२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगार ठगी कसुरका फरार ३३ अभियुक्त सम्पर्कबाहिर

वैदेशिक रोजगार ठगी कसुरका ३३ अभियुक्त अझै सम्पर्कमा आएका छैनन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा फरार ३४ अभियुक्तमध्ये ३३ जना सम्पर्कमा नआएका हुन्। वैदेशिक रोजगारसम्बन्धी ठगीका अभियुक्तलाई कालीमाटी प्रहरी वृत्तमा राख्ने गरिएको छ। भदौ २४ गते वृत्तमा आगजनी तथा तोडफोड हुँदा त्यहाँ थुनामा रहेका सबै भोगेका हुन्। जसमा वैदेशिक रोजगारसम्बन्धी ठगीका अभियुक्त पनि फरार भएको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन्।

विभागका मुद्दा शाखाका अधिकारी प्रयागदत्त जैसीका अनुसार वैदेशिक रोजगार ठगी कसुरमा पक्राउ परेका सबै जेनजी आन्दोलनका क्रममा भागेका हुन्। त्यसरी भागेका मध्ये एकजना प्रहरीको सम्पर्कमा आए पनि बाँकी ३३ जना अभियुक्त अझै विभाग तथा प्रहरीको सम्पर्कमा नआएको उनले बताए।

‘पीडितले दिएको उजुरीअनुसार बल्लतल्ल ती ठगी गर्ने व्यक्तिलाई प्रहरीले समातेको थियो,’ उनले नागरिकसँग भने, ‘ठगी आरोपमा पक्राउ परेका ती अभियुक्तलाई कसरी उम्किने भन्ने भइरहेका बेलामा जेनजी आन्दोलनले सजिलो भयो। उनीहरूलाई पक्राउसम्बन्धी प्रमाणित कागजात पनि विभागमा जलेर नष्ट भएका छन् ।’ यसले गर्दा भोलिका दिनमा उनीहरूलाई पक्राउ गर्न गाह्रो हुने जैसीले बताए।

जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा विभागसमेत पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगजनीका कारण विभागभित्रका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन्। सबै कागजात जलेर नष्ट भएकाले वैदेशिक रोजगार ठगी कसुरका अभियुक्तलाई पुनः पक्राउ गर्न ढिलाइ हुने उनले बताए।

जैसीका अनुसार अहिले वैदेशिक रोजगारीका क्रममा झन् धेरै ठगीका घटना भइरहेका छन्। जसले गर्दा पीडित झन् पीडामा परेका छन्। सरकारले राम्रो नेतृत्व नगर्दा गरिबी मुलुक झन् धेरै गरिब भएको उनी बताउँछन्। ‘हाम्रो देशमा गरिबीले धेरै दुःख पाउने छन्,’ उनले भने, ‘देशमा राम्रो नेतृत्वकर्ता नहुँदा पीडित झन् पीडामा छन्। विदेश जाने भन्दै युवाले लाखौं रुपैयाँ ऋण लिएर, घरजग्गा धितोमा राखेर एजेन्ट र म्यानपावर कम्पनीलाई बुझाउँछन् तर विदेश जान पाउँदैनन्, पैसा पनि फिर्ता हुँदैन।’

उनका अनुसार वैदेशिक रोजागारीका नाममा ठगी गर्ने गिरोह सक्रिय छ। ‘हरेक म्यानपावर कम्पनीको पछाडि एजेन्ट हुन्छन्। विदेश जान खोज्ने मान्छेले सिधै म्यानपावर कम्पनीको खातामा तथा हातमा पैसा दिएका हुँदैनन्। पैसा सबै एजेन्टले लिएर म्यानपावरलाई बुझाएको हुन्छ। पछि पीडितले उजुरी दिँदा एजेन्टको नाममा व्यक्तिगत मुद्दा हाल्छन्। म्यानपावरवालाहरू चोखै हुन्छन्।’

यतिबेला वैदेशिक रोजगार कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह हुँदै आएको छ। उजुरी परेपछि मात्र प्रहरीले गठीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्छ। यो क्रम घट्नेभन्दा पनि बढ्दो रूपमा रहेको विभागका अधिकारी बताउँछन्।

अनुसन्धानपछि विभागले दोषी देखिएकालाई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलाउने गरेको छ। अधिकांश उजुरीमा दुवै पक्षबिच मेलमिलाप गराउने गरिएको छ।

विभागमा ठगीका मुद्दा बढ्दो क्रममा छन्। वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ हजार ३ सय ठगीका उजुरी परेको जैसीले बताए। वैदेशिक रोजगारीमा जान चाहने मानिस एजेन्ट, म्यानपावर र चिनजानका आफन्तबाटै ठगिने गरेका छन्। विभागमा सबैभन्दा बढी युरोपेली मुलुकमा पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ असुलेर नपठाइदिएको भन्ने उजुरी आउने गरेको अधिकारीहरू बताउँछन्।

प्रकाशित: १५ कार्तिक २०८२ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App