पश्चिम चितवन स्थित अमृतनगरकी लक्ष्मी रानाभाट व्यवसायीक कृषक हुन्। यतिखेर रानाभाटको १२ विगाहा क्षेत्रफलमा काँक्रो, बोडी, चिचिन्डो, करेला लगायतका तरकारी छन्। तर यति बेला तरकारी नबिकेर उनी चिन्तित छन्।
‘राम्रो मूल्य पार्ने आसमा यस पटक काँक्रा, बोडी, करेला उत्पादन गरियो। अहिले पाँच रुपैयाँ किलोमा पनि बिक्दैन,’ बारीमा फालिएका करेला देखाउँदै रानाभाटले भनिन्, ‘उत्पादन गरेर बारीमा नै कुहाएर फाल्नुपर्छ।’
उनले व्यवसायीक रूपमा खेती गर्न थालेको २० वर्ष पुग्यो। जग्गा भाडामा लिएर तरकारी खेती गरेकी हुन्। यस वर्ष लहरे बाली जातका तरकारी नबिकेर लगानी पुरै खेर गएको उनी बताउँछिन्।
‘अहिले काक्रा बिक्री नै भएको छैन। करेला, लौका र बोडी प्रतिकेजी पाँच रुपैयाँमा लैजान पनि मान्दैनन्,’ उनी भन्छिन् ‘मूल्य नपाएपछि लगानी पनि उठ्दैन।’ प्रत्येक वर्ष तरकारी खेती गर्दा प्रयोग हुने विषादी, बिउ, मिल्चङका सामान वृद्धि भइरहे पनि किसानको मेहनत अनुसारको मूल्य नपरेको उनले बताइन्।
तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्। भरतपुर महानगरपालिका २५ स्थित अमृतनगरकी सुमिना थापा २ बिघामा तरकारी खेती गर्छिन्। यतिखेर काँक्रो, बोडी निस्किएको छ। बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताइन्।
‘दश कट्ठामा बोडी लगाएकी थिए। ४ रुपैयाँ केजी पनि नलगेर हिजो टिपेको १० बोरा बोडी घरमा छ,’ उनले भनिन् ‘काँक्रो त बिक्री नभएर बारीमै सुकिरहेको छ।’ उनले चार कट्ठामा काँक्रो लगाएकी थिइन्। यस पटक उनले दुई लाख रुपैयाँ लगानी गरेर तरकारी खेती गरेकी थिइन्। तरकारी बिक्री नभएपछि थापा खेतालाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा छिन्।
वैशाख ४ गतेसम्म किसानले तरकारीको मूल्य राम्रै पाएका थिए। त्यतिखेर करेला प्रतिकेजी ६०, काँक्रो ४० र बोडी ४० रुपैयाँमा बिक्री भएको थियो। तर पछिल्लो समयमा तरकारीको मूल्य ह्वात्तै घटेर बिक्री गर्न सकेका छैनन्। तरकारी बिक्री नभएपछि किसानले सङ्घर्ष समिति समेत बनाएका छन्। सङ्घर्ष समितिका संयोजक ईश्वरी प्रसाद न्यौपानेले उत्पादन वृद्धि नभएको अवस्थामा पनि तरकारी बेच्न कठिन भएको बताए।
‘तीन दिनको अन्तरालमा तरकारीको मूल्य ह्वात्तै घटेको छ। तर हाम्रो उत्पादन बढेको छैन। बजारमा तरकारी बिक्री पनि भइरहेको छ,’ उनले भने ‘बिचमा कालोबजारी गर्ने व्यक्तिहरूले नै मूल्यमा गिरावट बनाएका छन्।’
उपभोक्ताले भने बजारमा चर्को मूल्य तिरेर तरकारी उपभोग गरिरहेको उनले बताए। ‘हाम्रो उत्पादन बढी भएको प्रत्याभूति पनि हामीसँग छैन। हामीले ५ रुपैयाँमा बिक्री गर्न नसकेको करेला बजारमा उपभोक्ताले १२० रुपैयाँ तिरेर उपभोग गरिरहेका छन्’ उनले सरकारलाई प्रश्न गर्दै भने ‘किसान र उपभोक्ता बिचको दुरी किन यति धेरै अन्तर भयो।’
अहिले तरकारी उठाउने ठेकेदारले किसानसँग बढीको बिल बनाएर लैजाने समेत गरेको उनले बताए। ‘किसान र उपभोक्ताको मूल्यमा अन्तर थोरै देखियोस् भनेर बिल बढीको बनाएर लगेको पनि पाएका छौँ,’ न्यौपानेले भने ‘किसानले आफ्नो तरकारी फाल्न भन्दा जे गरे पनि हस् भन्ने स्थिति बाहेक अरू विकल्प छैन।’
पश्चिम चितवन तरकारी खेतीका रूपमा प्रख्यात छ। यसलाई समेटेर तरकारीको जोन क्षेत्र समेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले करेला मात्रै ४० विगाहामा उत्पादन भएको छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी, पोखरा, हेटौँडा, बुटवल, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ।
यतिखेर किसानले लहरे बालीका रूपमा काँक्रा, बोडी, लौका, चिचिन्डा लगायतका तरकारी उत्पादन गरेका छन्। यद्यपि उनीहरूले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनका प्रमुख महेश रेग्मी बताउँछन्। ‘टमाटर, भेन्टा र खुर्सानी लगाउने किसानले मूल्य पाए। अन्य तरकारी लगाउने किसानले मूल्य नै नपाएको अवस्था छ,’–उनले भने।
किसानले मूल्य नपाए पनि उपभोक्ताले भने महँगोमा तरकारी उपभोग गर्न बाध्य रहेको उनले बताए। ‘अहिले उपभोक्ताले खाने बेलामा महँगोमा किन्नु परेको छ,’ उनले भने ‘किसान र उपभोक्ता बिचको दुरीलाई निराकरण गरी किसानको लगानी उठाउने वातावरण बनाउन सरकार लाग्न आवश्यक छ।’
प्रकाशित: १२ वैशाख २०८३ १७:४८ शनिबार





