१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

खुल्यो विश्व शान्ति स्तुप

पोखराको विश्व शान्ति स्तुप । कोरोनाका कारण चैतदेखि बन्द रहेको शान्ति स्तुप आइतबारदेखि पर्यटकका लागि खुला गरिएको छ । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस महामारिका कारण गत चैतदेखि बन्द रहेको पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप आइतबारदेखि पर्यटकका लागि खुला गरिएको छ । फेवातालमाथिको उक्त स्तुप नखुल्दा पोखरा आएका पर्यटक घुम्न जान पाएका थिएनन् ।  

शनिबार विशेष पुजा गरेर आइतबारदेखि मन्दिर प्रवेश खुला गरेको विश्वशान्ति स्तुप समितिले बताएको छ । समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यका अनुसार कोरोना भाइरस संक्रमणका कारणले गरिएको लकडाउनसँगै शान्ति स्तुपमा आउजाउ बन्द रहेकोमा आइतबारदेखि खुला गरिएको छ ।  

‘लकडाउन सुरु भएपछि शान्तिस्तुप बन्द भएको थियो । नौ महिना पछि खुला ग¥यौ,’ बुद्धाचार्यले भने, ‘शान्ति स्तुप खुलाउन चारैतिरबाट दवाव थियो । पोखराका पर्यटन व्यवसायी सहित घुम्न आउने पर्यटकले पनि स्तुपसम्म जान पाउनका लागि दवाव दिएका थिए । तर, सबैतिरका मठमन्दिर बन्द रहेकोले हामीले पनि ताला लगाएका हौ । तर, अब सबैतिरका खुलिसकेका छन्, हामीले पनि खुलायौं ।’  

समितिका सचिव प्रकाश उदासले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मात्र शान्ति स्तुप खुला रहने बताए । ‘आइतबार नै पाहुनाको भीड लागेको छ । लामो समयसम्म जान नपाएका पाहुना आइतबार शान्ति स्तुप उक्लिरहेका छन,’ उनले भने, ‘तर, हामीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनामा निकै नै कडाई गरेका छौ ।’ उनका अनुसार सर्वसाधारणलाई स्तुप जाँदा मास्क अनिवार्य गरिएको छ । ‘सरकारले सबैतिरका मन्दिर खुलायो, हामीलाई पनि शान्ति स्तुप खुलाउन निकै नै दवाव थियो,’ उनले भने, ‘पोखरा घुम्न आएका पाहुनाले शान्ति स्तुप जान पाएनौ भनेर गुनासो गरिरहेका थिए । पोखरेली व्यवसायीको पनि उत्तिकै दवाव थियो ।’

उनका अनुसार स्तुप उक्लेका पाहुनाले बढिमा २० मिनेट मात्र स्तुप परिसरमा बिताउन पाउनेछन् । लामो समय अडिन दिँदा भीडभाड हुने भएकोले बढिमा २० मिनेटमा तल झरिसक्नुपर्ने व्यवस्था गरेको उदासले बताए । ‘चैत ८ गतेदेखि शान्ति स्तुप बन्द थियो । पर्यटन व्यवसायी र स्थानीयबाट स्तुपसम्मको आउजाउ खुलाउन ठुलो दवाव आयो,’ उनले भने, ‘पोखरा आएका पर्यटन व्यवसायीले घुम्नै नपाएको गुनासो थियो । माथि उक्लेका पाहुना गेटबाटै फर्किन बाध्य थिए ।’ पोखराको गतिलो गन्तव्य पाहुनाले मिस गरिरहेकामा अब खुला भएको उनले बताए ।

पोखरा आएका विदेशी र स्वदेशीमध्ये अधिकांश पर्यटक शान्ति स्तुप घुम्न जाने गरेका थिए । आन्तरिक पाहुना त करिब ९० प्रतिशत नै शान्तिस्तुप उक्लिने गरेको उनले बताए । ‘सामान्य दिनमा करिब एकहजार र शनिबार तीनहजार जति पाहुना शान्ति स्तुप उक्लिने गरेको अनुमान छ,’ उनले भने, ‘अहिले नै त्यत्ति धेरै पाहुना आउँदैनन् । तर, पोखरा आएका पाहुनाको गतिलो गन्तव्य बन्द हुँदा उनीहरु खुसी थिएनन् ।’

शान्ति स्तुप खुलेपछि स्थानीय व्यवसायी पनि खुसी भएका छन् । स्थानीय व्यवसायी राजु क्षेत्रीले शान्ति स्तुप बन्द हुँदा पोखरा घुम्न आएका पाहुनाले गतिलो गन्तव्य गुमाएको अवस्था रहेकोमा अब त्यो सहज भएको बताए । ‘शान्ति स्तुप बन्द हुँदा पनि दिनमा ४–५ सय जना मान्छे आउथे तर, मुल गेटबाटै फर्किन बाध्य थिए,’ उनले भने । शान्ति स्तुपको तल्लो क्षेत्रमा रहेका करिब डेढदर्जन होटल रेस्टुरेन्टलाई पनि स्तुप खुलेसँगै राहत मिलेको उनले बताए ।  

पोखराका बुद्ध धर्मालम्बी र जापानको निप्पोनजान मेहोजिले उक्त स्तुप बनाएका हुन् । उक्त स्तुप बनाउन करिब ५ करोड रुपैयाँ खर्च भएको छ । २०४९ मा थालेर २०५६ मा स्तुप पुरा भएको थियो । त्यसअघि २०३० सालमा स्तुप बनाउन थाल्दा तत्कालिन सरकारले प्रतिबन्ध लगाउँदै बनाईएका संरचना भत्काएको थियो । त्यो बेला करिब ३५ फिट अग्लो स्तुप बनिसकेको थियो । २०४८ पछि बल्ल स्तुप बनाउन सरकारले पुनः अनुमति दिएको थियो ।  

पोखराबाट करिब आठ किलोमिटर दुरीको उक्त स्तुपमा पोखरा क्षेत्रको गतिलो मध्येको पर्यटकीय गन्तव्य हो । पोखराको दृश्यावलोकनका लागि पर्यटक स्तुप जान्छन् । करिब २१ रोपनी क्षेत्रफलमा बनेको स्तुपको चारैतिर बुद्धमुर्ति छन् । ती मुर्ति नेपाल, जापान, श्रीलंका र थाईल्याण्डले राखिदिएको थियो । १ सय १५ फिट अग्लो स्तुपको ३ सय ४४ फिट गोलाई छ । स्तुपको चाँदीको गजुरमा सुनको जलप लगाईएको छ । स्तुपमा हरेक दिन बिहान र बेलुकी जापानी भिक्षुले पुजा गर्छन ।

प्रकाशित: १२ पुस २०७७ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App