७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना उपचारमा निजी अस्पतालले मनपरी शुल्क

कोरोनाबाट १६ सय बढीको निधन

कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको छ। राजधानीका ग्राण्डी इन्टरनेसनल, ह्याम्स, ग्रिनसिटी, नर्भिक, नेपाल मेडिसिटी, स्टार अस्पताल ललितपुरलगायतका निजी अस्पतालहरुले सरकारले तोेकेको २ हजार भन्दा बढी २२ सयदेखि २४ सय रुपैयाँ लिएको पाइएको छ। नागरिकले सोमबार यी अस्पतालहरुसँग बुझ्दा ग्रिनसिटी, नेपाल मेडिसिटी, ह्याम्स र स्टार अस्पतालले प्रति नमुना २४ सयको दरले शुल्क लिने गरेको जनाएका छन् भने नर्भिक र ग्राण्डी इन्टरनेसनल अस्पतालदे प्रति नमुना २२ सय रुपैयाँ शुल्क लाग्ने जानकारी दिए।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर नमुना परीक्षणमा २ हजार भन्दा लिन नपाइने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अहिले तोकेको शुल्क २ हजार नै नाफासहित तोकेको हुनाले त्योभन्दा बढी लिनु नियमविपरीत रहेको जनाएका छन्।

पिसिआर परीक्षण शुल्क बाहेक कोभिड उपचारको नाममा ओपिडी शुल्क तथा भर्ना शुल्कसमेत बढी लिएको बिल बिरामीहरुले मन्त्रालयमा पेश गरेको मन्त्रालयले जनाएको छ। यसरी बढी शुल्क लिएको बिल देखिएका अस्पतालहरुमा नेपाल मेडिसिटी, ह्याम्सलगायतका अस्पतालहरुबाट कोभिड १९ उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको गुनासो आएको मन्त्रालयले जनाएको छ।

निजी अस्पतालहरुले लिएको शुल्कको बिल हेर्दा सरकारले तोकेकोभन्दा बढी देखिन आएको सहप्रवक्ता डा. अधिकारीले बताए। कोभिड उपचार सेवा दिने सूचीकृत अस्पतालहरुले प्रति दिन बिरामीको अवस्था अनुसार ३५ सय,७ हजार र १५ हजारभित्र मात्र शुल्क लिन पाइन्छ। निजी अस्पतालहरुले कोभिड उपचारको २० प्रतिशत भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था छ। तर बिरामीहरुको उपचारको विल हेर्दा तोकेको भन्दा ५० प्रतिशत भन्दा बढी शुल्क लिएको गुनासो आएको मन्त्रालयले जनाएको छ।

विल मन्त्रालयमा पेश भएपनि पीडितले निजी अस्पतालहरुबाट बिना जानकारी आफु ठगिएको भनी उजुरी दिएमा कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालयका केस म्यानेजमेन्ट कार्यदलका संयोजक डा. रोशनकुमार पोखरेलले बताए। ‘लिखित रुपमा उजुरी आएपछि ठगिएको ठहर भएमा सम्बन्धित अस्पतालहरुलाई कारबाही हुन्छ,’ संयोजक डा. पोखरेलले भने २० प्रतिशत बढी शुल्क लिन पाउने व्यवस्था उपभोक्ता नियममा छ। तर बिरामीलाई जानकारी नदिई सरकारले तोकेकोभन्दा बढी शुल्क लिएमा भने कारबाही हुन्छ। ‘लिखित मुद्दा आएमा मात्र कारबाही हुने देखिन्छ,’ उनले भने।

गत २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय १४ जना पुगेका छन्। नेपालमा कोरोना संक्रमितको मृत्युदर ०.६७ प्रतिशत पुगेको छ। गत २४ घण्टामा १ हजार ४ जनामा कोरोना पुष्टि भएको छ। नयाँ संक्रमितसहित नेपालमा कुल संंक्रमित संख्या २ लाख ४१ हजार ९ सय ९५ जना पुगेका छन्। हाल देशभरिमा १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन्। कुल संक्रमितमध्येमा २ लाख २७ हजार ४ सय ३३ जना अर्थात् ९३.९८ प्रतिशत निको भइसकेका छन्।

गत २४ घण्टामा काठमाडौ उपत्यकामा ४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। कोरोनाको गम्भीर लक्षण भएका ३ सय ३२ जनाको आइसियु र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २३ मंसिर २०७७ ००:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App