२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

डोलिन्द्रको पुस्तकबाट ज्ञवाली र लुइँटेलको नाम हटाउन आदेश

काठमाडौं जिल्ला अदालतले साझा प्रकाशन सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माद्वारा लिखित ‘बादलभित्रको घाम’ नामक विवादास्पद पुस्तकबाट नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र मिडयाको प्रकाशन नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको नाम हटाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलासले आगामी संस्करणमा ज्ञवाली, लुइँटेल तथा पत्रकार वसन्त खड्का र विष्णु अर्यालको नाम हटाउन आदेश दिएको हो ।  

२०७६ असोज ६ मा जारी भएको फैसलाको हालै सार्वजनिक पूर्ण पाठमा न्यायिक टिप्पणीमार्फत लेखक र पुस्तकका प्रकाशकका नाममा आदेश दिइएको छ । ‘कसैको गाली बेइज्जती हुनेगरी सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुनेगरी विचार अभिव्यक्ति गर्ने छुट कुनै व्यक्तिलाई छैन । वादीहरूले आफ्नो सम्बन्धमा लिएको चासो र सरोकारलाई अनदेखा वा नजरअन्दाज गर्न सक्ने अवस्था छैन,’ आदेशमा भनिएको छ, ‘तसर्थ वादीहरूले लिएको चासोलाई आत्मसात् गरी प्रस्तुत पुस्तकको आगामी संस्करणहरूमा दाबीको शीर्षकमा प्रकाशित निबन्ध लेखमा रहेको वादी सञ्चार गृह र सम्पादकहरूका नामहरू हटाउन लगाउन न्यायोचित र उपयुक्त देखिएकाले प्रतिवादी लेखक एवं प्रकाशन गृहका नाममा यो न्यायिक टिप्पणी गरिएको छ, सोको सूचना प्रतिवादीहरूलाई दिनू ।’

साझा प्रकाशनमा भएको भ्रष्टाचारको अनुसन्धानमूलक समाचार प्रकाशित गरेकाले सोको बदला लिने उद्देश्यले डोलिन्द्रप्रसाद शर्माले बादलभित्रको घाम नामक पुस्तकमा आफूहरूलाई गाली बेइज्जती गरेको दाबी लिई नागरिकका तर्फबाट बेइज्जतीको मुद्दा दायर भएको थियो ।

आफूहरूले साझा प्रकाशनमा भएको भ्रष्टाचारको अनुसन्धानमूलक समाचार प्रकाशित गरेकाले सोको बदला लिने उद्देश्यले शर्माले बादलभित्रको घाम नामक पुस्तकमा आफूहरूलाई गाली बेइज्जती गरेको दाबी लिई नागरिकका तर्फबाट बेइज्जतीको मुद्दा दायर भएको थियो । ‘फैसलाले आंशिक न्याय प्रदान गरेको भए पनि विपक्षीलाई सजाय नगरेउपर पुनरावेदन दर्ता गराउन कम्पनीले निर्णय गरिसकेको छ,’ नेपाल रिपब्लिक मिडिया प्रालिका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइँटेलले भने, ‘गलत काम भएको स्वीकार गरिसकेपछि सजाय नगरेउपरको दाबी पुनरावेदनमा लिइनेछ ।’ नागरिकका तर्फबाट अधिवक्ताहरू लुइँटेल, सन्तोष भण्डारी र प्रतिभा उप्रेतीले जिल्ला अदालतमा बहस गरेका थिए ।

पुस्तकको पहिलो संस्करणको पृष्ठ १८१ देखि १९१ सम्म मिडिया चमत्कार शीर्षकमा नागरिकमाथि पीत पत्रकारिता गरेको, पत्रकारिताको नांगो नाच नाचेको, पत्रिकामा लेखेर लुतो कन्याइको मजा लिएको लगायतका तल्लो स्तरका शब्दहरूको प्रयोग गरी आफूहरूको बेइज्जती गरेको दाबीसहित दुई वर्षअघि मुद्दा दायर भएको थियो । शर्माको कार्यकालमा भ्रष्टाचार भएको विषयमा अध्ययन गरी सरकारले उनलाई हटाइसकेको छ ।

प्रकाशित: ९ मंसिर २०७७ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App