७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

रुकुममा स्थानीयबीच झडप हुँदा सातजना घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा स्थानीय दुई पक्षबीच झडप हुँदा चारजना घाइते भएका छन्। चौरजहारी नगरपालिका–७, मेलैनाउलीमा सडकको विवाद हुँदा स्थानीय नेकपाका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी कुटपिट गर्दा आफूहरू घाइते भएको पीडितहरूले बताएका छन्।

२०६५ सालमा खनिएको चौरजहारी–विजयश्वरी–मेलैनाउली–नार्जी–खोलागाउँ–नुवाकोट हुँदै झुल्नेटा पुग्ने सडकखण्डलाई बेवास्ता गरी सोही नामको नजिकै अर्काे सडक निर्माण गर्न थालेपछि विवाद भएको थियो। साविकको सडकमा ग्राभेलिङ गरिएको छ। १२ मिटरको बाटो अझ स्तरोन्नती गर्नुको साटो बेवारिसे छोड्नु गतल कार्य भएको स्थानीय खेमराज शर्माले जनाए। ‘पुरानो बाटोमा राजनीति गरेर किसानको खेतीयोग्य जमिन मासेर सडक खन्न थालियो,’ उनले भने, ‘यसरी खेतीयोग्य जमिन मासेर नजिकै सडक निर्माण गर्दा गाउँमा खाद्य संकट हुन सक्छ।’ प्रदेश सरकारले निर्माण गर्न लागेको बाटो साविकको सडकभन्दा माथिल्लो भागमा निर्माण गर्न लागिएको थियो।  

सडकको विषयमा तल्लो र माथिल्लो समूहबीच झडप भएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए। उनका अनुसार दुई पक्षबीच झडप हुँदा सातजना घाइते भएका छन्। उनीहरुमध्ये दुईजना गम्भीर घाइते छन्।

‘तल्लो गाउँका बासिन्दाले आफ्नो खेतीयोग्य जग्गा मास्न नदिने र माथिल्लो समूहका मान्छेले सडक खनेरै छोड्ने दाबीका कारण झडप भएको देखिन्छ,’ उनले भने, ‘यो सडकमा पहिलेदेखि नै विवाद छ।’ दुई समूहको झडपले चर्काेरुप लिन थालेपछि प्रहरीले एक राउण्ड हवाइ फायरसमेत गरेको थियो। यस समस्याका समाधानका लागि चौरजहारी नगरपालिका, कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको जिल्लागत कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म उक्त विवाद समाधान हुन नसकेको स्थानीयको भनाइ छ। नेकपाका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग गरी अन्धाधुन्दा कुटपिट गरेको स्थानीय शर्माको भनाइ छ। प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउसमेत गर्न नसकेको उनका भनाइ छ।

प्रकाशित: १० पुस २०७७ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App