२ असार २०८१ आइतबार
image/svg+xml
समाज

ऋण तिर्न ज्यालादारी काम गर्दै साना व्यापारी

साना लगानीको व्यापार बन्द गराएर सडकमा काम गर्न आएका महिलाहरू । तस्बिरः गणेश/नागरिक

घरमा आर्थिक भार दिन प्रतिदिन बढ्दै गएपछि सुर्खेतस्थित वीरेन्द्रनगर–१, सोलीघोप्टेकी नन्दकला आचार्य (४२) ले सानो लगानीमा खुद्रा पसल सुरु गरिन्। व्यापार फस्टाउँदै जाँदा नन्दकला फुरुङ्ग हुँदै सोहीअनुसार सपना पनि बुन्दै थिइन्। दुई छोरी र एक छोराकी आमा उनले छोराछोरीलाई उच्च शिक्षा पढाउने सपना बुनेका थिइन्। तर विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण भएको लकडाउन र बेलाबेलाको निषेधाज्ञाले पसल सुरु गरेको हप्तादिन मै पसल बन्द गर्नुपर्यो।

लकडाउनका कारण एकातिर घर खर्च बढ्दै थियो भने अर्काेतिर सन्तानलाई उच्च शिक्षा दिन बुनेको सपना टुट्दै थियो।

करिब ६/सात महिनापछि लकडाउन खुकुलो भयो। उनले पुनः व्यापार सुरु गरिन् तर अपेक्षाअनुसार चलेन। आफूले बुनेका सपना साकार पार्न उनी व्यापार बन्द गरेर ज्यालादारी काम गर्न सडकमा आइन्। ‘व्यापार सुरु गर्दा ज्यालादारी काम गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने मैले सोचेको थिइन्,’ उनले भनिन्। व्यापार घाटा हुँदा ज्यालादारी काम गर्न बाध्य भएको उनले बताइन्। ‘एक/दुई दिन भए पनि व्यापार राम्रो चलेको थियो। लकडाउनले बन्द गरायो,’ उनले भनिन्, ‘त्यतिबेलाको घाटा उठाउन सडकमा काम गर्न थालेँ।’ उनीजस्तै सोही गाउँकी दुर्गा रिजालको पनि उस्तै पीडा छ।

फस्टाउन लागेको व्यापार लडकडाउनले बन्द गराएपछि घाटा व्यहोरेकी उनी पनि अहिले मजदुरी गर्न थालेकी छिन्। लकडाउनले साना व्यापारलाई नराम्ररी प्रभावित पारेपछि उनीहरू मात्र होइन केही साना व्यापारी पसल बन्द गरेर ज्याला मजदुरी काम गर्न थालेका छन्। ‘पसल भर्खरै फस्टाउँदै थियो। लकडाउनले बन्द भयो,’ दुर्गाले भनिन्, ‘अहिले पसलहरु खुले पनि मान्छेहरु आउँदैनन्। त्यसैले व्यापार छैन।’ ऋण गरेर सुरु गरेको पसलको ऋण तिर्नै मुस्किल भएपछि मजदुरी गर्न थालेको उनको भनाइ छ। कोरोनाको त्रास घट्दै जाँदा व्यापार व्यवसाय खुले पनि व्यापार पहिलेकै स्थितिमा फर्किन सकेको छैन। जसले साना व्यापारी ठूलो मारमा परेका छन्।

‘पसलबाट दैनिक चार/पाँच सय आम्दानी हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले फाइदा त परकै कुरा हो व्यापारसमेत पाँच सयको हुँदैन।’ अहिले दैनिक ६ सय रुपैयाँमा दैनिक ज्यालादारी काम गरिरहेको दिलमाया शर्माले बताइन्। ‘दैनिकजसो काम पनि पाइन्न,’ उनी भन्छिन्, ‘लकडाउनले व्यापार चौपट बनाउँदा समस्या भएको छ।’ पसलभन्दा ज्यालादारीमा फाइदा धेरै हुने भए पनि पसलमा सजिलो हुने साना व्यवसायीहरु बताउँछन्।

पसल चलाउँदै घरको काम गर्न सकिन्थ्यो भन्दै उनले भनिन्, ‘ज्यालादारीमा त बिहान ९ बजेदेखि साँझ चार/पाँच बजेसम्म काम गर्नु पर्दा दुःख छ।’ ऋण तिरेपछि पहिलकै व्यवसायलाई अगाडि बढाउने उनीहरुको भनाइ छ। कोरोना भाइरसले प्रभावित बनेका साना व्यापारीका लागि सरकारले विशेष प्याकेज नल्याउँदा झन् व्यापार धरासयी भएको साना व्यापारीहरु बताउँछन्।

उनीहरू साना व्यापारीलाई सहुलियत ऋण र सामान ढुवानीमा समेत सहुलियत भएको भए केही राहत हुने बताएका छन्।

प्रकाशित: २१ पुस २०७७ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App