७ वैशाख २०८१ शुक्रबार
समाज

परीक्षण घटेसँगै संक्रमितको संख्या घट्यो

नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण पछिल्ला दिनमा ह्वात्तै घटेको छ। सर्वसाधारणको पहुँचमा परीक्षण नभएका कारण लक्षण देखिँदासमेत धेरैले परीक्षण गराउन छाडेका छन्। यसबाट संक्रममितको संख्या पनि घटेजस्तो देखिए पनि जोखिम स्थान पहिचान गरी सरकारले समुदायस्तरमा परीक्षण गर्न छोडेको कारण यस्तो भएको हो। त्यसले गर्दा तथ्यांकमा नयाँ संक्रमित घट्दै गएको देखिए पनि संक्रमण भने नघटेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। पछिल्लो एक महिनायता दैनिक २ हजारको दरले नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। पछिल्लो २४घण्टामा देशभरि १७ सय ९० जना नयाँ संक्रमित छन् , सोमबार यो संख्या १९ सय ८० थियो। तथ्यांकमा मृतक हुनेहरुको संख्या भने औसतमा घट्न सकेको छैन। औसत दैनिक मृत्यु संख्या १५ देखि २० छ। पछिल्लो एक महिनायता दैनिक ९ देखि ११ हजार नमुना परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। त्यसअघि दैनिक १८ देखि २० नमुना परिक्षण हुने गर्थे।

दसैंका बेला उपत्यकाबाहिर गएहरू छठसम्म फर्किनसकेको र जिल्लाबाहिर परीक्षण झनै पातलो रहेकाले पनि यो संख्या घटेको हुनसक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीको तर्क छ। उनका अनुसार अहिलेको तथ्याकंले सबैभन्दा बढी परीक्षण उपत्यकाभित्र मात्र रहेको र संक्रमित पनि उपत्यकाकामै केन्द्रित देखिन्छन्। कुल संक्रमितमध्ये १ लाखभन्दा बढी संक्रमित काठमाडौं उपत्यकाका मात्र रहेका छन्।

अहिले परीक्षण भएकामध्ये २० प्रतिशतमा कोरोना संक्रमण देखिन्छ, त्यो भनेको समुदायमा कोरोना व्याप्त छ भन्ने नै हो,’ उनले भने। उपत्यका बाहिर गएकाहरुको उतै परिक्षण हुने हो र उपत्यका भित्र परिक्षणको दायरा बढ्ने हो भने यो संक्रमित संख्या बढ्ने डा. मरासिनी बताउँछन्। उनी भन्छन् , ‘छठ पर्व सकिएपछि उपत्यका आएपछि संक्रमणको दर बढ्न सक्छ,’ उनले भने। कतिपय जिल्लामा प्रयोगशालाको अभाबले परीक्षण गर्न भक्तपुर र काभे्र आइपुग्नुपर्ने बाध्यताले धेरैजना परीक्षणबाहिरै रहेको उनको भनाइ छ। लक्षण भएकाहरुको मात्र परीक्षण हुने भनेपछि धेरै जना घरमै आइसोलेसनमा बसेर परीक्षण नगरी बस्नु र कतिपय कोरोना बोकेरै पूर्वपश्चिम डुलेको हुनसक्ने उनको अनुमान छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पहिला जस्तो जोखिम स्थानमा सामूहिक परीक्षण गर्न छोड्नुले पनि संक्रमितको तथ्यांक घटेको र यसले जोखिमसमेत बढाएको महाशाखा स्रोतले जनाएको छ। पछिल्लोसमयमा काठमाडौंका भीढभाडयुक्त स्थानमा समेत परीक्षण हुन छोडेको छ।

जोखिम स्थान पहिचान गरी परिक्षण गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने लिने प्रक्रियामा कमी आएकै कारण संक्रमित संख्या घटेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाको मूल्याकंन छ। ‘सहरमा बढी परिक्षण भयो, दूरदराजमा परीक्षण नै छैन,’ उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिला दोहोरिएका संक्रमितको समेत तथ्यांक संकलन हुने गरेकोमा अहिले उनीहरुलाई फ्लोअपमा मात्र राख्दा पनि तथ्यांक घटेको हुन सक्ने बताए। ‘सिकिस्त भएर भर्ना हुन आउने वृद्धाहरुको संख्या घटेको छैन, यो हेर्दा संक्रमण परिवारमा फैलिरहेको देखिन्छ,’ उनले भने। छुटेकाहरुको परीक्षण नहुनु भनेको परिवार र समुदायमा अन्यलाई सारिरहेको स्थिति रहेको डा. बाँस्तोलाले बताए।

फ्रन्टलाइनमा काम गर्नेहरु सामूहिक रुपमा भएका कोरोना संक्रमित निको हुँदै जानुले पनि संक्रमणको चेनबे्रक भएको हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। अधिकारकीका अनुसार होम आइसोलसनमा गाह्रो भएपछि मात्र परीक्षणमा जाने र घरमै निको भएका परीक्षण गर्न नजानुको कारण वा सुरक्षाका मापदण्ड अपनाउने बढेकोेले पनि संक्रमित संख्या घटेको हुनसक्छ,’ उनले भने।

तर डा. मरासिनीका अनुसार अहिले पनि सबैले राम्रोसित सुरक्षाका मापदण्ड पालना नगरेकोले संक्रमण रोकिने स्थिति छैन। ‘मास्क लगाए पनि धेरै दिनसम्म प्रयोग गरेको पुरानो मास्क प्रयोग गरेको देखिन्छ, सार्वजनिक यातायातमा भीड उत्तिकै छ,’ उनले भने।

प्रकाशित: १२ मंसिर २०७७ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App