coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा

कोरोना संक्रमणबाट मुक्त भएकी १०१ वर्षीया गणेशमाया प्रजापति घरछेउको मन्दिरमा सोमबार मुस्कुराउँदै। तस्बिर: उपेन्द्र/नागरिक

कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन्। संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन्। मध्यपुर नगरपालिका थिमीकी १ सय १ वर्षीया गणेशमाया प्रजापति कोरोना संक्रमणबाट मुक्त भएसँगै नगरमा खुसी छाएको छ।

बाल्यकालमा बिफरसँग लडेकी गणेशमायाले एक सय एक वर्षको उमेरमा कोरोनासँग पनि जुध्नुप-यो तर उनी संक्रमणमुक्त भएकी छन्। नातिमा संक्रमण देखापरेपछि परिवारका सबैले असोज २ गते परीक्षण गराउँदा गणेशमायासहित उनका छोरा इन्द्रबहादुर र छोरी पूर्णमायामा संक्रमण भेटिएको थियो।

चौध दिन घरमै सुरक्षित ढंगले बसेपछि असोज १६ मा परीक्षण गराउँदा गणेशमाया, इन्द्रबहादुर र नाति सहज संक्रमणमुक्त देखिएका छन् भने पूर्णमाया निको हुने क्रममा छिन्। ‘आमा निको भएपछि दिदीको पनि मनोबल बढेको छ,’ वडानम्बर ६ को अध्यक्षसमेत रहेका इन्द्रवहादुर प्रजापतिले भने, ‘वडामा पनि सबै खुसी भएका छन्।’

बाल्यकालमा बिफरको महामारीसँग लडेकी गणेशमाया प्रजापतिले एक सय एक वर्षको उमेरमा कोरोनासँग जुध्नुप-यो। उनी संक्रमणमुक्त भएको खबरले सिंगो नगरमा खुसी छाएको छ।

होम आइसोलेसनका क्रममा गणेशमायाले माछामासु, गेडागुडी र मुगीको रस प्रशस्त मात्रामा खाएको बताइन्। ‘कोरोना लागेको खबर सुनेपछि पहिलो दिन केही डर लाग्यो,’ उनले सुनाइन्, ‘त्यसपछि डर हट्दै गयो।’

लामो जीवनकालमा थुप्रै संघर्ष गरेकी उनले नआत्तिए सबै रोग जित्न सकिने बताइन्। १९९० र २०७२ सालको भूकम्पको कहर समेत भोगेकी गणेशमायाले दुख आएपनि हरेस नखाएको सुनाइन्। १४ दिनको बीचमा एक दिन छाती केही दुखे पनि अन्य दिन खासै समस्या नआएको उनको अनुभव छ। ‘कसैले नि डराउनुपर्दैन,’ उनले भनिन्, ‘खानेकुरा मिलाएर खायो र सुरक्षितसँग बस्यो भने घरमै पनि निको हुन्छ।’

एक सय एक वर्षकी हजुरआमा कोरोनामुक्त भएको खबरले सिंगो नगरमा खुुुसी छाएको मेयर मदनसुन्दर श्रेष्ठले बताए। ‘कोरोना संक्रमितको बढ्दो संख्याले चिन्तित तुल्याए पनि हजुरआमा मुक्त भएको खबरले बढी खुसी दिएको छ,’ उनले भने, ‘होसियारी अपनाउँदै जाने हो भने अरुले पनि डराउनुपर्ने अवस्था छैन।’

आइतबारसम्मको रिपोर्टअनुसार मध्यपुर थिमीमा ९ सय १५ संक्रमित भएकामा ६ सय संक्रमणमुक्त भइसकेका छन्। त्यस्तै संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने २ सय ९ जनामा संक्रमण सक्रिय रहेको श्रेष्ठले बताए।

नेपाल संवत् १०४० मा जन्मेकी गणेशमायाको दुईपटक जंकुसमेत भइसकेको छ। परिवारले उनको रथारोहणको तयारीसमेत गरेको छ। ‘गुरुजीहरुसँग सल्लाह गरेर अर्को रथारोहण पनि गराउने रहर छ,’ छोरा इन्द्रबहादुरले भने, ‘त्यो दिन झनै रमाइलो हुनेछ।’

प्रकाशित: २० आश्विन २०७७ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App