रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ। जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीय सुमिना तामाङको अपहरण पछि हत्या भएको हो।
ग्राङ प्राविमा अध्ययनरत उनी आइतबारदेखि हराएकी थिइन्। आइतबार बिहान विद्यालय गएकी उनी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी कार्य सुरु गरेका थिए। परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि बालिकालाई हराएको भन्दै परिवारले प्रहरीमा निवेदन दिएका थिए।
एक जना अपरिचित महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए। उजुरी दिएपछि तत्कालै प्रहरी परिचालन भएको थियो। अस्थायी प्रहरीचौकी ग्राङ र इलाका प्रहरीचौकी कालिकास्थानका प्रहरीले खोज्ने क्रममा मंगलबार दिउँसो बालिकाको शव फेला पारेको थियो। बालिका हत्या गरेको आंशकामा प्रहरीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङलाई पक्राउ गरेको जनाएको छ। तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार कालिका गाउँपालिका–१ पलेपस्थित नागुर्दुङ भीरको ढुंगाको ओढारमा बालिकाको शव भेटिएको हो। सुक्न लागेको घाँसले छोपिएको अवस्थामा बालिकाको शव भेटिएको डिएसपी इन्द्र सुवेदीले बताए। बालिकाको झोला, चप्पल भने शव नजिकैको झाडीमा रहेको र शवभन्दा केही तल निलो प्लास्टिकभित्र चाउचाउको प्याकेटसमेत भेटिएको बताइएको छ।
प्रकाशित: २५ मंसिर २०७७ ०२:१६ बिहीबार





