प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन नहुने भन्दै भरतमणि जंगमले दायर गरेको रिटमा सर्वाेच्चको आदेशअनुसार जवाफ दिँदै उनीहरुले दलीय सहमतिबाट शक्तिपृथकीकरण, संविधानवाद र स्वतन्त्र न्यायपालिकालाई प्रतिकूल असर नपर्ने दाबीसमेत गरेका छन्।
महान्यायाधिवक्ताको कार्यालयमार्फत मंगलबार सर्वोच्चमा पेस गरिएको जवाफमा रिट खारेज गर्न माग गरिएको छ।
फागुन ६ गते दायर रिटमा सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको इजलासले विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार उक्त रिट फागुन २४ गते विशेष इजलासमा सुनुवाइ हुँदैछ।
राष्ट्रपति कार्यालयका तर्फबाट सचिव शीतलबाबु रेग्मीले प्रस्तुत गरेको लिखित जवाफमा निवेदनपत्र संविधानमा आधारित नभई मूलत: राजनीतिक भएकाले मागदाबी पुग्न नसक्ने दाबी गरिएको छ। निवेदनपत्र खारेजको माग गर्दै भनिएको छ, ‘राष्ट्रपति कार्यालयको संलग्नता खुलाउन सकेको छैन। कुन धाराको प्रतिकूल हुनेगरी यस कार्यालयबाट के कुन काम कारबाही भएको छ भनी नखुलीकन र सो प्रमाणित नभई अन्तरिम आदेश वा परमादेश जारी हुने अवस्था हुँदैन।'
राष्ट्राध्यक्षको हैसियतमा सहमतिका लागि राजनीतिक दलका नेताहरुसँग छलफल र विचार विमर्श हुनु स्थापित मान्यता भएको उल्लेख गर्दै लिखित जवाफमा उक्त कार्य संविधान प्रतिकूल हुन नसक्ने दाबी गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय एवं आफ्नो हकमा समेत लिखित जवाफ पेस गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक तथा संवैधानिक संकटको वैधानिक निकास बहालवाला प्रधान न्यायाधीशबाटै हुने दाबी गरेका छन्।
‘दलीय छलफलबाट शक्तिपृथकिकरणको सिद्धान्तको कार्यान्वयनमा बल पुग्ने, जारी राजनीतिक गत्यावरोधको अन्त्य हुने र निर्वाचनमा सहभागी भई जनताले मताधिकार प्रयोग गरी सकारात्मक वातावरण सिर्जना हुन्छ,' प्रधानमन्त्री भट्टराईले जवाफमा दाबी गरेका छन्।
त्यस्तै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि मंगलबारै सर्वाेच्चलाई लिखित जवाफ दिँदै शक्तिपृथकीकरणको सिद्धान्त पूर्णरुपमा लागू नभएको र हुने अवस्थासमेत नरहेको उल्लेख गरेका छन्। ‘संविधानवाद, कानुनी शासन र शक्तिपृथकीकरणको सिद्धान्त सामान्य अवस्थामा र असामान्य अवस्थामा फरकफरक ढंगले लागू हुने हो। मुलुक असामान्य वा विशिष्ठ परिस्थितिमा छ। यी दुवै अवस्था संविधानवादभित्रै पर्छन्,' दाहालले भनेका छन्, ‘संविधान बनाउन बाधा दिने अनि संविधानवादको कुरा गर्ने? निवेदन बद्नियतका साथ आएको छ। लोकतन्त्रका उपलब्धिहरुलाई छिन्नभिन्न पार्ने नियतबाट आएको छ।'
प्रकाशित: २२ फाल्गुन २०६९ २०:५५ मंगलबार





