पोखरामा निषेधाज्ञा उल्लंघन गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गतेदेखि लगाएको निषेधाज्ञा खुकुलो बनाउँदै भदौ २० गतेसम्म लम्ब्याएपनि कार्यान्वयनमा भने फितलो देखिएको छ। प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नगरवासीलाई निर्देशन जारी गरेपनि व्यवहारमा लागू भएको छैन्।
पोखरा बजार क्षेत्रमा भएको भीड र सवारी साधनको चाप हेर्दा पोखरामा निषेधाज्ञाको कुनै आभाष नै हुँदैन। अत्यावश्यक काम कस्तोलाई भन्ने ? त्यो नै नछुट्टिदा मानिसहरु ह्वारह्वार्ती बाहिर निस्केको हुनसक्ने नागरिक समाज पोखराका अध्यक्ष विष्णुहरी अधिकारी बताउँछन्। युवाहरुले सबैभन्दा हेलचेक्राईं गरिरहेको उनले बताए। कोरोना संक्रमित मध्ये युवा एकदमै कम मात्रामा संक्रमित भएको र संक्रमित भएका युवालाईपनि लक्षणपनि प्रायः कम देखिएको र लक्षण देखिएकालाईपनि स्वास्थ्य समस्या नदेखिएको र मृत्यूपनि नभएको भन्दै उनीहरुले बढी हेलचेक्राई गर्नेगरेको उनले बताए।
प्रशासनले भदौ १३ गतेदेखि पोखरामा सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने बताएको छ। पोखरामा जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चलाउन पाईन्छ। तर व्यवहारमा भने योपनि लागु भएको छैन। पोखरामा शनिबार र आइतबार दुबै दिन जोर तथा बिजोर दुबै सवारी साधन गुडेको पाइएका छन्। नागरिक समाज पोखराका अध्यक्ष अधिकारी भने कुन दिन आफ्नो सवारी साधन चलाउन पाउने भन्ने जानकारी नहुँदापनि यस्तो समस्या आएको बताउँछन्। प्रशासन वा महानगरले यसबारे सूसुचित गर्नुपर्ने उनको भनाई छ।
सवारी साधनमा जोर बिजोर लागु गर्ने भनिएपनि यो लागु गर्न प्रशासनले कुनै ठोस प्रयास गरेको छैन। नत प्रशासनले जोरबिजोर लागु गर्न ट्राफिक नै खटाएको छ, नत चेकिङ नै राखेको छ। तर कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोष रोका भने चेकिङ नियमित भइरहेको दाबी गर्छन्। प्रहरी विट भएका ठाउँहरुमा नियमित चेकिङ जारी छ,उनले भने,।।।पोखराको मुख्य बजार क्षेत्र तथा चोकहरुमा राखेर चेकिङ गर्दा झन् भीडभाड हुने भएकाले हामीले चेकिङ नगरेका हौं।’ उनले पोखरा भित्रिने नाकाहरुमा विशेष रुपमा कडाईका साथ चेकिङ भइरहेको बताए।
चेकिङका क्रममा नियम उलंघन गरेको पाइए सम्झाएर छाडिने गरेको ट्राफिक प्रमुख रोकाले बताए। पहिलेजस्तो ठाउँको ठाउँ कार्वाही त हामीले गरेका छैनौं,उनले भने,।।।जोर गते बिजोर वा बिजोर गते जोर नम्बरका सवारी साधन चलाउनेलाई हामीले रोकेर सम्झाउने र घर फर्काउने गरेका छौं।’
उसो त पोखरामा होटल तथा रेष्टुरेण्टलाई टेक–अवे सुविधा मात्र दिन भनिएको छ। तर बजार क्षेत्रबाहिरका अधिकांश रेष्टुरेण्ट तथा होटलहरुले तत्स्थानमै सेवा दिइरहेका छन्। यसरी होटल तथा रेष्टुरेण्टहरुले तत्स्थानमै सेवा दिदा कोरोनाको जोखिम झनै बढेको भन्दै पोखरेलीले चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: १४ भाद्र २०७७ १०:०६ आइतबार





