कोशी प्रदेशका तीनवटा जिल्लामा गत चैतदेखि फैलिएको बड्फ्लुका कारण तीन लाख भन्दाबढी हाँस, कुखुरालगायतका घरपालुवा पंक्षी नष्ट भएको छ । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका विभिन्न पोल्टी फर्ममा बड्फ्लु संक्रमण हुँदा ३ लाख बढी घरपालुवा पंक्षी मरेर नष्ट भएको हो ।
तीन वटा जिल्लामा हालसम्म ३६ वटा फर्ममा बर्डफ्लू संक्रमण पुष्टी भएको पशुपंछी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । प्रारम्भिक विवरण अनुसार बर्डफ्लू संक्रमणका कारण ३ लाख बढी घरपालुवा पंक्षी मरेको निर्देशनालयका सूचना अधिकारी विनोद कुमार साहले जानकारी दिए । साहका अनुसार पंक्षीसँगै दाना, चल्ला, अण्डा पनि ठूलो संख्यामा नष्ट भएको छ । जसका कारण किसानले करोडौं रुपैयाँको नोक्सानी वेहोर्नु परेको छ ।
किसानलाई भएको नोक्सानीको बिबरण संकलनको काम जारी रहेको साहले बताए । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी मत्यविकास अधिकृत शितल भट्टराईका अनुसार झापाका ४ वटा फर्ममा बर्डफ्लू पुष्टि भएको छ । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका विभिन्न फोल्टीफर्ममा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । बर्डफ्लू संक्रमणका कारण २० हजार भन्दा बढी कुखुरा नष्ट भएका छन् । यस्तै दाना, चल्ला, अण्डा लगायत ठूलो मात्रामा नष्ट हुँदा किसानलाई धेरै नौक्सान भएको छ । किसानलाई भएको क्षतिको मूल्यांकन हुन बाँकी रहेको भट्टराईले जानकारी दिइन् ।
भेटरिनरी अस्पताल तथा पशुपंक्षी विज्ञ केन्द्र मोरङका अनुसार मोरङमा हाल सम्म ९ वटा फर्ममा संक्रमण पुष्टि भएको छ । सुन्दरहरैंचा, उर्लावारी, रंगेली, कटहरी, विराटनगर, ग्रामथानलगायतका स्थानिय तहहरूका विभिन्न स्थानका पोल्टी फर्महरूमा बर्डफ्लू संक्रमण हुँदा १ लाख बढी कुखुरा नष्ट भएका छन् । यस्तै सुनसरीमा सबै भन्दा बढी २१ वटा फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । सुनसरीका केही फर्ममा कुखुरा नष्ट गर्ने काम जारी रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका सूचना अधिकारी धिरेन्द्र प्रताप ठाकुरले जानकारी दिए । उनका अनुसार संक्रमण देखिएका २० वटा फर्मका १ लाख १४ हजार भन्दा बढी घरपालुवा पंक्षी नष्ट भएको छ । जसमा वोइलर, लेयर्स, टर्की, गिरिराज,हाँस लगायत रहेका छन् । एउटा फर्मको नष्ट गर्ने काम जारी रहेकाले बिबरण आउन बाँकी रहेको ठाकुरले बताए ।
सुनसरीको इटहरी उपमहानगर पालिका क्षेत्रमा सबै भन्दा धेरै नोक्सान भएको छ । इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका १६ वटा फर्ममा संक्रमण देखिएको छ । यस्तै इनरुवा नगरपालिका, दुहवी नगरपालिका, गढी गाउँपालिका लगायतका पालिकाहरूमा पनि बर्डफ्लू संक्रमण फैलिएको ठाकुरले जानकारी दिए । यस्तै झपा, मोरङ र सुनसरीका विभिन्न फर्मको नमुना परिक्षणका क्रममा नरम खालको एन ५ भाइरस पनि पुष्टि भएको छ । जुन भाइरसको संक्रमणका कारण पनि ठूलो संख्यामा घरपालुवा पंक्षी मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रहरूले जनाएका छन् ।
प्रकाशित: १२ वैशाख २०८३ १७:४० शनिबार





