आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको हिमा गाउँपालिकाबाट तीन जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।
एउटै गाउँपालिकाका तीन उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि स्थानीय मतदाता अन्योलमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादली केन्द्र)बाट बिर्खबहादुर शाही र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट बिर्खबहादुर रावतले उम्मेदवारी दर्ता गराएका हुन्। दीपबहादुर शाही हिमा–५ बुअ गाउँका हुन्। नेकपा उम्मेदवार बिर्खबहादुर शाही हिमा–७ धाचु गाउँका स्थायी बासिन्दा हुन् भने नेमकिपाका बिर्खबहादुर रावत हिमा–१ आचार्यलिही गाउँका हुन्।
मनोनयन दर्ताका क्रममा उम्मेदवारहरूले आ–आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। नेपाली कांग्रेस जुम्लाका पूर्व सभापतिसमेत रहेका शाहीले गलत प्रचार गरेर जनतालाई भ्रममा नपार्ने प्रतिबद्धता जनाए। ‘म भुइँमान्छे हुँ, भुइँमान्छेको छोरा हुँ,’ उनले भने, ‘जनताका समस्या सुन्न र समाधान गर्न उम्मेदवारी दिएको हुँ।’
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीले कृषि क्रान्ति र बेथितिविरुद्धको संघर्षलाई आफ्नो मुख्य एजेन्डा बताए। ‘स्याउ खेती विस्तार गर्दै जुम्लालाई आत्मनिर्भर बनाउने र पुँजीवादी व्यवस्थालाई समाजवादी दिशातर्फ लैजाने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ उनले भने।
यस्तै नेमकिपा जुम्लाका उपाध्यक्ष बिर्खबहादुर रावतले तडकभडकभन्दा योजनामा आधारित राजनीति आवश्यक रहेको बताए। ‘शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने मागसहित चुनाव लड्दै आएका छौँ,’ उनले भने, ‘देश संकटमा पर्दा सडकमा उत्रिने हामी नै हौँ, हाम्रो स्वार्थ देशबाहेक केही छैन।’ एउटै गाउँपालिकाबाट तीन उम्मेदवार मैदानमा उत्रिएपछि मतदाता अन्योलमा परेका छन्। ‘तीनै जना आफ्नै पालिकाका भएपछि हामी पनि तीन भागमा बाँडिनुपर्ने अवस्था आयो,’ एक स्थानीयले भने।
हिमा गाउँपालिकामा कुल ६ हजार ६ सय ९५ मतदाता छन्। जसमध्ये ३ हजार ५ सय ९ पुरुष र ३ हजार १ सय ८६ महिला छन्। यहाँ ११ मतदान केन्द्र र ९ मतदान स्थल छन्।
यसैबीच, सिंजा गाउँपालिकाबाट पनि एउटै वडा भित्रका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मनऋषि धिताल (सिंजा–३ धिताललिही) गाउँ र राप्रपाका केन्द्रीय प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) (सिंजा–३ पिंगी) गाउँका चुनावी प्रतिस्पर्धामा छन्।
स्थानीयका अनुसार दुवै उम्मेदवार एउटै वडाका भए पनि मतदातामा स्पष्ट धारणा बन्न सकेको छैन। ‘एक उम्मेदवार अघिल्लो निर्वाचन जितेर राजा ल्याउने अभियानमा थिए,’ एक स्थानीयले भने, ‘अर्कोलाई राम्रोसँग चिनेका छैनौँ। जुम्लामा खासै बसाइँ पनि छैन।’
सिंजा गाउँपालिकामा कुल ८ हजार ४ सय ७७ मतदाता छन्। जसमध्ये ४ हजार ५ सय ३८ पुरुष र ३ हजार ९ सय ३९ महिला मतदाता छन्। यहाँ १२ मतदान केन्द्र र ७ मतदान स्थल छन्।जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लाभर कुल ७१ हजार ७ सय ३९ मतदाता छन्। जसमध्ये ३७ हजार ४ सय ५९ पुरुष र ३४ हजार २ सय ८० महिला मतदाता छन्। जिल्लामा १ सय ८ मतदान केन्द्र र ८३ मतदान स्थल तोकिएका छन्।
प्रकाशित: ८ माघ २०८२ ०९:३२ बिहीबार





