१२ कार्तिक २०७७ बुधबार
समाज

कोरोनाका नाममा स्थानीय सरकारकाे करोडौं स्वाहा, उपलब्धि भने भएन

सुनकोशी गाउँपालिका–१ ओखलढुंगाकी एक महिला गत असार पहिलो हप्ता भारतको सिक्किमबाट घर आइन्। रोजगारीको सिलसिलामा सिक्किमबस्दै आएकी उनी कोरोनाका कारण असहज परिस्थिती भएपछि गाउँ फर्किइन्।  

उनी गर्भवती समेत हुन्। उनलाई घर भन्दा करिब आधा घण्टा टाढा रहेको एउटा आधारभुत विद्यालयमा निर्माण गरिएको राखियो। विद्यालय सुरक्षाको दृष्टिले जोखिम र एकान्त ठाउँमा थियो।

मानिसहरुको आवतजावत कमहुने भएकाले दिनभरी उनी डराउँदै क्वारेन्टिनमा बस्थिन्। दिउँसो पनि एक्लै बस्न डर लाग्छ, घरबाट कोही आउन भ्याउनु हुन्न।’ उनले भनिन् ‘राती सासु र ससुरा साथी दिन आउनुहुन्छ।’ कोरोनाको त्रासले स्थानीयहरु कोही पनि उनलाई क्वारेन्टिनमा आसपास गएनन्।

क्वारेन्टिनमा सुत्नका लागि विद्यालयको दुई वटा बेन्च जोडेर बनाइएको खाट मात्रै थियो। ओछ्याउन पातलो म्याट्रेस र तन्ना बोहक अरु केही थिएन। खानाका लागि वडा कार्यालयले क्वारेन्टिनमा ग्याँस चुल्हो, चामल, तरकारीको व्यवस्था गरेको भए पनि खाना पकाएर दिने मान्छे नहुँदा घरबाटै उनलाई खाना बनाएर ल्याइदिने गरेको उनले बताइन्। उनलाई राखिएको विद्यालयमा सुरक्षाका लागि घेराबार समेत थिएन।  

करिब एक हप्ता क्वारेन्टिनमा बसेपछी उनलाई पिसिआर परीक्षणका लागि सुनकोशी गाउँपालिकाको केन्द्र मुलखर्क बोलाइयो। गाउँपालिका पुग्न पैदल करिब चार घण्टा लाग्यो। उनी चार घण्टा पैदलै हिँडेर त्यहाँ पुगिन्।  

पिसिआर परीक्षणका लागि पालिका केन्द्र जान आउन करिब आठ घण्टा हिँड्नु परेको उनको भनाइ छ। कोरोना परीक्षणका लागि भएकाले गाडिवालाहरुले लैजान नमानेपछी उनलाई पैदलै हिँडाएर कोरोना परीक्षणका लागि लग्नुपरेको वडा कार्यालयले जनाएको छ।

पिसिआर परीक्षण गर्ने जिल्ला स्वास्थ्यको टोलीले गाउँपालिका केन्द्र भन्दा अन्त गएर नमुना स्वाब संकलन गर्न नमानेपछि उनीलगायत अन्यलाई पनि गाउँपालिका केन्द्रमै बोलाइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए। उनको कोरोना रिपोर्ट नेगेटिभ आयो।  

गत असारमै ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका–२ वाक्साका मिलन कटुवाल सिराहाको मिर्चैयामा चार दिन अलपत्र परे। भारतबाट घर फर्किएका कटुवाल गाउँपालिकाले जिल्ला भित्रन नदिएपछि सिराहामा रोकिए।  

रोजगारीका लागि भारत पुगेका कटुवाल कोरोना र लकडाउनका कारण समस्यामा परेर घर फर्किएका थिए। मोरङ्गको सिमानाकाबाट नेपाल आएका कटुवाल विराटनगरको होल्डिङ सेन्टरमा केही दिन बसेका थिए। जिल्ला प्रशासन कार्यालय मोरङ्गले वडाध्यक्षसंग समन्वय गरेर सिराहाको मिर्चैयासम्म पठाएको भए पनि गाउँपालिकाले गाउँ आउन नदिएको कटुवालले बताए। चार दिनसम्म सिराहामा बस्दा बासी खाना खानुपरेकोे र पातलो म्याट्रेस ओछ्याएर भुइमा सुताइएको उनको भनाइ छ।  

गाउँ फर्किने क्रमापालिका अध्यक्ष मोतिराज राईले ‘कोरोना परिक्षण गर्ने किट छैन, तिमी नआउनु पथ्र्यो, किन आएको? यहाँ आएपछी महिनौँसम्म क्वारेन्टिनमा बस्नुपर्छ, पिसिआर परीक्षण आफ्नै खर्चमा गर्नुपर्छ’ भनेर त्रसित गराएको उनको भनाइ छ। आफ्नै खर्चले गाउँ आउँछु भन्दा पनि कोरोना परीक्षण गर्नेकिट नभएको कारण देखाई पालिकाले समयमा घर आउन नदिएको उनको भनाइ छ।  

यता गाउँपालिका अध्यक्ष मोतिराज राईले भने कटुवालले गुनासो गरे जस्तो आफूले कसैलाई गाउँ आउन नरोकेको बताए। अध्यक्ष राईले भने ‘उनि विराटनगरको होल्डिङसेन्टरमा नबसी आएका रहेछन्, उनको स्वास्थ्य परीक्षण समेत नगरिएकाले ल्याउन अप्ठ्यारो भएको हो।’ कटुवाल वडाध्यक्ष उमेश कार्कीसंग समन्वय गरेर विराटनगरको होल्डिङ सेन्टरबाट गाउँ आउन खोजेका थिए।  

सुनकोशी गाउँपालिका–९ कटुन्जेका रामबहादुर खड्का असार १ गते भारतको सिक्किमबाट झापा चन्द्रगढी आइपुगे। कोरोनाको त्रासका कारण भारतमा रोजगारी गुमेपछि खड्का नेपाल घर फर्केका हुन्। चनद्रगढीमा बस्ने होटल तथा स्थान नपाएपछि उनी खुल्ला आकाश मुनि रातकाट्न बाध्य भए। ‘बस्ने ठाउँ कसैले दिएनन् भुँइमा कष्टले रात काँटे।’ उनले भने ‘पिउने पानीसम्म कसैले दिएनन्, कोरोनाको त्रासले मेरो पैसा पनि चलेन।’

गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीको समन्वयमा दोश्रो दिन गाउँ आइपुगेका खड्कालाई निर्माणाधिन स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा राखियो। उनको घर क्वारेन्टिनस्थल नजिकै थियो। उनीसंगै भारतबाट आएका गाउँका अन्य पाँच जनालाई पनि सोही क्वारेन्टिनमा राखिएको खड्काले बताए।

वडा कार्यालयले स्थापना गरेको उक्त क्वारेन्टिनमा जम्मा दुईवटा मात्र खाट भएकाले चिसो भुइमा सुत्नु परेको उनी बताउँछन्। खाट नभएकाले चिसो भुँईमा पातलो म्याट्रेस र तन्ना ओछ्याएर १५ दिनसम्म क्वारेन्टिनमा विताएको खड्काले बताए। ‘जम्मा दुईवटा खाट थियो। सिमेन्टको भुँइमा म्याट्रेस र तन्ना ओछ्याएर सुतियो।’ खड्काले भने ‘धेरै गाह्रो भएपछि घरबाट ओड्ने ओछ्याउने झिकाए।’

निर्माणाधिन स्वास्थ्य चौकीमा क्वारेन्टिन राखिएकोेले शौचालय र बत्तिको राम्रो व्यवस्था समेत नभएको उनी बताउँछन्। ‘बत्ती नभएपछि मोबाइल अफभयो, क्वारेन्टिनमा बसुञ्जेल परिवारसंग फोनमा कुरा गर्न समेत पाइएन’ खड्काले दुखेसो पोखे। बत्ती नभएकाले रातको समयमा शौचालय जान समेत समस्या आएको उनी बताउँछन्। असार ११ गते पीसीआर गरेको ६ दिन पछि रिपोर्ट नेगेटिभ आयो र उनीलगायत भारतबाट आएर क्वारेन्टिनमा बसेका ६ जना सबैलाई घर पठाइयो। पीसीआर रिपोर्ट नेगेटिभ आएर घर फर्किएपछि पनि समुदायले कोरोना संक्रमित झैँ व्यवहार गरेकोप्रति उनी अहिले पनि दुःखी छन्।  

कोरोना नियन्त्रणमा करोडौंँ खर्च

ओखलढुंगाका स्थानीय तहहरुले कोरोना नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा लाँखौ खर्च गरे पनि फितलो व्यवस्थान पाइएको छ। त्यसैले क्वारेन्टिनमा बस्ने नागरिकले यस्ता समस्या भोग्न बाध्य छन्। अधिकांश पालिकाहरुले कारोना नियन्त्रण तथा क्वारेन्टिन निर्माण, व्यवस्थापनमा लाखौ बजेट खर्च गरेका छन्।  

सूचनाको हकप्रयोग गरे पश्चात प्राप्त विवरण अनुसार मानेभञ्ज्याङ्ग गाउँपालिकाले कोरोना नियन्त्रणको लागि २२ लाख ६९ हजार तीन सय ५३ रुपैयाँ खर्च भएको जनाएको छ। क्वारेन्टिन निर्माण गर्दा दुई लाख ९१ हजार आठ सय  रुपैयाँ खर्च भएको पालिकाले उल्लेख गरेको छ।  

कोरोनाका कारण मारमा परेका नागरिककालागि १४ लाख ९८ हजार छ सय २७ रुपैँयाको खाद्यन्न राहतवितरण गरिएको सूचना अधिकारी रामचन्द्र न्यौपानेले बताए। चार लाख ७८ हजार आठ सय ७६ रुपैयाँको माक्स, स्यानिटाईजर, पन्जालगायतका सामाग्रीखरिद गर्दा खर्च भएको न्यौपाने बताउँछन्। पालिकाले उपलब्ध गराएको विवरणमा २२ लाख ६९ हजार तिन सय ५३ रुपैयाँ खर्च भएको बताइए पनि पालिका श्रोतकाअनुसार कोरोना नियन्त्रण तथा व्यवस्थापनमा करिब ३० लाखभन्दा बढी खर्च भएको छ।  

कोरोना व्यवस्थापनमा खटेको भन्दै मानेभञ्ज्याङ्ग गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले १५ लाख ८३ हजार पाँच सय ८६ प्रोत्साहन भत्ता लिएका छन्। ३० जना पालिकाका कर्मचारी र ४१ जना स्वास्थ्यकर्मी गरी ७१ जना कर्मचारीले कोरोना नियन्त्रणका लागि काम गरेको भन्दै उक्त रकम प्रोत्साहन भत्ताका रुपमा लिएका हुन्। व्यवस्थापन, सामाग्री खरिद र कर्मचारीले लिएका भत्ता सहित मानेभञ्ज्याङ्ग गाउँपालिकाले ३८ लाख ५२ हजार नौ सय ३९ रुपैयाँ खर्च गरेको छ।  

यसका साथै जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले कोरोना कोकथाम, नियन्त्रण र उपचारमा १९ लाख ८७ हजार ४० रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले पाँच लाख ७८ हजार नौ सय ३६ को औषधि खरिद गरेको सुचना अधिकारी नईन्द्रराज राईले जानकारी दिए। क्वारेन्टिन स्थापनाका लागि दुई लाख १८ हजार सात सय ३२ खर्च भएको राईले बताए। नगरपालिकाले ओखलढुंगा सदरमुकाममा रहेको ओखलढुंगा क्याम्पसमा ५० सैयाको क्वारेन्टिन स्थापना गरेको थियो।

यी दुई स्थानिय तहबाहेक लिखु गाउँपालिकाले कोरोना रोकथाम नियन्त्रण तथा उपचारको काममा १३ लाख ५७ हजार आठ सय ३० रुपैयाँ खर्च भएको जनाएको छ। क्वारेन्टिन स्थापना गर्दा एक लाख ४२ हजार आठ सय ७५, क्वारेन्टाईन बस्नेको खानाखर्च ९८ हजार आठ सय ७४, औषधि तथा स्वास्थ्य उपकरण खरिद छ लाख ४५ हजार तीन सय ६०, राहत चार लाख २२ हजार सात सय २१ र होल्डीङ सेन्टर बाट क्वारेन्टिन र गाउँपालिकासम्म यातायात खर्च ४८ हजार खर्च भएको लिखु गाउँपालिकाले जनाएको छ।  

त्यस्तै चिशंखुगढी गाउँपालिकाले कोरोना नियन्त्रणका लागि २१ लाख ५५ हजार तिन ९९ रुपैयाँ खर्च भएको जनाएको छ। राहत सामग्री खाद्यान्न खरिद तथा वितरणमा १२ लाख ८० हजार एक सय २३, सामग्री खरिद तथा क्वारेन्टिन व्यवस्थापनमा ६ लाख ६४ हजार चार सय २०, बिरामी चेकजाँच तथा यातायात खर्च १८ हजार र कर्मचारीलाई प्रोत्साहन ४० हजार रुपैयाँ खर्च भएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए।

गाउँपालिकाले गत आर्थिक वर्षमा ३६ लाख ८१ हजार २० रुपैयाँको स्थानीय विपद् कोष स्थापना गरेको थियो। उक्त कोषमा जनप्रतिनिधीको एक महिनाको सेवा–सुविधा कट्टा गरेर ५ लाख १६ हजार पाँच सय, गाउँपालिकाका कर्मचारीबाट एक लाख नौ हजार चार ९४, शिक्षकको सेवा–सुविधाबाट ६ लाख ३० हजार रकम जम्मा गरिएको थियो। त्यस्तै, विभिन्न दाता, संघीय सरकार र प्रदेश सरकारबाट समेत प्राप्त अनुदान तथा केही योजनाबाट कटौती गरिएको रकम समेत गरी ३६ लाख ८१ हजारको कोरोना विपद कोष स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए।  

यसका साथै मोलुङ्ग गाउँपालिका ओखलढुंगाले कोरोना व्यवस्थापनका लागि एक मुष्ट ४१ लाख ९९ हजार चार सय १६ रुपैयाँ खर्च भएको जनाएको छ। जिल्लाका अन्य तिन वटा स्थानीय तहले कोरोनामा भएको खर्च विवरण सार्वजनिक गरेका छैनन्। चम्पादेवी, खिजिदेम्बा, र सुनकोशी गाउँपालिकाले कोरोना रोक थाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेका छैनन््।  ओखलढुंगाका सबै स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गराउनका नागरिक समाज ओखलढुंगा पैरवी सञ्जालले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको सोच नेपालका जिल्ला संयोजक विएन श्रेष्ठले बताए।

प्रकाशित: १० आश्विन २०७७ १७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App