१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

चोरी आरोपमा चौथो पटक पक्राउ परे खोटाङका ‘पटके’

दाहालको घरैबाट चोरी गरेको मोटरसाइकल र पक्राउ प्रधान ।

विगतमा तीन पटक छुटाछुट्टै चोरी आरोपमा पक्राउ परेर छुटेका खोटाङका २६ वर्षीय अर्जुन प्रधान ‘पटके’ चोरी आरोपमै पुन: पक्राउ परेका छन्।

उनलाई पछिल्लो पटक उदयपुरको सदरमुकाम गाईघाटबाट मोटरसाइकल चोरी आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार ५ दिनअघि त्रियुगा नगरपालिका-१२ स्थित सोनापुरबाट हराएको मोटरसाइकल चोरी आरोपमा उनी पक्राउ परेका हुन्।

स्थानीय नारायण दाहालको घरमै पार्किङ गरी राखेकाे १–०५–००१ प २४६० नं. को पल्सर मोटरसाइकल चाेरीभएपछि खोजी गर्ने क्रममा त्रियुगा-११ गाईघाटस्थित इनारचोककाे एक मोटरसाइकल ग्यारेजमा ३ दिनपछि फेला परेको थियो। प्रधान पनि मोटरसाइकलसँगै पक्राउ परेका हुन्।

खोटाङको दिक्तेल मझुवागढी नगरपालिका-१७ का स्थायी बासिन्दा रहेका प्रधान पक्राउपछि अनुसन्धानका क्रममा पटकपटक चोरी कार्यमा संलग्न भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनी विगतमा ३ पटकसम्म चोरी कार्यमा संलग्न रहेको खोटाङ र उदयपुर प्रहरीबाट खुलेको प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले जानकारी दिए।

खोटाङ प्रहरीलाई उद्धृत गर्दै चापागाईले बताए अनुसार प्रधान पहिलो पटक ०७७ साउन ११ गते खसी चोरेको कसुरमा पक्राउ परेका थिए।

त्यसैगरी ०७८ साउन ४ गते पसल चोरी गरेको आरोपमा पक्राउ परेर छुटेका उनी ०७८ साउन १९ गते ९९ हजार नगद चोरीको आरोपमा पनि पक्राउ परेको पाइएको छ।

यसअघिका चोरी कार्यमा संलग्न भई प्रहरी हिरासत बस्नुका साथै दण्ड जरिवानासमेत तिरिसकेका उनी अहिले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रधानलाई जिल्ला अदालतबाट ६ दिनको म्याद लिई थप अनुसन्धान सुरु भइरहेको डिएसपी चापागाईले बताएका छन्।

प्रकाशित: १४ जेष्ठ २०८१ १८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App