६ कार्तिक २०७७ बिहीबार
समाज

पूर्वी सीमामा थपिँदै सशस्त्र

सूर्याेदय नगरपालिकाको समालबुङमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिँदै । तस्बिर: नागरिक

पूर्वी नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिँदैछ। भारतसँग जोडिएको इलामको साढे ५२ किलोमिटरमा चालू वर्ष थप ६ बिओपी स्थापना गर्न लागिएको हो।  

यसअघिसम्म पशुपतिनगरमा मात्रै बिओपी थियो। थप्न लागिएका ६ मध्ये २ रोङ गाउँपालिकाको सलकपुर र सूर्याेदय नगरपालिकाको समालबुङमा बिओपी स्थापना गरिएका छन्। स्थानीय तहको समन्वयमा स्थानीय नागरिकले उपलब्ध गराएको जमिनमा  बिओपी स्थापना गरिएको हो। सलकपुरमा स्थानीय लाखमान तामाङले ६ रोपनी जग्गा बिओपीका लागि प्रदान गरेका छन्। उनले बिओपी राख्न घर पनि उपलब्ध गराएको पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बिओपीका इन्स्पेक्टर नवीन खतिवडाले बताए।  

समालबुङमा स्थानीय टेकबहादुर खत्री, विष्णुकुमार खत्री, तारादेवी खत्री र कुलबहादुर खत्रीले ५ रोपनी जग्गा दिएका छन्। यहाँ बिओपी भवन निर्माणक्रममा छ। बिओपी राखिएको स्थान निरीक्षणका लागि १ नम्बर प्रदेशस्थित सशस्त्र प्रहरीका डिआइजी वंशीराज दाहाल तथा सदरमुकामस्थित १ नम्बर गणका एसपी सुधीरजंग थापासमेत पुगेका थिए।  

सीमाक्षेत्रका कालपोखरी, जौबारी, मानेभञ्ज्याङ र छब्बिसेमा पनि बिओपी राख्ने तयारी छ। ‘२ महिनाभित्र चारै स्थानमा बिओपी स्थापना भइसक्छन्,’ इन्स्पेक्टर खतिवडाले भने, ‘ती स्थानमा पनि जग्गा व्यवस्थापन भइसकेको छ ।’ सबै बिओपीमा इन्स्पेक्टरको कमान्डमा ३५÷३५ सुरक्षाकर्मी रहनेछन्।  

इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट छन्। सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि २÷२ किलोमिटरमा बिओपी रहेपनि नेपालपट्टि सुरक्षास्थिति नगन्य नै छ। नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ। छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकी छन्।  

दशगजा र नेपाली भूमिपट्टि भारतले बेला–बेला अतिक्रमण, नेपालीमाथि अभद्र व्यवहार गर्ने घटना दोहोरिने गरेका छन्। त्यतिमात्र होइन, भारतीय पक्षले यो क्षेत्रको दशगजाका ठाउँ–ठाउँमा सरकारी स्कुलसहित गुम्बा र निजी संरचनासमेत बनाएको छ। तर, नेपाली भूमिमै बन्न लागेका संरचनामा भने धाकधम्की दिँदै अवरोध गर्नेगरेको छ। ‘केही महिनायता चाहिँ सीमाक्षेत्रको विवाद अलि मत्थर छ,’ इन्स्पेक्टर खतिवडाले भने, ‘हामी बेला–बेला सीमा क्षेत्र निरीक्षणमा समेत गइरहेका छौं। एसएसबीसँग पनि सीमा सुरक्षाबारे छलफल भइरहेको छ ।’  

कोभिड–१९ नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रका जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा सशस्त्रको टोली राखेको छ। यी इकाईमा सशस्त्र प्रहरी अधिकृतको कमान्डमा कम्तीमा १० जना राखिएका छन् ।  

सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन्। जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटामात्रै फेला परेका छन्। रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छन्। एउटा सीमास्तम्भ हराएको भएपनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ। भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा ४ मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्रले जनाएको छ।  

प्रकाशित: १७ भाद्र २०७७ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App