४ वैशाख २०८१ मंगलबार
समाज

नक्कली चिकित्सकले जाँच्दा बिरामी मारमा, प्रशासन मौन

निजी स्वास्थ्य संस्थामा बेथिति

नियामक निकायसँग सेटिङमा नवीकरणबिनै सञ्चालनमा रहेको लहानस्थित एक अस्पताल ।तस्बिर: मिथिलेश/नागरिक

चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ । लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ ।

विभागको विराटनगर टोलीले गरेको अनुगमनका क्रममा हरिनारायणले आफ्नो नामका अगाडि डाक्टर लेखेर बिरामीको गलत तरिकाले उपचार गरेको प्रेस्क्रिप्सन फेला पारेको छ । बिरामीलाई ढाँटेर गलत उपचार गरेको पाइएपछि उक्त मेडिकल हल बन्द गराई उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार फार्मेसी (मेडिकल हल) बाहेकलाई कारबाही गर्ने कानुनी अधिकार विभागसँग छैन । ‘चिकित्सा शिक्षा नै नपढी बिरामीको उपचार गर्ने व्यक्तिका हकमा प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयले मात्र कारबाही गर्ने अधिकार राख्छ,’ कट्टेलले भने, ‘हामीले तत्काल लहान प्रहरी र प्रशासनलाई कैफियतसहित जानकारी गराएका छौं ।’

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापाले भने गैरकानुनी ढंगले उपचार गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही गर्न नमिल्ने बताए ।  

‘यो त जिल्ला स्वास्थ्य कार्यालयले हेर्ने विषय हो,’ उनले भने । विभागका प्रमुख कट्टेलका अनुसार आफूलाई डाक्टर भनेर चौधरीले बिरामीलाई उपचारका नाममा जथाभावी औषधि चलाउने गरेको पाइएको छ । चिकित्सा विषय नै नपढेका चौधरीले वर्षौंदेखि लहानको केन्द्रबिन्दुमा आफूलाई चिकित्सक भन्दै बिरामीलाई उपचार गरिरहँदा पनि प्रशासन मौन देखिनु विडम्बना भएको स्थानीय अजय यादवले बताए । ‘चौधरीले लुकेर बिरामीको उपचार गरिरहेको भए पो,’ उनले भने, ‘डाक्टर भनेर लेटर प्याड नै छपाइएको छ । उनी त्यसैमा बिरामीलाई औषधिका नाम लेखिदिन्छन् ।’  

यादवका अनुसार सामान्य बिरामी हुँदा मानिस मेडिकल हल जान्थे । त्यहाँ चौधरीले जथाभावी औषधि चलाउँथे । त्यस्तो अवस्थामा तत्काल बिरामी निको भएको देखिए पनि दीर्घकालीन रूपमा भने स्वास्थ्यमा असर पर्ने देखिन्छ ।

साउन २३ गते बिहान जनकपुरको रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु भयो । महोत्तरीको गौशाला नगरपालिका–११ की २१ वर्षीया गंगादेवी महतोको चिकित्सकले फरक समूहको रगत चढाउँदा रियाक्सन भएर मृत्यु भएको जनाइएको छ । ‘सुरुमा बी पोजेटिभ रगत समूह भनेपछि हामीले सोहीबमोजिम रगत चढायौं,’ अस्पताल सञ्चालक सदस्य विकासचन्द्र गुप्ताले नागरिकसँग भने, ‘रगत चढाउनेबित्तिकै सुत्केरीलाई रियाक्सन भयो । डाक्टरले तुरुन्त रगत बन्द गरिदिए । समूह फरक पो प-यो कि भन्ने शंका लागेर पुनः रगत समूह जाँच गर्दा ओ पोजेटिभ पाइयो । फेरि रेडक्रसबाट क्रस चेक गराउँदा पनि ओ पोजेटिभ नै देखियो ।’ त्यसपछि ओ पोजेटिभ रगत चढाए पनि रियाक्सन भइसकेकाले गंगालाई बचाउन नसकिएको उनको भनाइ छ ।

सुत्केरीका आफन्त फरक समूहको रगत चढाउँदा बिरामीको मृत्यु भएको दाबीसहित अस्पतालमाथि कारबाही हुनुपर्ने माग राखेर केही दिन धर्ना बसे । पति राजकिशोर महतोका अनुसार सुत्केरी व्यथाले च्यापेपछि पत्नी गंगादेवीलाई रामजानकी अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरले प्रसूतिका लागि शल्यक्रिया गर्नुपर्छ भनेपछि आफूहरू तयार भएको उनले बताए । ‘रगत बन्दोबस्त गर्न भनेपछि हामी रेडक्रस पुग्यौं,’ उनले भने । अस्पतालले दिएको रगतको नमुना लिएर रेडक्रस पुगेका महतो आफ्नो रगत शोधभर्ना दिएर बी पोजेटिभ रगत लिएर आए । रेडक्रसले नमुना जाँच गरेर सो रगत दिएको थियो । गंगाले छोरी जन्माइन् । घरमा लक्ष्मी आएकोमा राजकिशोर खुसी थिए । तर उनको खुसी लामो समय टिकेन ।  

त्यही राति करिब ११ बजे पत्नी गंगादेवीलाई आइसियुमा लगेको थाहा पाएर राजकिशोर अत्तालिए । घरीघरी पत्नीको स्वास्थ्य अवस्थाबारे सोधिरहे । बिहान करिब ३ बजे डाक्टरले राजकिशोरलाई फरक समूहको रगत चढाइएकाले रियाक्सन भएको जानकारी दिए । ‘ओ’ पोजेटिभ रगत ल्याउन निर्देशन भयो । राजकिशोरले तुरुन्त रगत ल्याए । ‘बेलाबेलामा औषधिका पुर्जा थमाउँथे, हामी ल्याउँथ्यौं,’ उनले भने, ‘रातभरि औषधि कति ल्यायौंल्यायौं, गन्ती नै छैन ।’ तर बिहान करिब ८ बजेतिर अस्पताल पक्षले गंगालाई बचाउन नसकेको जानकारी दिएको राजकिशोरले बताए । अस्पतालले रेडक्रसलाई र रेडक्रसले अस्पतालाई दोष देखाउँदादेखाउँदै घटना सेलाउन थालेको छ । यसले गर्दा दोषीउपर कारबाही र पीडित पक्षलाई न्याय हुने कुरा शंकाको घेरामा परेको छ ।

मंसिर ६ गते सुत्केरी व्यथाले च्यापेपछि सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साहलाई लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगियो । सोही साँझ चिकित्सकले उनको शल्यक्रिया गरे । त्यसको केही घण्टामै आरतीको मृत्यु भयो । अत्तालिएका चिकित्सक पेट नसिलाईकनै फरार भए । आरतीलाई पति प्रमोदसहित परिवारका अन्य सदस्यले सुत्केरीका लागि डिभाइन अस्पताल लगेका थिए । केही घण्टापछि शल्यक्रियाका लागि परिवारको मन्जुरी मागियो । ढिला गरे जे पनि हुन सक्ने भनेर अत्याएपछि पति प्रमोदले मन्जुरी दिए । ‘हामीले राम्रोका लागि मन्जुरी दिएका थियौं, मार्न होइन,’ प्रमोदले भने, ‘सुरुदेखि नै हामीले बाहिर लग्नुपर्ने भए भन्नुस् भनिरहेका थियौं ।’ आरतीका दाइ राजेशकुमार साहले ‘ढुक्क हुनुस् केही हुँदैन’ भन्दै डाक्टरले विश्वस्त तुल्याएको बताए । पेट खोलेर बच्चा निकाले केही हुन्न भन्दै अप्रेसन कक्षमा लगेका थिए । केहीबेरमै डाक्टर निस्केर बेपत्ता भए । ‘हेर्दाहेर्दै एकएक सबै स्वास्थ्यकर्मी–कर्मचारी भागे । दौडेर शल्यक्रिया कक्षमा पुग्दा बाहिरबाट ताल्चा लगाइएको थियो,’ उनले भने, ‘भित्र रगतमा लतपतिएको अवस्थामा बहिनीको शव थियो ।’

उनीहरूले प्रहरीलाई बोलाए । प्रहरी आए पनि दोषीलाई पक्राउ गरेर निसाफ दिलाउन नसकेको गुनासो पीडित पक्षको छ । ‘हाम्रो जाहेरी दर्ता त भयो तर दोषी कोही पनि पक्राउ परेका छैनन्,’ प्रमोदले भने, ‘डाक्टरलाई पक्राउ गर्न मिल्दैन भनेर उल्टै हामीलाई हप्काएर चुप लगाइयो ।’ दोषी डाक्टर र अस्पतालमाथि कारबाही हुनुर्ने, आफूहरूलाई क्षतिपूर्ति दिनुपर्नेलगायत माग पीडित पक्षको छ ।  

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार लहानमा सञ्चालित कुनै पनि निजी अस्पतालको नवीकरण भएको छैन । ‘नवीकरणबिना सेवा सञ्चालन गर्नु गैरकानुनी हो,’ उनले भने, ‘यस्ता संस्थाहरू स्वास्थ्यसम्बन्धी विवरणसमेत बुझाउँदैनन् ।’ डिएसपी थापाले घटना सही भए पनि, पीडितबाट जाहेरी आए पनि डाक्टरलाई पक्राउ गरेर कारबाही चलाउन नमिल्ने बताए । ‘डाक्टरको मुद्दा प्रहरीले होइन, अरू निकायले नै हेर्ने हो,’ उनले भने । लहानमा सञ्चालित डिभाइन मात्र नभई सोही अस्पताल टाँसिएका कामना, फ्रेन्ड्सलगायत वर्षौंदेखि नवीकरणबिना नै सञ्चालनमा छन् । नियामक निकायसँगको सेटिङमा सिरहामा १५ शड्ढयाका आठवटा अस्पताल बिनादर्ता अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । ती अवैध अस्पतालहरू जिल्लाका लहान, गोलबजार र मिर्चैयामा सञ्चालतमा छन् ।

गत पुस १८ गते लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भयो । सो घटना छानबिन गर्न प्रशासनद्वारा गठित टोलीको प्रतिवेदनले डाक्टर र अस्पताल पक्षको लापरबाही ठहर ग¥यो । सप्तरीको बलानबिहुल गाउँपालिका–३ की संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुर घर भई लहान नगरपालिका–१९ स्थित माइतीघरमा बस्दै आएकी जानकी यादवले चिकित्सकको लापर्बाहीका कारण आफ्ना शिशु (छोरा) गुमाएका थिए ।

समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ २ गते छानबिन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार शल्यक्रियामा संलग्न डा. सुनिल बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको खुलेको थियो । ‘पीडित पक्षले दिएको जाहेरीअनुसार इलाका प्रहरी कार्यालय लहानले इजलाससम्बन्धी महलमा मुद्दा दर्ता त ग-यो तर प्रहरीले अहिलेसम्म प्रतिवादीहरूलाई पक्राउ गर्न सकेको छैन । पीडित पक्षले जाहेरी दिएलगत्तै डा. बिराजी फरार छन् । बाँकी प्रतिवादी लहानमै भए पनि प्रहरीको उदारताका कारण पक्राउ परेका छैनन् ।

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथितिका कारण जोखिममा पर्दै गएको मानवजीवनका उल्लिखित घटना प्रतिनिधि मात्र हुन् । नियामक निकायसँगको सेटिङमा सञ्चालित यहाँका निजी स्वास्थ्य संस्थामा यस्ता घटना पटकपटक दोहोरिएका छन् । ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडित पक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् । आफ्नो गल्ती लुकाउन निजी स्वास्थ्य संस्थाले घटनालगत्तै पीडित र उजुरी सुन्ने निकायलाई आर्थिक प्रलोभनमा पारेर मिलापत्र गराउने गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित: १५ मंसिर २०७७ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App