८ वैशाख २०८१ शनिबार
समाज

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः उड्दाउड्दै फूल टिप्ने पाइलटलाई कार्बाही हुने

गल्ती गर्ने पाइलटको भिडियो खोजिँदै

पोखराको आकाशमा प्याराग्लाइडिङ गरिँदै । फाइल तस्बिरः नागरिक

आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कार्बाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले साहसिक गतिविधिका नाममा उडान जोखिममा पारेको भन्दै ती पाइलटलाई कार्बाही गर्न निर्देशन दिएको हो।  

प्राधिकरणले कार्बाही गर्नुपर्ने पाइलटको विवरण प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाइ खेलकुद संस्था (एनएए) लाई उपलब्ध गराएको एनएएका अध्यक्ष कृष्ण भण्डारीले बताए। भण्डारीका अनुसार ती पाइलटले गरेको गल्तीको भिडियो समेत प्राधिकरणले एनएएलाई उपलब्ध गराएको छ। ‘प्राधिकरणले गल्ती गरेका अरु पाइलटको भिडियो पनि खोजि गरिरहेको छ। केही पाइलटको भिडियो हामीलाई नै उपलब्ध गराएको छ। त्यही भिडियोको आधारमा ती पाइलटलाई कार्बाही हुनेछ,’ भण्डारीले भने, ‘कतिपयले त भिडियो नै हटाएको आशंका पनि गरिएको छ।’

‘प्राधिकरणले गल्ती गरेका ५–६ जना पाइलटको भिडियोसहितको प्रमाण नै हामीलाई उपलब्ध गराएको छ,’ उनले भने, ‘पाइलटको नामै किटेर गल्ती गरेको भिडियो नै प्रमाणसहित पठाएपछि कारवाही गर्नुपर्ने अवस्था छ।’ भण्डारीका अनुसार कारवाहीमा पर्न लागेका ती पाइलटले टेण्डम (यात्रु सहित) उडानका क्रममा गर्नै नहुने खालका गतिविधि गरेका थिए। ती गतिविधि प्याराग्लाइडिङ उडानका लागि अक्षम्य हुने उनले बताए। गल्ती गरेका ती पाइलटलाई कार्बाही नगर्ने हो भने आगामि दिनमा अझै मनपरि बढ्न गइ दुर्घटना थपिने उनको भनाइ छ।

भण्डारीका अनुसार प्याराग्लाइडिङ उडानका क्रममा अतिरिक्त क्रियाकलाप गरेकोले ती पाइलटलाई कार्बाही गरिँदा उनीहरुको लाइसेन्स नै केही समयका लागि निलम्बन हुन सक्नेछ भने उनीहरुलाई जरिवाना पनि गरिनेछ। कार्बाहीको दायरामा पर्ने पाइलटहरुले उडानको क्रममा फूल र रुखको पात टिप्ने, तालको पानी छुवाउने खालका गतिविधि गरेका थिए। कतिपयले ती गतिविधिको भिडियो यूट्युब र टिकटकमा पनि अपलोड गरेका थिए।  

‘यात्रुले टिकटक बनाउनु र भिडियो अपलोड गर्नु गल्ती होइन। किनभने पाइलटले क्यामेराले खिचिदिएको भिडियोमा गीतसंगीत जोडेर यात्रुले प्रयोग गर्न सक्छन्। त्यहाँ पाइटलको गल्ती हँुँदैन,’ भण्डारीले भने, ‘तर, यात्रुसहितको उडानमा पाइलटले नै पात र फूल टिप्ने तथा तालको पानी छुवाउने काम भने गलत हो। कसैले पनि गलत काम गर्न पाउँदैन।’ यतिबेला सामाजिक सञ्जालमा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइइलटले फूल र पात टिपेको भिडियो भाइरल भइरहेका छन्। अघिल्ला साता त्यसैगरि फूल र पात टिप्न खोज्दा भएको दुर्घटनामा एकजना पाइलटले ज्यानै गुमाएका थिए। त्यसपछि बल्ल जथाभावि गर्ने पाइलटलाई कार्बाही गर्न प्राधिकरणले एनएएलाई भनेको थियो।  

प्राधिकरणले दुई वर्षअघि नै प्याराग्लाइडिङ नियमन गर्ने अधिकार एनएएलाई दिएको थियो। कार्बाही र अनुगमन गर्ने अधिकार पनि एनएएलाई नै छ। तर, अहिले एनएएले भने कार्बाहीको दायरामा पर्ने पाइलटलाई प्राधिकरण आफैले कार्बाही गरिदिए हुन्थ्यो भन्ने चाहना राखेको छ। ‘गल्ती गरेका ती पाइलटलाई कार्बाही गर्ने अधिकार हामीलाई छ,’ अध्यक्ष भण्डारीले भने, ‘तर स्थानीयस्तरमा कार्बाही गर्न खोज्दा समस्या आउन सक्छ। कार्बाही नगर्न दवाव आउन पनि सक्छ। त्यसैले यो पटकको कार्बाही प्राधिकरण आफैले गरिदियोस भन्ने चाहेका छौ। गर्नैपर्ने अवस्थामा हामीले कार्बाही गर्छाै, तर, प्राधिकरण सर्वाधिकार सम्पन्न निकाय भएकोले यो जिम्मा उसैले (प्राधिकरण)ले लिइदियो भने हामीलाई सहज हुन्छ।

आगामि दिनमा यस्ता घटना दोहोरिन नदिन आफूहरु सचेत रहेको अध्यक्ष भण्डारीले बताए। ‘हामी कार्बाही गर्न नसक्ने होइनौ, तर, स्थानीयस्तरमा रहेर काम गर्न सहज छैन,’ उनले भने, ‘प्राधिकरण अधिकार सम्पन्न निकाय भएकोले पनि यो पटक क्यानले नै कार्बाही गरिदियोस भन्ने चाहेका हौ। हामी भने आगामि दिनमा यस्ता घटना घट्न नदिन सचेत हुनेछौ।’  

पाइलटहरुका अनुसार प्याराग्लाइडिङ उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको छ। उडान दौरान यात्रुलाई रोमाञ्चकता दिलाउने भन्दै कतिपय पाइलटले भूइ नजिकै झरेर फूल र रुखको पात टिप्ने गतिविधि पनि गर्छन्। फूल र पात टिपेर दिँदा पाँच सय र तालको पानी छुवाउँदा अतिरिक्त एक हजार रुपैयाँ पनि पाइलटले यात्रुसँग लिने गरेका छन्। फूल र पात टिपेर दिने मात्र नभई पाइलटले यात्रुलाई रोमाञ्चकता थप्न एक्रोब्याटिक पनि गराउँछन्। ‘यहाँ जबर्जस्ती एक्रोब्याटिक गराइन्छ,’ प्याराग्लाइडिङका एकजना पाइलटले भने, ‘पोखरामै एक्रोब्याटिकका पोख्त पाइलट निकै कम छन्। प्यासेन्जरलाइ थोरै रोमाञ्चक सबै पाइलटले दिलाउन सक्छन्। तर, साच्चैको एक्रोब्याटिक गराउने दक्ष पाइलट जम्मा १०–१५ जना छन्।’  

प्राधिकरणले पनि प्याराग्लाइडिङ नियमनको सबै अधिकार एनएएलाई दिएकोले एनएएले नै ती पाइलटलाई कार्बाही गर्नुपर्ने बताएको छ। प्राधिकरणका एकजना पदाधिकारीले भने, ‘प्याराग्लाइडिङको नियमनकारी निकाय नै अहिले एनएए हो। त्यसैले एनएएले नै कार्बाही गर्नुपर्छ। कार्बाही गर्न नसक्ने भएमा एनएएले क्यानलाई पत्र लेखेर कार्बाही गर्न सकेनौ भनेर भन्न सक्छ।’ प्राधिकरणले भनेको अटेर गरेमा एनएएलाई नै कार्बाही पनि हुन सक्ने ती पदाधिकारीले बताए।

प्रकाशित: १५ मंसिर २०७७ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App