अनेक प्रकारका हिंसाले प्रताणित हाम्रो समाज भित्र आज पनि घरेलु हिंसाका घटनाहरु छरपस्ट देखिन्छ। कानुनको फितलो कार्यान्वयनका कारण अमानवीय घटनाहरु समाजमा घटिरहन्छन्।
गरिबि, मदिरा, बिगतको द्धन्द्ध, बेरोजगारी, जातीय बिभेदका कारण सृजना हुने घरेलु हिंसा न्यूनीकरणमा कोहि कसैको खासै चासो समेत देखिदैन। जसका कारण धेरै महिलाहरु अध्यारो भविष्यको गोरेटोमा हिँडीरहेका देखिन्छन्।
यहाँ पर्याप्त कानुनी जानकारी नहुँदा घरेलु हिंसाका कारण कतिका घरबार तङ्गभङ्ग भएका छन्। त्रिबेणी गाउँपालिका ५ जबरबोट कि ३४ वर्षीया बिट्टु बिक यतिबेला घर न घाट कि भएकी छन्। केहि वर्ष अगाडी मजदुरीका लागि भारत गएको बेला काठमाडौ तिरका तामाङ थरका एक युवासंग बिहे गरेकी उनी पछिल्लो समय अलपत्र परेकी हुन्। अध्यारो भविष्यको यात्रा सुरु गरेकी बिट्टु हाम्रो समाजको प्रतिनिधि पात्र मात्र हुन्।
तामाङ श्रीमानका तर्फबाट दुई छोरी जन्माएकी बिट्टुलाई श्रीमानले छोडेर हिँडेपछि छिमेकका ६२ वर्षीय पुरुषसंग बिहे गरेपनि उनी मानसिक रुपमा बिक्षिप्त बनिन्। मानसिक सन्तुलन गुमेपछि बिट्टु यतिबेला पछिल्लो श्रीमानबाट जन्मिएकी एक वर्षकी छोरी बोकेर यताउती भौतारिन्छिन्। ‘कहिले बीच जंगलमा त कहिले बीच सडकमा बच्चा छोडेर आमा एकातिर हिँड्छिन्।’ स्थानीय भन्छन् ‘बच्चाको बिजोग छ।’
स्थानीयका अनुसार बस्ने खानेको टुङ्गो नभएकी बिट्टु बच्चासंगै कहिले जंगल मै सुत्छिन् भने कहिले छिमेकीको घरकने पिढिमा। माईती समेत जाने उनलाई त्यहाँ पनि सजिलो छैन। चौबिसै घण्टा मदिरामा लट्ठिने आमासंगको बसाई त्यती सहज छैन उनको। स्थानीयका अनुसार बच्चाको शरीर प्रकृतीले चिने जस्तो छ। उ आजसम्म बिरामी पर्ने वा समस्यामा पर्ने गरेका छैनन्।
गाउँकी चेली मानसिक रुपमा समस्यामा परेका कारण छिमेकीहरुलाई पनि असजिलो भएको उनीहरु बताउँछन्। ‘बच्चाको टिठ लाग्छ। लामो समय भयो आमा असरल्ल बनेर हिँड्छिन्।’ बिट्टुका छिमेकी भन्छन्, ‘गर्मी, चिसो अनि बर्षात सधै एकनासको दैनिकी छ। बच्चालाई लगाउने कपडा समेत हुँदैन। कसैले माया गरेर कपडा दिए पनि आमाले लगाईदिँदैनन्।’
घरगाउँमा एउटी महिला अलपत्र परेको दैनिक देख्ने गरेका जनप्रतिनिधि पनि के गर्ने भन्ने अन्यौलमा छन्। ‘उद्वार गर्ने मन छ तर कहाँ पठाउने अलमल छ।’ वडा अध्यक्ष कृष्ण केसि भन्छन्, ‘उनका श्रीमान पनि वृद्ध छन्। उनलाई कतै उपचारमा पठाउँ भने पनि कुरुवा समेत पाइदैनन्।’ केसिका अनुसार बिट्टुका अघिल्लो तामाङ थरका श्रीमानको पत्तो नभएका कारण दुई छोरीको जन्मदर्ता लगायतका काममा समेत बाधा परिरहेको छ।
स्थानीय सरकारले उनका उपचारमा केहि आर्थिक सहयोग समेत गर्ने मनसाय बनाएको भए पनि बिट्टुलाई सम्हाल्ने कोहि नहुँदा सकस भएको हो। जन्मेदेखि पोषिलो खाना र गतिलो नाना नपाएकी सानी बच्चीको भविष्य यतिबेला अन्धकार बनेको छ। कहिल्यै खानाको टुङ्गो नहुने आमा छोरीलाई तत्काल उद्वार गर्नु पर्ने जरुरी देखिन्छ।
प्रकाशित: १७ भाद्र २०७७ ०९:४८ बुधबार





