१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदीय छानबिन विशेष समिति गठन, कार्यादेशमा गोरखा मिडियाको नामै उल्लेख

सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको हो।

मंगलबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा रहेको कार्यदलले चार बुँदे टिओआर तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको हाे।

अब संसदीय समिति ७ सदस्यीय रहने पनि कार्यदलले टुङ्ग्याएको छ। जसको कार्यविधि तीन महिना तोकिएको छ।

टीओआरमा संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरूको भूमिकाको अध्ययन गर्ने जस्ता विषय रहेको छ।

योसँगै संसदीय गतिरोध समेत अन्त्य भएको छ। सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन हुनु पर्ने माग गर्दै कांग्रेससहितका प्रतिपक्षी दलले लामो समयदेखि सदन अवरुद्ध पार्दै आएका थिए।

उनीहरुको नाराबाजीका बीच सरकारले सदनबाट नीति तथा कार्यक्रम पारित गराएको थियो भने अन्य कार्यसूचीसमेत अघि बढाएको थियो।

मंगलबारको सहमतिपछि सरकारलाई सहजरुपमा आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुलेको छ। बजेट अपराह्न ३ बजे सार्वजनिक गर्नै तयारी सरकारको छ।

यस्ता छन् टिओआरमा समेटिएका विषयहरू: 

१. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

२. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।

३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने।

४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुर्‍याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने।

प्रकाशित: १५ जेष्ठ २०८१ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App