७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

संक्रमित दुर्व्यवहार

पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे। संक्रमणले गलाएपछि अस्पताल जानुप-यो। आठ दिनपछि डिस्चार्ज भए पनि उनी डेरा जान सकेनन्। कारण, घरबेटी र छिमेकीको डर। अहिले उनी होटलमै स्वास्थ्य लाभ गरिरहेका छन्।

रोगले च्यापेर कमजोर बनेका उनलाई परिवारको रेखदेखको खाँचो थियो तर घरबेटीदेखि डराउँदा उनले एक्लिएरै बस्नुप-यो। चिकित्सकले नेगेटिभ रिपोर्ट आइनसके पनि संक्रमण अवधि लामो भइसकेकाले अरूलाई सर्दैन भनेर सुझाउँदा समेत उनी डेरा फर्कन सकेनन्। घरबेटीले थाहा पाइहाले तुरुन्तै झिटीगुन्टा बोकेर हिँड्न बाध्य हुनुपर्ने भन्ने त्रास उनमा छ। एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको ती युवकले बताए।

‘घरबेटीलाई थाहै नदिई म होटलमा आएर बसें। संक्रमणले च्यापेर आठ दिन अस्पताल बसेर पनि डिस्चार्जपछि डेरा जाने आँट आएको छैन,’ उनले भने। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् र उनीहरू कसैमा संक्रमण छैन। ‘व्यक्तिगत कामले बाहिर गएको भनेर घरबेटीलाई ढाँटिएको छ,’ उनले भने, ‘कोरोना लुकाउनुहुँदैन भनेर सबैलाई भनिहिँड्ने म आफैंले त्यसलाई लुकाउनुपरेको छ।’ उनले थपे, ‘संक्रमितले घरबेटी, छिमेकी, आफन्तबाट दुव्र्यवहार खेप्नुपरेको घटना हामीले सुनिरहेका छौं। त्यो त्रास मलाई पनि आइप-यो। त्यसैले म खुल्न सकिनँ।’

नदीपुरका सञ्जय मल्ल पत्नीलाई संक्रमण भएपछि आफ्नो परीक्षण गराउन प्रयोगशाला गए। प्रयोगशालामा रिपोर्ट लिन गएको बेला संयोगवश एक व्यक्तिसँग मल्लको भेट भयो। मास्क लगाएकाले मल्लले ती व्यक्ति को हुन् भनेर ठम्याउन सकेनन तर ती व्यक्तिले मल्लसँग चिनजान भएकाले प्रयोगशाला आउनुको कारण सोधे। मल्लले पिसिआरको रिपोर्ट लिन आएको बताए। ‘श्रीमतीको रिपोर्ट पोजेटिभ थियो। मेरो नेगेटिभ आयो भनेपछि ती व्यक्ति हत्तारिँदै टाढिए,’ मल्लले भने, ‘म त संक्रमित थिइनँ तर उनले मलाई नै संक्रमित ठाने र तत्कार भागे। अघि नै भन्नुपर्दैनथ्यो भन्दै गुनासो पनि गरे।’

एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसैमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको एक संक्रमित युवकले बताए।

संक्रमण नहुँदा पनि संक्रमितसँग भेटघाट र उठबस गरेको भनेर समाजले फरक ढंगले हेर्ने गरेको मल्लले बताए। ‘म संक्रमित होइन तर मलाई समाजले संक्रमित देखेको छ, किनकि मेरी श्रीमती संक्रमित हुन्। नेगेटिभ रिपोर्ट नै झोलामा बोकेर हिँड्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘रोगको भन्दा समाजको डर बढी भयो। डेरामा बस्नेलाई घरबेटीको, घरबेटीलाई डेरावालको, छिमेकी पनि एकअर्कासँग डराउने अवस्था आएको छ। यो डरत्रास र व्यवहार नतोडेसम्म संक्रमितलाई भय नै भय छ।’ सामाजिक दुर्व्यवहारकै कारण लुकेर हिँड्नुपर्ने अवस्था आएको गुनासो उनले सुनाए।

कोरोना संक्रमितलाई घरबेटी, छिमेकी, आफन्तले दुव्र्यवहार गरेको भन्दै अहिलेसम्म प्रहरीमा लिखित उजुरी त कसैले दिएका छैनन् तर मौखिक गुनासा बोकेर भने सर्वसाधारण प्रहरीमा पुग्न थालेका छन्। कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल भन्छन्, ‘अहिलेसम्म लिखित रूपमा कसैले उजुरी दिएको छैन। तर मौखिक गुनासा आउने क्रम बढ्दो छ।’ हमालका अनुसार कोरोनाका कारण आम्दानी ठप्प हुँदा डेरा भाडा तिर्न नसकेको भनेर घरबेटीले अप्ठ्यारोमा पारेको गुनासो बोकेर डेरावाल प्रहरीकहाँ आइरहेका छन्। ‘हामी मौखिक नभई लिखित उजुरी दिन भन्छौं तर लिखित उजुरी दिँदा झनै अप्ठेरोमा पर्ने भन्दै उजुरीकर्ता डराउँछन्,’ उनले भने, ‘तर पनि हामी सम्झाइबुझाइ गरिरहेका छौं।’

होम क्वारेन्टिन र होम आइसोलेसन बस्न खोज्दा घरबेटीले अप्ठेरोमा पारेपछि त्यस्ता विवाद मिलाउन प्रहरी पुग्नुपरेको पनि डिएसपी हमालले बताए। ‘क्वारेन्टिन र होम आइसोलेसन बस्दा घरबेटीले अवरोध खडा गरेको मात्र नभई दुव्र्यवहार नै भइरहेको भनेर गुनासो आएपछि प्रहरी नै पुगेर विवाद समाधान गर्नुपरेको स्थिति छ,’ उनले भने, ‘होम आइसोलेसन र क्वारेन्टिनका सन्दर्भमा घरबेटी र छिमेकीबाट समस्या छ।’

कानुन व्यवसायीहरू कोरोनालाई कारण देखाएर कसैले कसैलाई दुव्र्यवहार गर्न नपाइने बताउँछन्। वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर भन्छन्, ‘सरकारले बारम्बार डेरामा बस्नेलाई निकाल्न र दुव्र्यवहार गर्न नपाइने भनिरहेको छ। कोरोनालाई कारक देखाएर जागिरबाट समेत निकाल्न पाइँदैन। कसैले कसैलाई दुर्व्यवहार गर्न पाइँदैन।’ अधिवक्ता थापाका अनुसार मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२४ मा सार्वजनिक उपद्र्याइँ गर्न नहुने प्रावधान छ। उक्त प्रावधानअनुसार कसैले कुनै काम गरी वा कानुनबमोजिम गर्नुपर्ने कुनै काम नगरी छरछिमेक वा सर्वसाधारणलाई कुनै प्रकारको हानि, नोक्सानी, क्षति वा खतरा पु-याउनुहुँदैन भनिएको छ। त्यस्तो व्यवहार गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको थापाले बताए।

प्रकाशित: १५ मंसिर २०७७ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App