छ । सिंगटीमा भाँचिएको एउटा टावर ठड्याउन बाँकी रहेको छ । खिम्तीमा बनिरहेको सवस्टेशन अन्तिम चरणमा छ ।

प्रकाशित: २१ माघ २०७७ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App