१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्याराग्लाइडिङ दुर्घटना अध्ययनः गलत दिशामा जमिन नजिकबाट मोड्दा दुर्घटना

फूलको हाँगामा ठोक्किएको ग्लाइडरलाई बासको टुप्पोले पनि अल्झाएको थियो

पोखराको आकाशमा प्याराग्लाइडिङ गरिँदै । फाइल तस्बिरः उमेश पुन÷नागरिक

फेवातालमाथि उडिरहेको प्याराग्लाइडिङ एकाएक गलत दिशामा पुगेर जमिनको नजिकैबाट मोडिन खोज्दा फूलको हाँगा र बासको टुप्पोमा ठोक्किएर अघिल्लो महिना पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छानविन समितिले निष्कर्ष निकालेको छ । पोखराको आकाशमा भएको उक्त दुर्घटनामा अनुभवि टेन्डम (यात्रु सहितको उडान) पाइलटले नै ज्यान गुमाएका थिए ।  

टेण्डम पाइलटले ज्यान गुमाएको त्यो नै पहिलो घटना थियो । उक्त दुर्घटनामा पाइलट राजु गैरे नेपाली (३८) को ज्यान गएको र काठमाडौं बुढानिलकण्ठकी शिला श्रेष्ठ (२८) घाइते भएकी थिइन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवाताल किनारको अवतरणस्थलमा झर्दै गर्दा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा पाइलटले ज्यान गुमाएपछि घटना अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तीन सदस्यीय छानवीन समिति गठन गरेको थियो । त्यही समितिले एकमहिने अध्ययनपछि शुक्रबार प्राधिकरणका महानिर्देशकलाई प्रतिवेदन बुझाएको छ ।

दुर्घटनापछि एकमहिना अवधि दिएर समितिलाई गर्न लगाएको छानविनमा पाइलटले जानीजानी गलत दिशामा पुगेर जमिनको नजिकबाट ग्लाइडर मोड्न खोज्दा फूलको हाँगामा ठोक्किन पुगेसँगै बासको टुप्पोमा अल्झेको पुष्टि भएको थियो ।

 ‘जमिनभन्दा ५० मिटर माथिबाट एकाएक ग्लाइडर मोडिएको रहेछ । त्यही क्रममा फूलको हाँगामा ग्लाइडर अल्झेको रहेछ,’ श्रोतले भन्यो, ‘फूलको हाँगामा अल्झेको ग्लाइडरलाई बासको टुप्पोले पनि अड्काउँदा पाइलट जमिनमा खस्न पुगेका थिए । जमिन नजिकबाट घुम्न खोज्दा दुर्घटना भएको पुष्टि भयो । कम्तिमा २ सय मिटर माथिबाट उडेर मात्र मोडिनुपर्नेमा जमिन नजिकबाट मोडिन खोज्दा त्यो घटना भएको रहेछ ।’

जमिन नजिकबाट मोडिन खोज्दा ग्लाइडरले सन्तुलन गुमाएको र त्यसपछि फूलको हाँगा लछार्न पुगेको श्रोतको भनाई छ । ‘जमिनभन्दा २ सय मिटर माथि मात्र उड्ने र त्यसपछि अवतरणको तयारी गर्नुपर्ने हो । तर, त्यो दिन पाइलटले जमिनभन्दा झन्डै ५० मिटर माथि उडिरहँदा एकाएक मोडिन खोज्दा सन्तुलन बिग्रेछ,’ श्रोतले भन्यो, ‘अवतरणका लागि ग्लाइडर घुमाउँदा गलत रुट प्रयोग गरिएको पुष्टि भयो ।’ पाइलटले अवतरण गर्नका लागि ग्लाइडर मोड्न प्रयोग गरेको रुट नै गलत रहेको पनि श्रोतले बताएको छ ।

‘तालमाथि उडिरहँदा यात्रुलाई बान्ता आएछ । त्यसपछि यात्रुले ल्याण्ड गर्न आग्रह गरेसँगै पाइलटले गलत रुटबाट घुमाउन खोजेको देखियो,’ श्रोतले भन्यो, ‘यसै पनि गलत रुट, त्यसमा पनि जमिनको नजिकबाट घुम्दा सन्तुलन गुमाउन खोज्दा दुर्घटना भएको देखिन्छ ।’ अवतरणको प्रयासमा रहँदा जमिनको नजिकबाट जानु र त्यो दिशाबाट घुम्न खोज्नु नै गलत रहेको श्रोतले बतायो ।  

श्रोतका अनुसार ग्लाइडरको हार्नेसमा नै फूलको हाँगा अल्झिएको थियो  । ‘जमिनको नजिकबाट भित्तापट्टि बढी च्यापेर घुम्न खोज्दा दुर्घटना भएको हो,’ श्रोतले भन्यो, ‘फूलको हाँगामा छोएपनि केही हुँदैन भनेर पाइलट बढी नै कन्फिडेन्स भएको अनुमान छ । तर, दुर्घटनाको कारक नै त्यही बन्यो ।’ पाइलटले बान्ता गरेर अत्तालिएकी यात्रुलाई फूल टिपेर सरप्राइज दिन खोजेको पनि देखिएको श्रोतको भनाई छ । ‘पाइलटले यात्रुलाई फूल टिपेर दिनेबारे थाहा दिएको रहेनछ । तर बान्ता भएर अत्तालिएकी यात्रुलाई सरप्राइजका लागि फूल टिप्न खोजेको पनि हुनसक्छ,’ श्रोतले भन्यो, ‘तर, बान्ता भएपछि यात्रुले अवतरण गर्न भने पाइलटलाई भनेकी थिइन् ।’

पाइलटका अनुसार प्याराग्लाइडिङ हुनुमा तीनवटा मुख्य कारण हुन्छन । ती हुन, बढी खुसी, बढी दुखी हुनु र हेलचेक्रयाँइ गर्नु । तर, पोखराको त्यो दुर्घटनामा हेलचेक्रयाँइ बढि नै भएको छानविन समितिले पहिचान गरेको छ । ‘पाइलट अनुभवि पनि हुन्, तर हेलचेक्रयाँइ भएकै हो,’ श्रोतले भन्यो ।  

छानविन समितिले यसअघि पनि पाइलटले फूल र पात टिप्ने गरेको अभ्यासलाई नेपाल हवाई खेलकुद संस्था (ना) का पदाधिकारी र स्वयं प्याराग्लाइडिङ कम्पनिले थाहा पाउँदा पाउँदै पनि वेवास्ता गरेको निष्कर्ष निकालेको छ । ‘ना ले त प्रभावकारी अनुगमन नै गरेको पाइएन । पाइलटले उडान क्रममा पात र फूल टिप्ने गरेको बारे थाहा पाएर पनि त्यो रोक्न प्रयास नै गरिएन,’ समितिको निष्कर्ष छ, ‘आगामि दिनमा यस्ता गल्ती गर्न दिन नहुन कडाईका साथ नियमन गर्नुपर्छ ।’ त्यसबाहेक पाइलटले प्रयोग गर्ने ग्लाइडरको गुणस्तर, अवधिबारे पनि ना ले ख्याल राख्नुपर्ने समितिको सुझाव छ । त्यस्तै पाइलटबीच अस्वस्थ प्रतिश्पर्धा रहेको पनि छानविन समितिको निष्कर्ष छ ।  

प्राधिकरणका पोखरास्थित प्रबन्धक (एयर ट्राफिक सर्भिस) अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहनेगरि छानविन समिति बनाएको थियो । सदस्य सुवेदीले अध्ययन समितिले देखेको र जुटाएको प्रमाणको आधारमा छानविन गरेर प्राधिकरणलाई प्रतिवेदन बुझाएको बताए । ‘हामीले एकमहिना अवधि लगाएर गरेको अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाएका छौ,’ सुवेदीले भने, ‘केही काम ना र कतिपय काम प्राधिकरणले पनि गर्नुपर्ने देखेका छौ । प्याराग्लाइडिङ क्षेत्रमा रहेको समस्या सुधारका सुझाव पनि हामीले दिएका छौ ।’ 

प्रकाशित: ११ पुस २०७७ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App