१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकाल्यो, चुनाव भाँड्न खोज्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचन नजित्ने निष्कर्ष निकाल्दै चुनाव भाँड्ने दाउपेचमा लागेको आरोप लगाएका छन्।

शनिबार गृहजिल्ला झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले रास्वपाका पछिल्ला गतिविधिहरू लोकतान्त्रिक अभ्यास विपरीत र उत्तेजक रहेको टिप्पणी गरे।

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झन्डा जलाएको प्रस‌ंग उल्लेख गर्दै अध्यक्ष ओलीले रास्वपाले हारको डरले समाजमा तनाव सिर्जना गर्न खोजेको दाबी गरे।

‘रास्वपाले चुनाव जितिँदैन भन्ने निष्कर्ष निकाल्यो जस्तो छ,’ ओलीले भने, ‘त्यसैकारण उसले कतै झन्डा जलाउने, कसैका झन्डामा अत्यन्तै अभद्र, अमर्यादित र अशोभनीय व्यवहार देखाउने जस्ता कार्यहरू गरिरहेको छ।’

ओलीले रास्वपाको नियतमाथि प्रश्न उठाउँदै थपे, ‘तनाव बढाउन खोज्ने यी गतिविधिहरूको अर्थ उनीहरू चुनाव भाँड्ने पक्षमा गएका हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ।’

उनले रास्वपामा आफ्नो पक्षमा नतिजा आउने देखिए मात्र चुनावमा जाने र नतिजा अनुकूल नहुने देखिए चुनावै हुन नदिने प्रवृत्ति देखिएको आरोप लगाए।

उनले यस्ता उच्छृङ्खल र अमर्यादित क्रियाकलापले लोकतन्त्रलाई बलियो नबनाउने भन्दै सबैलाई संयमित भएर निर्वाचनको वातावरण बनाउन आग्रह गरे।

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झन्डा जलाएको विषयले तनाव बढेको छ। एमालेले देशभर नै आफ्नो झन्डा लगाएको विरोधमा मसाल जुलुस प्रर्दशन गरेको छ।

झन्डा जलाएको विरोधमा दाङसहित प्रमुख सहरमा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र भोलिन्टियर फोर्सले काठमाडौंको माइतघरलगायत स्थानमा मसाल जुलुस र कालो झन्डा प्रदर्शन गरेका थिए।

उनीहरूले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को पुत्ला दहन पनि गरेका थिए। एमालेले औपचारिक रूपमा नै यो घटनाको निन्दा पनि गरेको छ। 

प्रकाशित: ९ फाल्गुन २०८२ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App