७ वैशाख २०८१ शुक्रबार
समाज

सरुवाले फैलायो संक्रमण

महामारीका बेला प्रहरीको सरुवा गर्दा कोरोना फैलिने डर देखिएको छ। प्रहरी प्रधान कार्यालयले करिब एक महिनाअघि ४९ जना एसपीको सरुवा गरेको थियो। सरुवा गर्दा वा बिदामा बसेर ओहोरदोहोर गर्दा प्रहरी कार्यालयमा कोरोना फैलिने गरेको छ। यसबारे प्रहरी कार्यालयहरूमा पुग्दा सावधानी अपनाइएको देखिँदैन। चालक र सवारीसाधनमा ओहोरदोहोर गर्दा संयम नअपनाउँदा कोरोना बढेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले भने बिदामा बसेर आउनेलाई क्वारेन्टिनमा राख्ने, पिसिआर गर्नैगर्ने र सामूहिक मेसलाई अलग गर्ने गरेको छ। तर, सबै कार्यालयमा यो सावधानी अपनाइएको छैन। प्रहरी प्रधान कार्यालयले सावधानीका लागि आवश्यक पहल नगर्दा उपत्यकाबाहिरका प्रहरी कार्यालयहरू कोरोना संक्रमण बढेको छ। शनिबार कोटेश्वर ट्राफिक प्रहरी कार्यालयका १९ प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ। योसँगै उपत्यकामा कार्यरत संक्रमित हुने ट्राफिक प्रहरीको संख्या १ सय १० पुगेको छ। यसबाहेक नेपाल प्रहरीका ६ सयभन्दा बढी कर्मचारी संक्रमित भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी कार्यालयहरूमा कोरोना फैलँदै जाँदा प्रहरी प्रधान कार्यालयले उच्च सावधानी अपनाउन निर्देशन दिएको छ।

प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायतले सबै कार्यालयमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको बताए। उनले भने, ‘अहिले सबैजसो प्रहरी कार्यालयमा होसियारी अपनाइएको छ, कुनै कार्यालयमा संक्रमित देखिएपछि त्यसको कन्ट्याक्ट ट्रेसिङमा बढी ध्यान दिएका छौं।’

प्रदेश १ को पहाडमा फैलियो

प्रदेश १ का पहाडी जिल्ला पाँचथर, धनकुटा, भोजपुर, संखुवासभा र खोटाङ सरुवा भएर पुगेका प्रहरीमा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरीको प्रदेश १ कार्यालयले कोरोना कहरबीच विभिन्न जिल्लामा प्रहरीको सरुवा गरेको थियो।पाँचथरमा विदेशबाट आएर क्वारेन्टिनमा बसेका तथा एकजना बाहिरी जिल्लाबाट आएका कामदारलाई मात्र कोरोना संक्रमण देखिएको थियो। यहीबेला सरुवा भएर आएका प्रहरीमा कोरोना देखियो। यसरी सरुवा आउनेहरूमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयका अन्य प्रहरीमा पनि परीक्षण बढाएको छ।

प्रहरीलाई कोरोना देखिएपछि जिल्ला त्रास बढ्यो। पाँचथरका आठ संक्रमितमध्ये चार नेपाल प्रहरी, एक सशस्त्र प्रहरी, दुईजना विदेशबाट आएर र एकजना काम गर्न आएका मजदुर हुन्। चार प्रहरीमा कोरोना भएसँगै फिदिम नगरपालिकाले एक साताका लागि नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ। सदरमुकाम फिदिममा बजार बन्द गर्न तथा हिँडडुल नगर्न आह्वान गरिएको छ। यस्तै कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रले सोही अवधिमा जिल्लामा अत्यावश्यकबाहेक सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यहीबेला प्रहरीलाई सरुवा गरी जिल्ला पठाइएको भन्दै जनस्तरमा असन्तुष्टि छाएको देखिन्छ।

यस्तै धनकुटामा सरुवा भएर आएका १३ जनामा कोराना पोजेटिभ देखिएको छ। भोजपुरमा सरुवा आएका १४ जनामध्ये ३ जना, खोटाङमा ६ जना, संखुवासभामा बिदा गएर फर्किएका चारजनामा कोरोना संक्रमण भएको छ। यस्तो बेला किन सरुवा गरियो भन्ने प्रश्न उठ्न थालेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमनकुमार तिम्सिनाले भने सरुवा कारण संक्रमित भएको भन्ने विषय आधारहीन भएको बताए।

‘लामो समयदेखि सरुवा भए पनि दरबन्दीमा नगएका प्रहरी कर्मचारी र ती प्रहरी कर्मचारीको अभाव पहाडी जिल्लामा खड्किएको थियो। तराई मात्र बस्ने खोज्ने गरिन्थ्यो। त्यो दरबन्दी कार्यान्वयन भएको हो,’ उनले भने, ‘संक्रमित यही कारणले, यहीबाट भयो भन्ने देखिँदैन। प्रहरीको सरुवा जानेआउने भन्ने प्रक्रिया नै हो।’ उनले थपे, ‘फ्रन्ट लाइनमा काम गर्ने क्रममा कोभिड देखिएको छ। तर लक्षणसहितको भने देखिएको छैन।’ प्रदेश १ मा २ सय ७१ जना प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। तीमध्ये ६२ जना कोरोनामुक्त भएका छन्।

शिवहरी घिमिरे/गिरिराज बाँस्कोटा/मालाती मोक्तान

प्रकाशित: १४ भाद्र २०७७ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App