७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको सम्पदा पुनर्निर्माणको विशेषता 'जनश्रमदान'

प्रत्येक वर्षको नयाँं वर्षमा भक्तपुरमा मनाइने विस्केट जात्राको क्रममा ठूलो लामो लिंगो उठाउने ठाउँं ल्योसिंखेल हिजोआज तपाई पुग्नुभयो भने एउटा हेर्न लायकको दृश्य देख्नुहुन्छ, त्यो हो मण्डप पुनर्निर्माणमा जनश्रमदान गर्नेहरुको लर्को। भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा प्रत्येक वर्षको अन्तिम दिन उठाइने र नयाँं वर्षको पहिलो दिन ढाल्ने ५५ हात लामो लिंगो जात्रास्थलमा हिजोआज दर्जनौ महिला तथा पुरुषहरु सार्वजनिक मण्डप (पाटी) पुनर्निर्माण जुटिरहेका छन्।  

विशेष गरेर उनीहरु कोही पोल अपा (झिँंगटी इटा) सफा गर्न त कोही छाना छाउनका लागि माटो मुछ्न, लहरै बसेर त्यो माटो छानासम्म पुर्‍याउनमा तल्लिन देखिन्छन्। महिलाहरु इटा सफा गर्न र माटो छानासम्म पुर्‍याउनमा व्यस्त देखिन्छन् भने पुरुषहरु माटो मुछ्नमा व्यस्त देखिन्छन्।  

च्यासिलीं मण्डप पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष राजाराम चवालका अनुसार पछिल्लो एक हप्तादेखि यहाँं दैनिक दर्जनौ महिला तथा पुरुषहरु यसरी नै जनश्रमदानमा जुटिरहेका छन्। आफ्नै घरबाट खाजासमेत ल्याएर उनीहरु खाजासमेत पनि आफ्नै खाएर श्रमदान गरिरहेका छन्। कुनैकुनै दिन उनीहरुको लागि स्थानीय इच्छुकले आफ्नो पैसा राखेर खाजाको बन्दोबस्त मिलाइदिने गरेको उनले जानकारी गराए।  

अध्यक्ष चवालका अनुसार पहिलो पटक एक हप्ता दिन अगाडि गएको शुक्रबारबाट जनश्रमदानका लागि आह्वान भएको थियो। त्यस अनुसार अहिले दैनिक दर्जनौ महिला पुरुषहरु जनश्रमदानमा आइरहेको अध्यक्ष चवालले सुनाए। नागरिककर्मी पुगेको दिन पनि त्यहाँं चार दर्जन भन्दा बढी स्थानीय सर्वसाधारणहरु जनश्रमदानमा जुटिरहेका थिए।  

उपभोक्ता समितिका पदाधिकारीहरुले दिएको जानकारी अनुसार यो अघि पनि आवश्यकता परेको बेला जनश्रमदानमा बोलाउने गर्दा स्थानीयहरु जनश्रमदान गर्न आएका थिए। तर अहिले मण्डपको पुनर्निर्माण अन्तिम चरणमा पुगेर छाना छाउने काम भइरहेको र त्यसका लागि जनश्रमदान गर्ने मानिस चाहेर आउने भएकाले अहिले धेरै जनश्रमदान गर्नेहरु भएका हुन्।  

स्थानीइका अनुसार ऐतिहासिक यो मण्ठप २०७२ सालको महाभूकम्पमा भत्केको थियो। त्यसपछि भक्तपुर नगरपालिकाले उपभोक्ता समिति गठन गरी पुनर्निर्माणको काम थालेको थियो। मण्डपका लागि ३२ लाखको लागत इष्टमेट निकालिएको छ।  

भक्तपुर नगरपालिका वडा नं ५ की महिला वडा सदस्य सरिना द्यौलाले भक्तपुरका प्रत्येक सम्पदा पनर्निर्माणमा जनश्रमदान हुने भएकोले लागत इष्टमेट भन्दा कम मात्रै खर्च हुने देखिंदै आएको जानकारी गराइन्। आफ्नो ठाउँंको सम्पदाको पुनर्निर्माणमा आफैं जुट्दा यसले अपनत्व पनि कायम हुने उनले सुनाइन्। साथै पुनर्निर्माणको अझ गुणस्तरीय र भरपर्दाे हुने गरेको उनले सुनाइन्।

प्रकाशित: १६ मंसिर २०७७ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App