९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सदरमुकामकै नमूना मतदानमा प्रत्यक्षतर्फ ४० प्रतिशत मत बदर

ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार सञ्चालन गरिएको नमूना मतदानमा प्रत्यक्षतर्फ झण्डै ४० प्रतिशत मत बदर भएको पाइएको छ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) का अनुसार नमूना मतदानमा २४ पुरुष र ५ महिला गरी २९ जनाले मतदान गरेका थिए। खसेको कुलमध्ये प्रत्यक्षतर्फ ४० प्रतिशत मत बदर भएको दुलालले जानकारी दिए। समानुपातिकतर्फ भने १७.२४ प्रतिशत मत मात्र बदर भएको दुलालले जानकारी दिए।

‘बदर मत यस्तो हुन्छ भन्ने देखाउनकै लागि नमूना मतदानमा सहभागीले जाना–जान मत बदर गरिदिएको आशंका गरिएको छ,’ नमूना मतदान र मतगणना पछि दुलालले भने।

जिल्ला निर्वाचन कार्यालयले ताप्लेजुङ उद्योग वाणिज्य संघको प्राङ्गणमा नमूना मतदान सञ्चालन गरेको थियो। ठ्याक्कै निर्वाचनको झल्को दिनेगरी निर्वाचन हाता घेरावारा गरिएको थियो। मतदाता लाइन लाग्ने स्थलमा महिला, पुरुष तथा अशक्तहरु गरी तीनवटा मतदाता लाइन मिलाइएको थियो। दल तथा उम्मेदवारका प्रतिनिधि समेत संलग्न गरी मतदान गराइएको थियो। नमूना मतदानको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, दोस्रो सुरक्षा घेरा सशस्त्र प्रहरी र निर्वाचन प्रहरी तथा तेस्रो सुरक्षा घेरामा नेपाली सेना थिए।

मतदान अधिकृत तथा जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता कञ्चन घिमिरेले माइकमार्फत मतदान अघि मतपेटिकाको अवस्था, सुरक्षण सिल, मतदान सामग्रीका बारेमा अवगत गराएकी थिइन्। मतदानको निर्धारित समय सकिन लाग्दा समय सकिन लागेको जनाउ समेत मतदान अधिकृतले दिएकी थिइन्। मतदानको समयावधि सकिएपछि दल तथा उम्मेदवारका प्रतिनिधिलाई समेत राखेर मुचुल्का तयार गर्ने, मतपेटिका सुरक्षण गर्ने, मतपेटिका ओसारपसार गर्ने कार्य गरिएको थियो। 

तपेटिका ढुवानी पछि दल तथा उम्मेदवारका प्रतिनिधिको बैठक बसेर मतगणना कार्यविधिको जानकारी गराई मतगणना गर्ने र सार्वजनिक गर्ने कार्य भएको थियो। जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले मतदाता शिक्षा कार्यक्रमकै एक स्वरुपमा नमूना मतदान गरिएको बताए। ‘यो अभ्यास शिक्षणको एक अध्याय पनि हो,’ श्रेष्ठले भने। 

मतदानको दिन समेत आचार संहिता उल्लंघन हुन्छ या हुँदैन भनेर अनुगमनका लागि आचार संहिता अनुगमन अधिकृतद्धय यादव भट्टराई र यमनाथ गिरी स्वयं नमूना मतदानस्थलमा उपस्थित थिए। नमूना मतदानको निरीक्षणका लागि मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्मीकपुर शाह, दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का, जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतम, सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति प्रमोदप्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय सहित उपस्थित थिए।

जिल्ला निर्वाचन कार्यालयले पालिकाका केन्द्र वा पायकपर्ने अन्य स्थानमा समेत मतदाता शिक्षा अभ्यास शिक्षण स्वरुप नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०८२ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App