१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अस्पताल चहार्दाचहार्दै गयो गर्भवतीको ज्यान

रातभरि विराटनगरका सबै अस्पताल चर्हादा सेवाबाट बञ्चित

मोरङ कानेपोखरीकी एक गर्भवती महिलाले समयमा स्वास्थ्य उपचारको सेवा नपाउँदा मृत्यु भएको। कोरोना भाइरसको त्रासले गर्दा विराटनगरका ठूलो अस्पतालले उपचार गर्न नमानेपछि महिलाको ज्यान गएको हो।

सात महिनाको गर्भवती महिला कानेपोखरी–५ की २३ वर्षीया सविना थापा (दर्जी) मंगलबार राति १० बजेतिर शौचालय जाँदा लडेर घाइते भएकी थिइन्। राति सामान्य अवस्थामा रहेकी सविना लडेको २४ घण्टापछि (बुधबार)स्वास्थ्यमा समस्या आएपछि राति नै उपचारका लागि विराटनगर ल्याइएको परिवारले बताएका छन्।  

सविनाको पाँच वर्षअघि भरत दर्जीसँग अन्तरजातीय प्रेम विवाह भएको र उनीहरूको पहिलो सन्तान चार वर्षकी छोरी छन्।  

‘सविनालाई समस्या भएपछि उपचारका लागि बुधबार राति नै विराटनगर ल्याएका थियौं,’ सविनाकी दिदी (आमाजू) दुर्गा सन्दासले भनिन्, ‘यहाँको ठूला भनिएका ६ वटा अस्पताल रातभरि घुम्यौं। तर, कसैले पनि उपचार गर्न मानेनन्। गेटबाट फर्काइ दिए।’ विराटनगरको सरकारीदेखि निजी ठूला अस्पतालले उपचार गर्न नमानेपछि धरानस्थित बिपी कोइराल अस्पताल लग्यौं सुन्दासले भनिन, ‘विराटनगर पु¥याउन साथ सविनाले उपचार पाएकी भए बाच्ने थिइन्। धरान आइपुग्दा ढिला भयो र ज्यान गयो।’

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मंगलबार प्रशासन कार्यालयमा विराटनगरका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई बोलाएर छलफल गरेका थिए। त्यसक्रममा निरौलाले अस्पतालमा बिरामीलाई कुनै बाहना नबनाई उपचार गर्नु र उपचारबाट बञ्चित भएको कुरा आए कारबाही गर्ने बताएका थियो। तर, प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशनको दुई दिनपछि विराटनगरका अस्पतालबाट स्वास्थ्य उपचारबाटै बञ्चित हुनु परेको घटना सार्वजनिक भएको छ।  

विराटनगरको कोसी, नोबेल, विराट शिक्षण अस्पताल, विराट नर्सिङ होम (विराटनगर), ग्रीनक्रस, सुरक्षालगायतका अस्पतालले उपचार गर्न नमानेपछि बिहीबार बिहान २ः३० बजे एम्बुलेन्समा धरान बिपी प्रतिष्ठानले लगिएको थियो। दुर्गा सुन्दासले भनिन्, ‘धेरै अस्पतालले आइसीयू र भेन्टिलेटर नभएको बहाना बनाए भने कुनैले कोरोना त्रासका कारण नयाँ बिरामी भर्ना गर्दैनौं भने।’  

सविनाका श्रीमान भरतले भने, ‘अस्पताल पु-याउन साथ उपचार गर्दिएको भए सात महिनाकी गर्भवती श्रीमती गुमाउनु पर्दैन थियो। तर, विराटनगरका कुनै पनि अस्पतालले उपचार गर्न मानेनन्।’ सरकारी अस्पताल कोसीमा लैजाँदा नर्सहरुले उल्टै हप्काएर। ‘विराटनगरमा उपचार नपाएपछि बिहान पख धरान लग्यौं,’ भरतले भने, ‘बिपी प्रतिष्ठानले आकस्मिक कक्षमा उपचार थाल्दै प्रसूति कक्षमा रेफर गरेर उपचार थालेको आधा घण्टा पनि नहुँदै सविनाको मृत्यु भयो।’ लडेर घाइते भएको बिरामीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु अस्पतालको गम्भीर लापरबाही हो। उनले भने, ‘श्रीमतीको उपचार गर्न नमान्ने सबै अस्पतालविरुद्ध कानुनी कारबाही जानेछु।’  

‘लडेका कारणमृत्यु भएकाले सविनाको शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगेका छौं,’ इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले भने, ‘घटनाको अनुसन्धान थालेका छौं भने पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।’

प्रकाशित: २० भाद्र २०७७ ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App