११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपा लक्षित दाहाल- नयाँ दलको ‘क्षणिक हावाहुरी’ थामियो

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ राजनीतिक शक्तिहरू ‘क्षणिक हावाहुरी’ भएको बताउँदै त्यसले देशको मूल राजनीतिक धारलाई विस्थापित गर्न नसक्ने दाबी गरेका छन्।

शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलहरूतर्फ लक्षित गर्दै त्यस्ता शक्तिहरूको चर्चा धेरै दिन नटिक्ने टिप्पणी गरेका हुन्।

निर्वाचनको संघारमा नयाँ दलहरूप्रति देखिएको आकर्षणलाई सामान्य मौसमी प्रभावको रूपमा सुनाउँदै उनले भने, ‘हावाहुरी केही दिन आएजस्तो देखिए पनि त्यो सधैँ चल्दैन। अहिले हुरी थामिइसकेको छ। मानिसहरूले बुझिसकेका छन् कि देशलाई वैचारिक र सैद्धान्तिक नेतृत्व दिन सक्ने शक्ति कुन हो भनेर।’

संयोजक दाहालले आफ्नो पार्टी नै देशको वास्तविक नम्बर एक शक्ति भएको र आगामी निर्वाचनले त्यसलाई पुनः पुष्टि गर्ने जिकिर गरे।

नयाँ दलहरूसँग कुनै ठोस सिद्धान्त र संगठन नभएको भन्दै उनले आवेगको भरमा आएको लहरले मुलुकको जटिल राजनीतिलाई निकास दिन नसक्ने बताए।

‘देशलाई एकताबद्ध गर्न सक्ने, वैचारिक नेतृत्व दिन सक्ने र देशभक्त एवं क्रान्तिकारीहरूलाई गोलबन्द गर्न सक्ने एक मात्र शक्ति नेपाल कम्युनिष्ट पार्टी नै हो,’ दाहालले भने, ‘हावाहुरीको भ्रम अब चिरिइसकेको छ, जनता पुनः हाम्रै एजेन्डा र सङ्गठनमा फर्किएका छन्।’

निर्वाचनका लागि अब थोरै समय मात्र बाँकी रहेको स्मरण गराउँदै उनले कार्यकर्ताहरूलाई बाँकी १२ दिन युद्धस्तरमा परिचालित हुन निर्देशन दिए।

‘हामी अबको १२ दिन युद्धस्तरमा खट्ने हो भने हामी देशको नम्बर एक पार्टी बन्न र नयाँ परिस्थिति निर्माण गर्न सफल हुनेछौँ,’ उनले थपे।

प्रकाशित: ९ फाल्गुन २०८२ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App