नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिमा एक ‘डाइनामिक’ व्यक्तिका रुपमा चिनिन्छन् । हुन पनि छिट्टो निर्णय गर्ने उनको शैली, आफू सत्ता र शक्तिमा रहिरहन गर्ने गठनबन्धन र जसरी पनि नेतृत्व तहमा रहन गर्ने कसरतबाट उनको कार्यशैली पनि झल्काउने गर्दछ ।
एमालेसँग एकता गरेर देशकै शक्तिशाली कम्युनिष्ट बन्दादेखि सत्ताच्यूत हुँदासम्म पनि प्रचण्डले आफूलाई केन्द्रमा राख्न र परिवर्तित राजनीतिक उपलब्धीको जस लिन दिइने अभिव्यक्ति पनि धेरै चर्चामा आउने गर्छन् ।
त्यसमा पनि जेन-जी आन्दोलन, जेन-जी आन्दोलनपछि देशमा उत्पन्न परिस्थित, सरकारविहीनताको अवस्था तथा नयाँ सरकार आएपछिको अवस्थामा प्रचण्डले आफूलाई फरक फरक रुपमै परिभाषित गर्दै आएका छन् ।
उनले गर्ने गफ र लिने निर्णय र व्यवहारको तारतम्य भने त्यति मिलेको देखिँदैन । धेरै उदाहरण तिर नलागि प्रचण्डले जेन-जी आन्दोलन र त्यसका उपलब्धी आफ्नै नेतृत्वमा भएको भन्ने जस लिन हतारमा तत्कालीन नेकपा माओवादी केन्द्रको अध्यक्षबाट राजीनामा दिए । राजीनामासँगै उनले आफूनै संयोजक बनाएर बाँकी कुनै पद नहुने घोषणा गरे ।
यो घोषणामा उनले अब पार्टीको नेतृत्व जेन-जीले गर्नुपर्छ र आफ्नो पार्टीको नेतृत्व पनि जेन-जीले नै गर्ने भन्दै लगातार औपचारिक तथा अनौपचारिक क्षेत्रमा भनिरहे ।
लगत्तै नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्दा पनि कुनै पद नराख्ने भन्दै आफू संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहसंयोजक बनाएर नेपाली कम्युनिष्ट पार्टी गठन गरे ।
यो पार्टीमा पनि उनी नै नेतृत्वकर्ता र उनकै हालिमुहाली छ । उनीसँगै काम गर्नेले अपेक्षा गरेका थिए अब प्रचण्डले युवा र जेन-जीका एजेन्डा र नेतृत्व अघि बढाउँछन् । त्यसमा पनि प्रचण्ड गफाडी नै देखिए । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार तोकेको छ । बागलुङ क्षेत्र नम्बर एकमा भने राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ ।
यी १६४ उम्मेदवार छान्दा प्रचण्ड र उनको दल नेपाली कम्युनिष्ट पार्टीले विगतमा गरेको वाचा र जेन-जी आन्दोलनको जस लिन गरेको प्रतिवद्धता बिर्सिएको छ । अर्थात आगामी फागुन २१लाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले गरेको छनौटमा एकजनामात्र जेन-जी उमेरसमूहका उम्मेदवार छन् ।
केही उमेरहद कमका वा ३२देखि ४५ वर्ष उमेरसमूहका उम्मेदवारको संख्या केही बढी भए पनि जेन-जी समूहमा रहेका एक्ला उम्मेदवार भने मधेस प्रदेशको बारा निर्वाचन क्षेत्र नम्बर चारका अजय कुशवाहा हुन् । २०५५ को बैशाख एक गते जन्मिएका उनी २७ वर्षका मात्र भए । उनी नै प्रचण्डले गरेको घोषण, विगतको प्रतिवद्धता अनुसारका एकमात्र जेन-जी समूहका उम्मेदवार हुन् ।
बाँकी प्रचण्डले जेन-जीलाई ठाउँ दिने, जेन-जीका एजेण्डा आफूले उठाउने भनेर गरेका प्रतिवद्धता गफ मै सीमित भएका छन् ।
नेकपाका उम्मेदवार को कहाँबाट सूची हेर्नुहोस्





प्रकाशित: ८ माघ २०८२ १७:४८ बिहीबार





