बाँकेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्।
बैजनाथ गाउँपालिका हात्तिसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगञ्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन्।
भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडक छेउको नालामा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एम्बुलेन्स चालक ३४ वर्षीय दिपेश ढकालसहित एम्बुलेन्समा सवार रुकुम चौरजहारी न.पा. १० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ। चालकसहित सबै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १६ असार २०८३ १८:०० मंगलबार





