१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना त्रासले गाउँमै रोकिए मनाङी र मुस्ताङी

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ । तस्बिरः नागरिक

चिसो बढ्दै जाँदा हिमाली जिल्ला मुस्ताङ र मनाङका माथिल्लो भेगका बासिन्दा जाडो छल्न यो बेला धमाधम तल (पोखरा, काठमाडौं, चिवतन, बेशीसहर लगायत) झरिरहेका हुन्थे । जाडो छल्नकै लागि तल झरेका ती बासिन्दा फागुन मध्यपछि बल्ल घर फिर्न थाल्थे । तल झरेका उनीहरु घर हुने आफ्नैमा बस्थे, नहुनेहरु आफन्तकहाँ र डेरा गरि बस्थे ।  

तर, कोरोना भाइरस संक्रमणका कारण योपटक ती हिमाली जिल्लाका बासिन्दाले चिसोमा पनि गाउँमै बस्ने निर्णय गरेका छन् । तल झर्दा संक्रमित बन्ने र गाउँ फर्किदा पनि संक्रमण फैलने त्रासले चिसोका बाबजुत पनि यो पटक गाउँले आफ्नै घरमा बस्ने योजनामा छन् । चिसो बढेर दैनिकी असहज हुन थालिसक्दा पनि गाउँलेले घर छाड्ने मनस्थिति बनाएका छैनन् ।  

‘यो पटक माथिल्लो भेगका बासिन्दा घरमै बस्ने भएका छन् । जाडो छल्न सहर झर्दा कोरोना भाइरस संक्रमणको त्रास भयो,’ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘पोखरा, काठमाडौं, चिवतन सहितका सहरमा सबैका घर छैनन । घर नहुँदा डेरा र आफन्तकहाँ बस्ने गरेका उनीहरु यो पटक कोरोनाको त्रासका कारण गाउँमै रोकिएका छन ।’ झन्डै ९८ प्रतिशत गाउँलेले चिसोका बाबजुत पनि गाउँमै बस्ने निर्णय गरेको विष्टले बताए ।  

विष्टका अनुसार असोज मध्यपछि माथिल्लो भेगका बासिन्दा जाडो छल्न तल झरिसक्थे । गर्मी बढ्न थाल्दै गर्दा फागुन मध्यपछि बल्ल घर फर्किन थाल्थे । गाउँले मात्र नभई माथिल्लो भेगका विद्यालय पनि पोखरा झर्दथे । विभिन्न विद्यालयलाई एकैठाउँ मर्ज गरेर पोखरामा घुम्ति विद्यालय संचालन गरिन्थ्यो । घुम्ति विद्यालय संचालन गर्नकै लागि गाउँपालिकाले बजेट छुट्याउँथे । तर यो पटक सबै गाउँले गाउँमै अडिने उनले बताए । गाउँले रोकिएसँगै विद्यालय पनि तल नझर्ने गाउँपालिकाले बताएका छन् । ‘अहिलेसम्म मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो घेकर दामोदरकुण्ड गाउँपालिकाका ९० प्रतिशत बासिन्दा तल झरिसक्थे । तर, अहिले सबै गाउँले आफ्नै घरमा छन्,’ उनले भने, ‘जाडो छल्नकै लागि वर्षेनी तल झर्ने गाउँले अहिले घरमै बसिरहेका छन् ।’

जाडो छल्न सहर झरेका गाउँले विभिन्न व्यापारमा संलग्न हुन्थे । जिम्बु, न्यानो कपडा, जडिबुटी बेच्नका लागि विभिन्न सहर डुल्थे । कतिपय भारत पस्थे । तर यो पटक तल झरेपनि ब्यापारका लागि हिडडुल गर्ने अवस्था नभएको अध्यक्ष विष्टले बताए । ‘उपल्लो मुस्ताङ पर्यटन र व्यापार बिना बाच्न सक्दैन । यो बेला गाउँलाई आर्थिक रुपमा चलायमान बनाउने दुवै व्यापार ठप्प छ । मान्छेसँग काम र पैसा छैन,’ उनले भने, ‘सहर झर्दा बसाई पनि खर्चिलो हुने र संक्रमण पनि भित्रिने डर भयो । त्यही भएर सुरक्षित बसोबासका लागि गाउँलेहरु आफ्नै गाउँमै बस्ने योजनामा छन् ।  

मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छायालाल मोक्तानका अनुसार सबैजसो गाउँले घरमै भेटिन्छन् । ‘जाडो छल्न तल झर्ने यहाँका बासिन्दाको चलन नयाँ होईन । वर्षौदेखि उनीहरु यो बेला घर छाड्न तयार हुन्थे,’ मोक्तानले भने, ‘तर, योपटक जाडो छल्न नजाने निर्णय गरिसकेका छन् । अध्ययनका लागि काठमाडौं र पोखरा पुगेका छोराछोरी पनि कोरोनाका कारण गाउँ फर्केका छन् । परिवारका सबै सदस्य अहिले गाउँमै छन् । कोरोना नहुँदो हो त यो बेलासम्म अधिक गाउँले तल झरिसक्थे, तर, अहिले भने सबै घरका बासिन्दा गाउँमा छन् ।’ कोरोना नहुँदा यो बेला गाउँ सुनसान हुने गरेपनि अहिले भने पहिलेकै झैं चहलपहल रहेको उनले बताए ।  

मोक्तानका अनुसार उपल्लो मुस्ताङमा दुईवटा स्थानीय तहले जाडो छल्न झरेका विद्यार्थीका लागि पोखरामा घुम्ति विद्यालय संचालन गर्दथे । गाउँपालिकाले घुम्ति विद्यालयकै लागि २० लाख रुपैयाँसम्म बजेट छुट्याउँथे । त्यो बजेट विद्यार्थीलाई खानपिन, विद्यालय भवनको भाडा, आवश्यक सामान जुटाउन खर्च हुन्थ्यो । तर, अहिले घुम्ति विद्यालय संचालन नहुने भएपछि त्यो पैसाले विद्यार्थीलाई न्यायो बनाउने गरि विद्यालयमा पुर्वाधार थप्ने उनले सुनाए । विद्यार्थीका लागि ग्यास हिटर, कक्षाकोठाको भुइँमा बिच्छ्याउने फोम, ठुला आकारका चुलो, तातोपानीका लागि सोलार राख्ने योजना बनेको मोक्तानले बताए ।  

लोमान्थाङमा अहिले नै चिसो बढेर माइनस १२ डिग्रीमा झरिसकेको छ । तर गाउँलेहरु घरमै बसेका छन् । चिसो छल्न सधैं तल झर्ने गाउँले यो पटक कोरोना त्रासले गाउँमै रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदीले बताए । ‘तापक्रम माइनस १२ सम्म ओर्लिसकेको छ । खोला र धारामा पानी जमिसकेको छ,’ उनले भने,‘तर गाउँलेहरु आफ्नै घरमा छन् ।’  तल झरेपनि ब्यापार गर्न सकिने अवस्था नभएपछि गाउँले गाउँमै रोकिएको उनले बताए । ‘केही गरि झरेपनि फर्किदा गाउँसम्म संक्रमण भित्रिने जोखिम छ,’ सुवेदीले भने, ‘त्यही भएर गाउँलेहरु गाउँमै रोकिए ।’

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टका अनुसार समुन्द्री सतहको ३५ सय देखि ४ हजार मिटर उचाईसम्मका बस्तीका बासिन्दा वर्षेनी चिसो छल्न तल झर्दथे । पोखरा, काठमाडौंमा घर हुने घरमै बस्थे । घर नहुनेहरु व्यापारका क्रममा विभिन्न जिल्लामा जान्थे । डेरा गरेर र आफन्तकहाँ बस्ने गरि गाउँलेहरु सहर झर्ने गर्दथे । तर, अहिले गाउँलेले कोरोनाको त्रासले घर नछाड्ने निर्णय गरेको विष्टले बताए ।  

‘तल झरेका गाउँलेले यो बेला सानोतिनो व्यापार गरेर केही कमाई पनि गर्दथे । जाडो छल्न पनि सहज थियो,’ उनले भने, ‘पहिलो पटक यसरी गाउँले चिसोमा घरभित्र बस्दैछन् ।’ न्यून आय भएका गाउँलेका लागि राहत आवश्यक पर्ने भन्दै गण्डकी प्रदेश सरकारसँग बजेट निकासाका लागि योजना लैजान थालेको उनले बताए । ‘न्यून आय भएका परिवारका लागि अबका चार महिनाका लागि खाद्यान्न अभाव हुन्छ । उनीहरुका लागि सहयोग जुटाउने प्रयास भईरहेको छ,’ उनले भने । उनका अनुसार राहतकै लागि करिब एककरोड रुपैयाँ बजेट आवश्यक पर्छ ।

अर्काे हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका बासिन्दा चिसो छल्न तल झर्दथे । तर यो पटक मनाङका बासिन्दाले पनि घर छाडेका छैनन् । ‘हुन त मनाङ ङिस्याङ गाउँपालिकाका मान्छे पुस लागेपछि मात्र तल झर्थे । यो बेला पर्यटकीय सिजन पर्ने भएकोले यतै हुन्थे,’ मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले भने, ‘त्यो समय त अझै आएको छैन । तर यो पटक गाउँलेले तल नझर्ने बताएका छन् ।’ कोरोनाका कारण यो पटक गाउँले आफ्नै घरमा बस्ने उनले बताए ।  

मनाङकै अर्काे दुर्गम नार्पाभूमि गाउँपालिकाका बासिन्दा पनि अहिले घरमै रोकिएका छन् । नार्पाभूमिमा करिब एकहजार जनसंख्या भएकोमा ७० प्रतिशत गाउँले यो बेला तल झरिसकेका हुन्थे । तर, कोरोनाका कारण यसपटक सबै गाउँले घरमै रहेको गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले बताए । ‘पोहोरतिर यो बेला गाउँ रित्तै थियो । तर, अहिले सबै गाउँले घरमै छन् । दाउरा थुपार्ने र न्यानो कपडा जोहो गर्नमा व्यस्त छन,’ उनले भने, ‘चिसो बढिसक्दा पनि यो पटक तल झर्ने अवस्था रहेन ।’ उनका अनुसार जाडो छल्न तल झरेका गाउँले फागुनतिर मात्र उक्लिन्थे । तर, अहिले कोरोनाले रोकिएको लामाले बताए ।

प्रकाशित: २७ कार्तिक २०७७ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App