मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका वडा–७, सांङ्लेखोला फुटुङका बासिन्दाले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु रोग (एच५एन८ भाइरस) भेटिएको विभागका प्रवक्ता चन्द्र ढकालले बताए । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । ‘जनस्वास्थ्यका दृष्टिकोणले पनि जोखिम रहेको बर्डफ्लु पन्छीमा भेटिएको छ,’ ढकालले भने, ‘बर्डफ्लु भेटिएका ठाउँका कुखुरालगायत पन्छी नष्ट गरेका छौं ।’
पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्ध, सतर्कता अपनाउन आग्रह
विगतमा नेपालमा देखिएको एच५एन१ भाइरसभन्दा अहिलेको भाइरस केही फरक प्रकृतिको रहेको विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएका क्षेत्रका एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्की र तिनका अण्डा तथा दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरिएको विभागले जनाएको छ ।
भारतका विभिन्न प्रदेशमा देखिएको यो रोग नेपालमा कसरी भित्रियो भन्ने अनुसन्धान भैरहेको विभागले जनाएको छ । ‘बर्डफ्लु पन्छीबाट मानवमा सर्ने भएकाले उच्च सर्तकता अपनाएका छौं,’ ढकालले भने, ‘रोग नियन्त्रणका लागि सरकारी संयन्त्र परिचलान भएको छ ।’ यो रोगको नेपालमा जोखिम बढेको विभागले जनाएको छ । जोखिमलाई ध्यानमा राखेर रोगको रोकथाम तथा नियन्त्रण गर्न सबै निकायलाई सतर्क हुन सरकारले आग्रह गरेको छ ।
भारतबाट रोग सार्न सक्ने पन्छीजन्य वस्तुको आयातमा सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ । ‘यहाँ देखएिको बर्डफ्लु भारतमा देखिएको भाइरससँग मिल्छ,’ ढकालले भने, ‘भारतबाट रोग भित्रिन नपाओस् भनेर पन्छीजन्य वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएका छौं ।’
यो रोगको सघन निगरानी गरिएको पनि विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिन तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्ध्ति निकायलाई परिचलान गर्ने निर्णय सरकारले गरेको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र लिन निर्देशन दिइएको छ । किसानका फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन, फार्म परिसरमा नियमित रुपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा सूचना दिन पनि सरकारले भनेको छ ।
बर्डफ्लु छिमेकी मुलुक भारतको मध्य प्रदेश, राजस्थान केरला, र हिमाञ्चल प्रदेशमा देखिएको छ । नेपाल–भारत खुला सीमाका कारण भारतबाट यो रोग भित्रिएको अनुमान गरिएको छ । नेपाल कुखुराको मासु, अन्डालगायतमा आत्मनिर्भर भए पनि चल्ला र दाना विदेशबाट आयात हुन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रण गर्न उच्च सतर्कता अपनाउँदै माताहतका पशु क्वारेन्टाइन कार्यालयलाई यसअघि नै निर्देशन दिएको भए पनि रोग देखिएको छ । काँकडभिट्टा, विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज, गड्डाचौकीलगायत पशु क्वारेन्टाइन नाकामा सतर्कता अपनाउन अघिल्लो महिना नै सरकारले निर्देशन दिएको थियो ।
बर्डफ्लु नियन्त्रण आदेश, २०६४ अनुसार विदेशबाट आयात गरिएका पन्छीमा संक्रमण देखिए नष्ट गर्ने व्यवस्था छ । जोखिम देखिए सरकारी अधिकारीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ११ को अधिकार प्रयोग गरेर पन्छीजन्य तथा मासुजन्य वस्तुको आयातमा रोक लगाउन सक्छन् । दुई वर्षअघि पनि मुलुकका विभिन्न ठाउँमा बर्डफ्लु देखिएको थियो ।
बर्डफ्लु के हो ?
बर्डफ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । अहिले देखिएको बर्डफ्लु भाइरस एच५एन८ हो । विगतमा नेपालमा हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एच५एन१ भेटिएको थियो ।
बर्डफ्लु कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गीलगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो जतिबेला जहाँ पनि फैलिन सक्ने विज्ञ बताउँछन् । यो रोग मानिसमा पनि सर्न सक्छ । खोकीको संक्रमण जस्तै हो बर्डफ्लु । जसले कुखुरा तथा पन्छीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्डफ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने विज्ञ बताउँछन् । अत्यन्त द्रुत गतिमा फैलिने र ज्यान लिनसक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोगका रुपमा लिइन्छ । कुखुराको मासु ७२ डिग्री सेन्टिग्रेटभन्दा माथिको तापक्रममा पकाए भाइरस नष्ट हुने चिकित्सक बताउँछन् ।
प्रकाशित: १८ माघ २०७७ ००:४६ आइतबार