coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निजीमा खर्च सकिएपछि सरकारीमा पुगे कोरोना संक्रमित

कोरोना संक्रमितहरू राम्रो उपचार हुने आशाले निजी अस्पताल भर्ना भए पनि खर्च सकिएपछि सरकारी अस्पतालमा पुग्ने गरेको पाइएको छ । उपचारका क्रममा ५ देखि १० लाख रूपैयाँ सकिएपछि उनीहरू अन्तिममा सरकारी अस्पताल पुग्ने गरेको सरकारी अस्पतालका चिकित्सको भनाइ छ । यसरी सुरुमा निजी अस्पताल पुग्नेहरूमा मध्यम तथा निम्न वर्गका बिरामी रहेका छन् । ऋण खोजेर उपचार गर्न बाध्य उनीहरू उपचार खर्चका सबै सम्भावना सकिएपछि सरकारी अस्पतालमा पुग्ने गरेको चिकित्सकहरूको अनुभव छ । ‘पैसा सकिएर कुनै उपाय नलागेपछि धमाधम बिरामी यता आएको देखिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने ।  

उनका अनुसार यतिखेर हाल निजीमा खर्च सकिएपछि आउनेमा २५ प्रतिशत बिरामी छन् । यस्ता बिरामी रेफर भएर र सिधै अस्पताल आइपुग्छन् । सुरुमा आकस्मिक कक्षमा राखेर उपचार गर्ने र कोभिडको शड्ढया खाली भएपछि मात्र वार्डमा भर्ना हुन पाउँछन् ।  

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा दैनिक ४ देखि ५ जना निजीमा उपचार गरेपछि पुग्ने गरेका छन् । उनीहरू सिधै आफैं र निजीबाट रेफर भएर आउने गरेको अस्पतालका कोभिड १९ संयोजक डा. प्रवीण नेपालले बताए । यसरी आउनेमा अन्य रोगको उपचार गर्न निजीमा पुगेका र कोभिडको उपचार गर्न गएका नै सरकारीमा पुग्ने गरेको उनले बताए । ‘खर्च सकिएर या राम्रो उपचार नपाएपछि यहाँ आउँछन्, कारण बुझ्न सकेका छैनाैं,’ उनले भने ।  

निजी अस्पतालमा निमोनिया भयो भन्दै उपचारका लागि पुगेका बिरामीहरू कोरोना पोजेटिभ देखिएपछि वीर अस्पताल पुग्ने गरेको अस्पतालका कोभिड १९ संयोजक डा. विद्यानिधि पौडेलले बताए । निजीमा महँगो उपचार खर्च थेग्न नसकेपछि वीरमा आउने गरेको उनले बताए । ‘महँगो खर्च बहोर्न नसकेपछि नै यता आउने हो, यस्ता बिरामीलाई वार्डका बिरामी डिस्चार्ज गरेपछि कोभिड  

वार्डमा भर्ना गर्छौं,’ उनले भने । निजीबाट आउने बिरामी दैनिक पाँचदेखि सात जना रहे पनि यकिन तथ्यांक नराखेको अस्पतालले जनाएको छ । यो अस्पतालमा १ सय ८० शड्ढयाको कोभिड वार्ड सञ्चालनमा छ ।  

चिकित्सकका अनुसार सरकारी अस्पतालमा कोभिड–१९ पूर्ण उपचार सकिन गम्भीरताको तह हेरी १ हजारदेखि १ लाख रूपैयाँभित्र निको हुने टेकु अस्पतालले जनाएको छ । तर यही उपचारका लागि निजीमा न्यूनतम ५ देखि १५ लाखसम्म खर्च हुने गरेको बिरामीहरू बताउँछन् । समान औषधि र चिकित्सकीय क्षमतामा हुने यो रोगको  

उपचारमा बिरामी भने पहिले राम्रो उपचार हुने आशामा निजी अस्पतालमा पुगेको पाइएको चिकित्सकको भनाइ छ ।

थप १८ संक्रमितको मृत्यु  
नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७० पुगेको छ । त्यसैगरी गत २४ घन्टामा २९ सय ९ जनामा कोरोना  

संक्रमण पुष्टि भएको छ । थपसहित नेपालमा कुल संक्रमित संख्या १ लाख ८८ हजार ८ सय ८३ जना पुगेको छ । २४ घन्टामा १० हजार १ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको थियो । कुल संक्रमितमध्ये हाल ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन् । तीमध्येमा १ लाख ५२ हजार ९ सय ८ जना निको भएका छन् ।

प्रकाशित: २२ कार्तिक २०७७ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App